बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)लाई क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनाका साथ अघि बढाइनुपर्छ। बिमस्टेकले बंगालको खाडी क्षेत्रका नागरिकको साझा आकांक्षाको प्रतिनिधित्व गर्ने भएकाले एकता र सामूहिक सहकार्य आवश्यक छ। बिमस्टेक दक्षिण एसिया र दक्षिणपूर्व एसियाली गतिशील क्षेत्रको प्रतिनिधित्व गर्ने चम्किलो इन्द्रेणी हो। यसका रङले यस क्षेत्रको समृद्ध सभ्यता, संस्कृति, इतिहास, पारिस्थितिक विविधता बोकेको छ। यस क्षेत्रका नागरिकको आर्थिक समृद्धिको सम्भावनालाई थप उजागर गर्ने प्रयत्न बिमस्टेकले गर्नुपर्दछ।
अन्तर्राष्ट्रिय समुदायको जिम्मेवार सदस्यका हैसियतले नेपालले संयुक्त राष्ट्रसंघको नेतृत्वमा शान्तिपूर्ण, समतामूलक र समावेशी रुपमा क्षेत्रीयता र बहुपक्षीयतालाई महत्त्व दिँदै आएको छ। हामी शान्ति, सुरक्षा र दिगो विकासलाई सुदृढ पार्न क्षेत्रीय र विश्वव्यापी मञ्चमा सक्रिय रूपमा संलग्न छौं। संयुक्त राष्ट्रसंघमा सबैभन्दा धेरै शान्ति सेना पठाउने देशका रुपमा पनि हामी गर्व गर्दछौं।
सन् २००४ मा सदस्य भएदेखि नै नेपाल बिमस्टेकको बडापत्र, सिद्धान्त र उद्देश्यप्रति प्रतिबद्ध रहेको छ। क्षेत्रीय समृद्धि, शान्ति र एकताको भूमिकालाई नेपालले आत्मसात् गरेको छ। जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, वातावरणीय विनाश र प्रदूषणको विनासकारी प्रभावजस्ता कारणले बंगालको खाडी क्षेत्र जोखिममा रहेको सन्दर्भमा पूर्वाधार निर्माण, पूर्वचेतावनी प्रणालीमार्फत विपद् रोकथाम तथा स्थानीय समुदायलाई वातावरण संरक्षणमा संलग्न गराउन आवश्यक छ।
प्राकृतिक प्रकोप नियन्त्रण तथा प्रतिरोधमा क्षेत्रीय प्रयासलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापनसम्बन्धी बिमस्टेक केन्द्र स्थापना गर्ने भारतको प्रस्तावको स्वागतयोग्य छ। केन्द्रले यी सबै चुनौतीको सामना गर्न ‘एआई’को प्रयोगलाई प्राथमिकता दिने विश्वास छ।
बंगालको खाडी क्षेत्र र त्यसभन्दा बाहिरसमेतको क्षेत्रीय शान्ति, एकता र वातावरणीय दिगोपनको प्रवर्द्धनमा बिमस्टेकको भूमिका सदैव अग्रणी रहने विश्वास नेपालको छ। बिमस्टेकलाई बलियो साझेदारी मञ्चका रुपमा रुपान्तरण गरी समयानुकूल सशक्त क्षेत्रीय संगठन बनाउन नेपालले पेस गरेका सबै सुझाव महत्त्वपूर्ण छन्। यसका लगि सबैभन्दा पहिला क्षेत्रीय एकतासहितको सहकार्यको भावना र राजनीतिक इच्छाशक्ति आवश्यक छ।
‘बिमस्टेक फ्री ट्रेड एरिया’को सञ्चालन, ‘इपिजी रिपोर्ट’को कार्यान्वयन, ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’का लागि ‘मास्टर प्लान’ र आयोजनाको पहिचान तथा क्षेत्रीय केन्द्रको पूर्ण परिचालन गर्न बिमस्टेक आवश्यक छ। उपलब्ध स्रोतको उपयोग, व्यापार तथा पारवहनमा सहजीकरण, ऊर्जा सहयोग तथा व्यापार, पर्यटनको विकास, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, एकीकृत डिजिटल सार्वजनिक पूर्वाधार निर्माणलगायतका क्षेत्रमा सदस्य राष्ट्रबीच सहकार्य र समन्वय हुन आवश्यक छ।
यस क्षेत्रका शैक्षिक संस्थाबीच सहकार्य गर्न सकिए सदस्य राष्ट्रमा रहेका मातृ–शिशु, मानसिक स्वास्थ्य, सरुवा र नसर्ने प्रकृतिका रोगविरुद्ध जनचेतना जगाउन तथा सर्वसुलभ एवं गुणस्तरीय उपचारको व्यवस्थासहित जलवायुजन्य जटिलताबाट हुने रोगसँग लड्न सक्ने क्षमताको विकास सामूहिक रुपमा गर्न सकिनेछ। यसले समस्या समाधानका लागि सामूहिक प्रयत्नमा सदस्य राष्ट्र एकै ठाउँ छन् भन्ने सन्देश विश्व समुदायसमक्ष पुर्याउन थप सहज हुने विश्वासमा नेपाल छ।
यस क्षेत्रमा समृद्ध भविष्य निर्माण गर्न महिला सशक्तीकरणका साथै शासन व्यवस्था, विकास र द्वन्द्व व्यवस्थापनमा महिलाको पूर्ण सहभागिताको सुनिश्चितता हुनुपर्छ। सदस्य राष्ट्रहरुबीचको सहकार्य र जनता–जनताबीचको सम्पर्कका माध्यमबाट संस्कृति र पर्यटन प्रवर्द्धन, गरिबी निवारण, जलवायुजन्य समस्या समाधानका लागि विकास साझेदार अनि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्य भए पनि संगठन स्थापनाको लक्ष्य सफल हुने निश्चित छ।
(मन्त्री राणाद्वारा थाइल्यान्डको बैंककमा आयोजित छैटौं बिमस्टेक समिटअन्तर्गत २०औं मन्त्रीस्तरीय बैठकमा व्यक्त विचार)