काठमाडौं। जब पेट्रोलियम पदार्थको मूल्य घट्छ, त्यसको केही दिनपछि अधिकांश पेट्रोल पम्प बन्द हुने गरेका छन्। यसको ठिक विपरीत पेट्रोलियम मूल्य बढ्दा पेट्रोल पम्प बन्द हुने दृष्य कहिले देखिँदैन।
नेपाल आयल निगमले भारतबाट पाएको नयाँ मूल्यसूचीअनुसार १५/१५ दिनमा नेपालमा पेट्रोलियम मूल्य सार्वजनिक गर्छ। उसले स्वचालित प्रणालीअनुसार मूल्य घटेर आए घटाउने वा बढेर आए बढाउने गर्छ। कतिपय अवस्थामा बजारको अवस्था हेरेर मूल्य घटबढ हुने गरेको छ। सोहीअनुसार पम्पले पनि बिक्री वितरण गर्छन्।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष एवं उपभोक्ता संरक्षण परिषद्का सदस्य माधव तिमल्सिनाले निगमले व्यापारीहरुलाई सूचना चुहाउने गरेकाले उपभोक्ताहरु समस्यामा पर्दै आएको बताए।
‘मूल्य बढ्दा धेरै मात्रामा इन्धन उठाउने र घट्ने सूचना पाएपछि कम मात्रामा उठाउने व्यवसायीको प्रवृत्तिमा निगमले साथ दिइरहेको छ,’ अध्यक्ष तिमल्सिनाले भने, ‘निगम सञ्चालक समितिले निर्णय गर्दा कुनै समय सीमा तोकेर यो समस्या समधान गरिदिनुपर्छ।’
इन्धनको मूल्य घटेको अवस्थामा अधिकांश पम्पहरुले विभिन्न बाहनामा पम्प बन्द गरिदिन्छन्। जसका कारण मूल्य घटेर लाभ लिन खोज्ने उपभोक्ताहरु मारमा परिरहेका हुन्छन्।
व्यापारीहरु मुनाफामा केन्द्रित भएकाले मूल्य बढ्ने स्थिति देखे धेरै उठाउने गर्दै आएका छन्। जब घट्ने संकेत अन्तर्राष्ट्रिय बजारको ट्रेड हेरेर थाहा पाउँछन्, त्यस अवस्थामा कम उठाउने गरेकाले पनि समस्या भइरहेको जनाएको छ।
निगमका प्रवक्ता मनोज ठाकुरले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यको अवस्था व्यापारीले हेर्ने भएकाले सूचना अगाडि थाहा पाउने गरेको बताए। ‘निगमले पम्पले मागेको डिमाण्डअनुसार तेल दिइरहेका छौँ,’ उनले भने, ‘एभरेजमा नियमितजस्तै तेल गएको छ, बिदाको कारण केही समस्या हुन सक्छ।’
पम्पलाई निगमले अनिवार्य रुपमा तेल लैजान भन्नलाई नमिल्ने बताउँदै उपभोक्तालाई मारमा पर्ने काम गर्न नहुने उनको भनाइ छ।
घटेको आभास गर्नै पाउँदैनन् उपभोक्ता
पेट्रोलियम पदार्थको मूल्य घटेको आभास पूर्ण रुपमा उपभोक्ताहरुले गर्न पाउँदैनन्। बुधबार निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल÷मट्टितेलमा १ रुपैयाँ घटाएको थियो। मूल्य घटेसँगै उत्साहित धेरै उपभोक्ताले तेल हाल्न नपाइ फर्किएका छन्।
‘तेलको मूल्य घटेको बेला पम्पहरु बन्द हुन्छ’, काठमाडौंको ज्ञानेश्वरमा रहेको भ्याली फ्युल सेन्टरमा भेटिएका ग्राहक रमेश श्रेष्ठले भने, ‘बढेको भए बिहानै खुलेको हुन्थ्यो, घटेर बन्द गरिएको छ, यो उपभोक्तामाथिको ठूलो शोषण हो।’ श्रेष्ठजस्तै धेरै उपभोक्ता घटेको मूल्यमा तेल होल्न पुगे पनि रित्तै फर्किनुपरेका छन्।