काठमाडौं। उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रचारबाजी मात्र नभई जनताले महसुस गर्ने गरी विकासका काममा ध्यान दिनैपर्ने बेला भएको बताएका छन्।
आज अधिकारसम्पन्न बागमती एकीकृत सभ्यताको ३१औं वार्षिकोत्सव कार्यक्रममा सहरी विकासमन्त्रीसमेत रहेका सिंहले प्रचारबाजीका लागि मात्र नभएर जनताले महसुस गर्ने गरी काम गरेर देखाउने समय आइसकेको बताएका हुन्।
‘अब हामीले खाली प्रचारबाजीका लागि यो गर्र्यौं ,त्यो गर्र्यौं भन्ने होइन कि जनताले महसुस गर्ने गरी काम गरेर देखाउने समय आइसकेको छ। त्यसअनुसार हामीले काम अगाडि बढाउनुपर्छ। जे जति योजना अहिले सम्पन्न गरेका छौं, त्यसको जनतालाई जानकारी गराउने र बाँकी कामलाई अगाडि बढाउँदा पनि सुसूचित गराउनुपर्छ’, उनले भने।
उपप्रधानमन्त्री सिंहले बाग्मती नदी किनारमा रहेका मन्दिर पुनर्निर्माण र जीर्णाेद्धार गरिएको पनि बताए। धेरै सम्पदा रहेको बाग्मती नदी किनारमा हेरिटेज वाकको चर्चा भए पनि काम प्रभावकारी हुन नसकेकोप्रति उपप्रधानमन्त्री सिंहले असन्तुष्टि व्यक्त गरे।
‘हेरिटेज वाकलाई कार्यान्वयन गर्न कहाँ–कहाँ कमजोरी भएका छन्, काम भइरहेको तर सदुपयोग हुन सकेको छैन। हेरिटेज वाक शीर्षकमा पढ्छौं तर जनतालाई अत्तोपत्तो छैन। कुनै पनि काम गर्दा स्थानीय, पालिका, वडालाई पनि साथैमा लिएर, चित्त बुझाएर काम गर्दा राम्रो हुन्छ भन्ने पाठ सिक्नुपर्छ,’ उनले भने।
हेरिटेज वाकदेखि करिडोरलाई व्यवस्थित गर्ने र वर्षाको समय देखिएको बाढीको नियन्त्रण, नदी सफालगायतका काम तत्काल गर्नुपर्नेमा पनि सिंहले जोड दिए।
त्यस्तै उहाँले नदीहरुको करिडोर बनाउने काम प्रभावकारी रुपमा अगाडि बढाउने पनि बताए। काठमाडौं उपत्यकाका नदी फोहोर हुँदा दुर्गन्ध फैलिएकाले आउने बजेटमा बागमती, विष्णुमतीलगायतका सबै नदीमा दुर्गन्ध हटाउन र स्वच्छ बनाउन आवश्यक योजना बनाएर अघि बढ्ने योजना रहेको उनको भनाइ छ।
उनले भने, ‘हामीले नदीलाई स्वच्छ बनाउन, दुर्गन्ध हटाउन हामीले गर्नुपर्ने के हो, त्यसमा योजना बनाएर अगाडि बढ्नेबाहेक अरु उपाय छैन्। नदी करिडोर बनाउने कामलाई पनि प्रभावकारी रुपमा अगाडि बढाउन सबैसँग समन्वय गरेर व्यवस्थित रुपमा सुरु गर्न लाग्नुपर्छ।’