काठमााडौं। व्यापार युद्ध निम्ताइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको दोस्रो अर्थतन्त्र एसियाली मुलुक चीनमाथि थप कर लगाएको घोषणा गरेका छन्।
ट्रम्पले सबैका लागि पारस्परिक ट्यारिफमा ९० दिनको स्थगत घोषणा गर्दै चीनमाथि लगाएको १०४ प्रतिशत आयात कर बढाएर १२५ प्रतिशत पुर्याएको घोषणा गरेका हुन्।
‘चीनले विश्वबजारप्रति देखाएको सम्मानको कमीका आधारमा राज्य अमेरिकाले चीनलाई लिने करलाई तत्काल लागू हुने गरी १२५ प्रतिशत पुर्याउँदै छु। आशा छ, निकट भविष्यमा चीनले महसुस गर्नेछ कि अमेरिका र अन्य देशहरूलाई चिराचिरा पार्ने दिन अब दिगो वा स्वीकार्य छैनन्’, ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।
राष्ट्रपति ट्रम्पले ७५ भन्दा बढी देशका वाणिज्य, ट्रेजरी र यूएसटीआर विभागसहित अमेरिकी प्रतिनिधिलाई व्यापार, व्यापार अवरोध, ट्यारिफ, मुद्रा हेरफेर, र गैरमौद्रिक ट्यारिफको सापेक्षमा छलफल गरिएका विषय समाधानका लागि वार्ता गर्न बोलाएका छन्। वार्तामा बोलाइएका देशले अमेरिकाविरुद्ध कुनै पनि तरिका, आकार वा फारममा प्रतिशोध नलिने विश्वासका साथ ९० दिनका लागि यसअघि लगाइएको आयात कर स्थगन गरिएको बताए।
ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले चीन तथा अन्य कुनै दोस्रो मुलुकसँग ‘निष्पक्ष सम्झौता’ गरिने जनाए। ट्रम्पले उच्च भन्सार दरको कार्यान्वयनमाथि ९० दिनको रोक लगाउने घोषणा गरेका छन्। यसको अर्थ अधिकांश मुलुकलाई ‘सार्वभौमिक १० प्रतिशत’ शुल्क लागू हुनेछ।
ट्यारिफमा छुटको खबरपछि उथलपुथल सामना गरेको वित्तीय बजारमा उँभाे लाग्न थालेकाे छ। विश्लेषकले अमेरिका अधिकांश देशसँग राम्रो व्यवहार गर्न थाले पनि चीनसँग व्यापार युद्ध थप बढ्ने खतरा रहेको प्रतिक्रिया दिएका छन्।
अमेरिकाको छिमेकी क्यानाडा र मेक्सिकोले अझै पनि ट्यारिफको सामना गर्नुपर्ने छ, जुन अमेरिकाले अघिल्लो महिना लागू गरेको थियो।
अमेरिकाले लगाएको १०४ प्रतिशत करको बदलामा चीनले अमेरिकामाथि थप ५० प्रतिशत कर लगाएको छ। यसको अर्थ पहिलेको ३४ प्रतिशतको सट्टा अब अमेरिकामा कुल ८४ प्रतिशत भन्सार लाग्नेछ।
चीनको अर्थ मन्त्रालयले अमेरिकाबाट आउने सबै सामानमा यो अतिरिक्त कर लगाउने घोषणा गरेको छ। मन्त्रालयले भनेको छ–नयाँ शुल्क चीनको स्थानीय समयअनुसार अप्रिल १० मा बिहान १२.०१ बजेदेखि लागू हुनेछन्।
यसैबीच युरोपेली आयोगले पनि युरोपेली संघका सदस्यले केही अमेरिकी सामानमा प्रतिशोधात्मक कर लगाउन सहमत भएको पुष्टि गरेको छ । यी शुल्क अप्रिल १५ देखि लागू हुनेछन्।
चीनको प्रतिशोधात्मक कर लगाएको केही समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका थिए, ‘यो आफ्ना कम्पनीलाई संयुक्त राज्य अमेरिका ल्याउने राम्रो समय हो, जस्तै एप्पल र अन्य कम्पनीले गरिरहेका छन्। यदि तपाईंले यसो गर्नुभयो भने तपाईंलाई शून्य शुल्क लाग्नेछ र तुरुन्तै सबै प्रकारका स्वीकृति प्राप्त गर्नुहुनेछ। पर्खनु पर्दैन, तुरुन्तै कारबाही गर्नुहोस्।’-एजेन्सी