काठमाडौं। वीरगञ्ज उद्योग वाणिज्य संघले नेपाल विद्युत् प्राधिकरणले वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरमा अवस्थित उद्योग प्रतिष्ठानमा गरिरहेको अघोषित लोडसेडिङ र बिनासूचना विद्युत् कटौती हुँदा उद्योग पूर्ण क्षमतामा चल्न नसकेको बताएको छ।
अघोषित लोडसेडिङका कारण उद्योग प्रतिष्ठानको अक्सिजनकै रुपमा रहेको विद्युत् नियमित आपूर्ति हुन नसक्दा करिडोरका उद्योगले क्षमताभन्दा कम उत्पादन गरिरहेको संघले बताएको हो।
प्राधिकरणले घोषणा गरेको लोडसेडिङमुक्त औद्योगिक क्षेत्र तथा उज्यालो नेपालको नाराबाट उत्साहित उद्योगी, व्यवसायी हालैका दिनमा अघोषित रुपमा भइरहेको विद्युत् कटौती, गुणस्तरीय विद्युत् आपूर्ति अभाव कारण उद्योगका उपकरण र कच्चा पदार्थ बिग्रिनुका साथै उत्पादन प्रक्रियामा समेत नकारात्मक असर परिरहेको संघको ठहर छ।
पर्सा–बारा औद्योगिक करिडोरका उद्योगले विभिन्न समस्या खेपिरहेकै बखत विद्युत् कटौती समस्या झेल्नुपर्दा उद्योगी मर्कामा परेको र विद्युत् कटौतीका बेला डिजी सेटबाट उद्योग सञ्चालन गर्नुपर्दा उत्पादन लागत बढ्न गई उद्योगले आफ्नो प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै गइरहेको संघले जनाएको छ।
त्यस्तै साना उद्योगले विद्युत् कटौतीको बेला डिजी सञ्चालन गर्न सक्ने अवस्था नभएकाले उद्योग नै बन्द राख्नुपर्ने अवस्था रहेको संघको भनाइ छ।
वीरगञ्ज पथलैया औद्योगिक करिडोरमा अवस्थित औद्योगिक फिडरमा २४ घन्टामा १४÷१५ पटकसम्म ट्रिपिङ हुँदा औद्योगिक उपकरण बिग्रिनुका साथै कच्चा पदार्थ नोक्सान भइरहेको संघले बताएको छ। समस्याका समाधानका लागि लोडसेडिङको निश्चित समयावधि नै तोकी बाँकी समयमा गुणस्तरीय विद्युत आपूर्ति गर्न संघको माग छ।
संघले हिउँद मौसममा प्रत्येक वर्ष विद्युत् आपूर्तिमा समस्या आइरहेकोले दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
उद्योगबाट खपत भएको विद्युत् महसुल रकम जुन किसिमले प्राधिकरणले असुल गर्दछ, सोहीअनुरुप गुणस्तरीय विद्युत आपूर्ति गर्नुपर्ने माग संघले गरेको छ। संघले औद्योगिक करिडरमा अघोषित लोडसेडिङको वैकल्पिक व्यवस्था गर्न प्राधिकरणसँग आग्रह गरेको छ।
