काठमाडौं। नेपालको विभिन्न क्षेत्रमा काम गर्ने कर्मचारी र श्रमिक तलब तथा ज्याला वार्षिक झण्डै ३ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको पुस मसान्तमा कायम तलब तथा ज्याला सूचांक चालु वर्षको सोही अवधिमा औसत २.८५ प्रतिशतले वृद्धि भएको हो।
नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक ‘तलब तथा ज्याला सूचांक’अनुसार गत वर्षको पुस मसान्तमा श्रमिक र कर्मचारीको ज्याला तथा तलब सूचांक औसत ९९.९५ थियो। चालु वर्षको सोही अवधिमा यस्तो सूचांक १ सय २.७९ पुगेको छ।
दैनिक ज्यालादारीमा काम गर्ने र मासिक रुपमा तलब तोकिएर काम गर्ने कर्मचारीहरूको तलब तथा ज्यालाको सूचांकको तथ्यांक राष्ट्र बैंकले प्रकाशित गरेको हो। राष्ट्र बैंकले तलब तथा ज्यालाको औसत विवरण आर्थिक र श्रम सर्वेक्षणको आधारमा सर्वेक्षण गरी औसत सूचांक तयार गरी हरेक त्रैमासमा सार्वजनिक गर्छ।
यस्तो सूचांकको आधार वर्ष अघिल्लो वर्ष मात्रै राष्ट्र बैंकले परिवर्तन गरेको हो। यसअघिसम्म आधार वर्ष २०६१/६२ रहेकोमा परिवर्तन गरी २०८०/८१ कायम गरिएको छ।
समीक्षा अवधिमा सबैभन्दा बढी तलब तथा ज्याला कृषि, वन तथा मत्स्यपालन क्षेत्रको ४.८१ प्रतिशतले वृद्धि हुँदा सबैभन्दा कम निर्माण उद्योग क्षेत्रको तलब ज्याला १.८३ प्रतिशतले मात्रै वृद्धि भएको छ। एक वर्षको अवधिमा सार्वजनिक प्रशासन तथा रक्षाका क्षेत्रको तलब ज्याला भने बढ्न सकेको छैन।
राष्ट्र बैंकले राष्ट्रिय तथ्यांक कार्यालयबाट सम्पन्न नेपाल श्रमशक्ति सर्वेक्षण, २०१७/१८ मा उपलब्ध नेपाल स्तरीय औद्योगिक वर्गीकरण (नेपाल स्ट्यान्डर्ड इन्डस्ट्रियल क्लासिफिकेसन, एनएसआईसी) तथा नेपाल स्तरीय पेसागत वर्गीकरण (नेपाल स्ट्यान्डर्ड क्लासिफिकेसन अफ अकुपाइजेसन, एनसिआईसी) अनुसार नतिजा आधारमा भारांक अद्यावधिक गर्ने गरेको छ।
म्याचड स्याम्पल मेथोड (मिलाइएको नमुना विधि)को सिद्धान्त बमोजिम राष्ट्र बैंकले आधार वर्षमा छनोट गरेर नमुना तलब तथा ज्याला त्रैमासिक रूपमा संकलन गरी हरेक पेसागत कामको तल्लो तहको सूचांक निर्माण गर्छ।
सूचांकको आधार वर्ष २०८०/८१ लाई १०० मानी तुलना गर्दा उत्तम आवको पुस मसान्तमा कायम सूचांक र चालु वर्षको सोही अवधिमा कामय सूचांकलाई तुलना गरी वृद्धिदर मूल्यांकन गरिएको हो।
उक्त सूचांक गणना गर्दा सबै प्रदेशका ३० वटा जिल्लास्थित बजार क्षेत्रमा रहेका सबै औद्योगिक क्षेत्र तथा पेसा समावेश हुने गरी एक हजार २५ वटा संस्थाबाट ५, हजार २९६ प्रकारका पदसँग सम्बन्धित तथ्यांक संकलन गरी सूचांक राष्ट्र बैंकले निर्माण गरेको छ।
सूचांकको आधार वर्ष २०८०/८१ लाई १०० मानी तुलना गर्दा उत्तम आवको पुस मसान्तमा कायम सूचांक र चालु वर्षको सोही अवधिमा कामय सूचांकलाई तुलना गरी वृद्धिदर मूल्यांकन गरिएको हो।
चालु वर्षको पुस मसान्तमा तलब तथा ज्याला सूचांक २.८५ प्रतिशतले वृद्धि भएर १०२.७९ कामय हुनु कामदारहरूको औसत पारिश्रमिकमा सकारात्मक वृद्धि भएको देखिन्छ।
उक्त अवधिमा कृषि, वन र मत्स्यपालनको ४.८१ प्रतिशतले वृद्धि हुँदा निर्माण उद्योग क्षेत्रको १.८३ प्रतिशत, निर्माण कार्यको २.४९ प्रतिशत, थोक तथा खुद्रा व्यापार, सवारी साधान र मोटरसाइकल मर्मत १.९७ प्रतिशत, यातायात र भण्डारणको २.९७ प्रतिशत, आवास तथा खाद्य सेवाको २.३३ प्रतिशत, सूचना र सञ्चारको ४.४८ प्रतिशत, बैंक वित्तीय तथा बिमा क्षेत्रको २.२२ प्रतिशत, सार्वजनिक प्रसाशन र रक्षाको शुन्य प्रतिशत, शिक्षा क्षेत्रको ३.२३ प्रतिशत र मानव स्वास्थ्य तथा सामाजिक सेवा क्षेत्रको तलब ज्याला ४.५३ प्रतिशतले वृद्धि भएको हो।
विशेष गरी कृषि, सामान्य श्रमिक र कार्यालय सहयोगी क्षेत्रमा यो वृद्धि उल्लेखनीय छ।
यस्तै, उक्त अवधिमा प्रबन्धकको २.०५ प्रतिशत, पेशागतको ३.३८ प्रतिशत, प्राविधिक तथा सहायकको २.९८ प्रतिशत, कार्यालय सहयोगी कामदारको ३.५८ प्रतिशत, सेवा तथा बिक्री क्षेत्रका कामदारको १.८६ प्रतिशत, दक्ष कृषक, वन तथा मत्स्यपालन श्रमिकको ५.२८ प्रतिशत, हस्तकला तथा सम्बन्धित पेशामा सम्लग्न कामदारको १.९१ प्रतिशत, मेसिन तथा संयन्त्र सञ्चालन गर्ने तथा जोड्ने कामदारहरुको २.०९ प्रतिशत र आधारभूत श्रम पेशाको ३.५६ प्रतिशतले तलब तथा ज्याला वृद्धि भएको हो।
समीक्षा अवधिमा समग्र पारिश्रमिक वृद्धिदर सकारात्मक देखिएको छ। विशेष गरी कृषि, सामान्य श्रमिक र कार्यालय सहयोगी क्षेत्रमा यो वृद्धि उल्लेखनीय छ। यसले कोभिड महामारीपछिको श्रम बजारमा आएको सुधार र महँगीसँग सन्तुलन राख्न सक्ने गरी श्रमिक तथा कर्मचारहिरुको तलब तथा ज्याला वृद्धि भइरहेको देखिन्छ।