काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएपछि अहिले खुमलटार स्थित आफ्नै निवासमा आराम गरिरहेका छन्।
प्रचण्डका स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले सामाजिक सञ्चालमा उल्लेख गरेअनुसार टाउकोमा सामान्य चोट लागेको र अहिले आराम गरिरहेका छन्। उनले शौचालयमा लडेको भनिए पनि घरको हो वा होटलको भनेर खुलाएकी छैनन्। तर, उनका प्रेस सल्हाकार गोविन्द आचार्यले घरकै शौचालयमा लडेको दाबी गरिरहेका छन्।
यता, प्रचण्ड ललितपुरमा रहेको लक्जरी रिसोर्ट टेरेसमा लडेको खुलेको छ। प्रचण्डको आफन्तलाई उदृत गर्दै अहिले उनी घरको नभई पाँचतारे स्तरको लक्जरी रिसोर्टको शौचालयमा लडेको र राति नै अस्पताल लगिएको जनाएको छ।
कस्तो छ त प्रचण्ड बसेका रिसोर्ट?
समुद्री सतहदेखि दुई हजार १० मिटर उचाईमा रहेको रिसोर्टका हरेक कोठा अगाडि खुला ठाउँ राखिएको छ। अर्थात, हरेक कोठा अगाडि बार्दली (टेरेस) राखिएको छ। शान्त र आनन्दले बस्न, रमाउन सकियोस् भन्ने उद्देश्यले सबै कोठाबाहिर बार्दली राखिएकाले यसलाई टेरेसेस रिसोर्ट नामाकरण गरिएको जनाएको छ।

त्यति मात्र नभई हरेक कोठाबाट काठमाडौं उपत्यका र हरियाली दृष्यावलोकन गर्न सकिन्छ। रिसोर्टमा १६ डिलक्स, दुई स्वीट र २८ स्ट्याण्डर्ड गरी ४६ कोठा छन्।
तीमध्ये नेपालीलाई अहिले प्याकेजका रूपमा स्ट्याण्डर्डमा एक जोडीका लागि प्रतिरात २५ हजार र स्वीटमा ५९ हजार रुपैयाँ शुल्क तोकिएको छ। यो शुल्क अवस्थाअनुसार घट्ने वा बढ्ने भइरहेका हुन्छन्। रिसोर्टमा रेस्टुरेण्ट, ब्यांक्वेट हल, स्पा, जिमका साथै स्विमिङ पुलको सुविधा छ। स्वीट रुममा भने ज्याकुजीको समेत सुविधा छ।

त्यहाँ विदेशीका लागि कोठा शुल्क न्यूनतम २८० अमेरिकी डलर निर्धारण गरिएको छ। २८ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलोमिटर र ठमेलबाट २३ किलोमिटर दुरीमा रहेको छ। जहाँबाट काठमाडौं उपत्यका नजिकबाट नियाल्न सकिन्छ। त्यतिमात्र होइन, त्यहाँबाट माछापुच्छ्रेसहित विभिन्न हिमाल देख्न सकिन्छ।
