काठमाडौं। सरकारले सुपारी, केराउ र मरीच आयात खुलाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी आयात अनुमति दिएको हो।
मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र सेतो तथा कालो मरीच आयातमा लगाइएको प्रतिबन्ध हटाइएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ।
सरकारले २०७६ चैत २४ मा सुपारी, केराउ, मरीच र छोकडा तस्करी बढेपछि पैठारीमा बन्देज लगाएको थियो । व्यवसायीको मागका आधारमा आयातमा लगाइएको बन्देज हटाइएको मन्त्रालयले जानकारी दिएको छ।
कोभिड–१९ महामारी बढेका बेला विदेशी विनिमय सञ्चिति बढाउन तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आयातमा बन्देज लगाएका थिए। अर्थतन्त्र चलायमान हुन थालेसँगै २०७७ चैत ९ मा राजपत्रमा सूचना प्रकाशन गरेर पूर्ण बन्देज हटाएर परिमाणात्मक बन्देज लगाइएको थियो।
उद्योगका लागि आवश्यक कच्चा पदार्थको परिमाण यकिन गरी केराउ, सुपारी र मरीच आयातका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिफारिस गर्नुपर्ने व्यवस्था छ।
उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि मात्र कच्चा पदार्थका रूपमा केराउ, सुपारी र मरीच आयातका लागि अनुमति दिइएको हो।