काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धि यात्रामा सहभागी हुन सबैलाई आह्वान गरेका छन्। १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा 'श्रम संसार' पोर्टलको शुभारम्भ कार्यक्रममा सरकारले आगामी दशकलाई आन्तरिक समृद्धि प्रवर्द्धनको दशक बनाउने भएकाले सबैको सहयोग गर्नुपर्ने बताए।
सरकारले आगामी दशकलाई आन्तरिक समृद्धि प्रवर्द्धनको दशक बनाउन रणनैतिक कार्ययोजना निर्माण गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिको यात्रामा सहभागी हुन सबै निकाय, वर्ग, समुदाय र क्षेत्रलगायतलाई आह्वान गरे।
अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा श्रमको सम्मान गर्ने संस्कृति विकास गर्न र समाजवाद उन्मुख समृद्ध नेपालको संकल्पमा एकजुट हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दै उनले मुलुको समृद्धिको यात्रामा सबै सहभागी हुनुपर्नेमा जोड दिए।
'सरकारले श्रम बजार सूचना प्रणाली निर्माण गर्ने काम अघि बढाएको छ, अब सूचनामा आधारित नीति तथा कार्यक्रम तर्जुमा गर्नेगरी काम अघि बढिसकेको छ,' प्रधानमन्त्री ओलीले भने, 'सूचना प्रविधिको विकासका लागि केही चुनौतीहरू हाम्रा सामु देखा परेका छन्।'
‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएको बताउँदै उनले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्य प्राप्त गर्न, सबै नेपालीलाई सरल र सहज तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे।
उनले श्रम बजारको विकास गर्न तालिम, उद्यमशीलताको विकास गर्न सहुलियतपूर्ण कर्जा सरकारले उपलब्ध गराउने बताउँदै सबै श्रम तथा रोजगार सेवालाई जनताको घरदैलोमा पुर्याउन श्रम मन्त्रालयले सुरुआत गरेको ‘श्रम संसार’ पोर्टल उल्लेख्य कार्य भएको धारणा राखे। यसलाई निकट भविष्यमा नागरिक एपमा आवद्ध गरी सम्पूर्ण जनतासँगको पहुँच अभिवृद्धि गर्न निर्देशन गर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गरे।
उनले यसको प्रभावकारिताका लागि जनताको प्रतिवद्धताः श्रमिक, महिला र युवाको रोजगार सुरक्षामा जोड दिनु आवश्यकपर्ने स्पष्ट पारे। 'सीपमूलक तालिम संस्कृतिको विकास र विस्तारमार्फत दिगो रोजगारीको प्रवर्द्धन सम्भव हुनेछ,' उनले भने।
तीन तहका सरकार, नागरिक समाज, निजी क्षेत्र, गैरसरकारी क्षेत्रसँगको साझेदारी र सहकार्यका माध्यमले डिजिटल सरकारको प्रारुप तयार गरेको उनको भनाइ छ।