काठमाडाैं। सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘स्पार्क कार’को आयोजनामा आजदेखि ‘तेस्रो स्पार्क एड्भेञ्चर’ सुरु भएको छ। काठमाडौंबाट कलाकार, उद्यमी, समाजसेवीलगायत २०० जनाभन्दा बढी सहभागी टोली आज सोलुखुम्बुका लागि प्रस्थान गरेको हो।
आजदेखि यही वैशाख २८ गतेसम्म सोलुखुम्बुको पात्तले गौरीटाप र ओखलढुङ्गाको रुम्जाटारमा स्पार्क एडेभेञ्चरअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिने छन्।
‘गेट वे टु एभरेष्ट’ थिममा आयोजना गरिएको स्पार्क एड्भेञ्चरमा राजेश हमाल, क्याप्टेन विजय लामा, राजु लामा, आस्था राउत, सुनिता दुलाललगायतका कलाकार सहभागी छन्।
“दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवद्र्धन गर्दै ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेञ्चर आयोजना गरिएको हो”, स्पार्क कारका निर्देशक सीताराम घिमिरेले भने, “सहभागीहरुले विद्युतीय सवारीसाधनमा दुईतर्फी यात्रा गर्नुहुनेछ ।”
काठमाडौंबाट सडकमार्ग हुँदै एकैदिनमा पुग्न सकिने गौरीटाप सगरमाथालगायतका हिमाल अवलोकनका लागि उपयुक्त गन्तव्य हो। समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय दृष्टिले सम्भावना भएको गन्तव्य हो।
काठमाडौंबाट २३० किलोमिटरको दूरीमा रहेको गौरीटाप नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा पर्छ। सत्ययुगमा माता गौरीले तपस्या गरेको यो स्थान धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ।