काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेको बताउँदै ढुक्क भई लगानी गर्न आग्रह गरेका छन्।
कोशी प्रदेश सरकारद्वारा आयोजित ‘कोशी लगानी सम्मेलन, २०८२’ को उद्घाटनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सांस्कृतिक, धार्मिक र पर्यटकीय हिसाबले नेपालमा लगानी गर्ने प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई आग्रह गरेका हुन्।
‘वर्तमान समयमा सडक, पुललगायत पूर्वाधार निर्माण भइसकेकाले सबै लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्नुहुन्छ। सरकारका तर्फबाट कुनै समस्या पर्न दिने छैनौँ। आवश्यक सहकार्य र समन्वय गर्न सरकार तयार छ,’ उनले भने।
कोशी प्रदेश पूर्वाधार विकासका साथै सडक सञ्जालसँग जोडिएको जनाउँदै प्रधानमन्त्री ओलीले लगानी गरेर उत्पादन बजारमा पुर्याउने समयसम्म एसियाली स्तरको छ लेनको पूर्व-पश्चिम राजमार्ग निर्माण भइसक्ने बताए।
‘हामी कच्चा पदार्थ पनि ल्याएर गुणस्तरीय वस्तु उत्पादनमा केन्द्रित हुनु जरुरी छ। त्यस कारण हरेक क्षेत्रमा नयाँ-नयाँ सम्भावनालाई हामीले पहिल्याउन सक्छौँ,’ उनले भने।
प्रधानमन्त्री ओलीले उत्पादित सामग्री कोशी प्रदेशका विभिन्न कोरिडोर र नाकामा लैजान सक्ने गरी सडक पूर्वाधार निर्माण भइसकेकाले बजारीकरण र ढुवानीमा कुने असहजता नहुने धारणा राखे।
प्रधानमन्त्री ओलीले भने, ‘म युवाहरूलाई भन्न चाहान्छु, रोजगारीको खोजीमा नभौँतारिनुस्, उद्यमशीलतामा लाग्नुस्। त्यसका लागि सोच, तालिम र सीप विकासमा सरकारले सहयोग गर्ने छ।’
विश्वको सर्वोच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट विश्वमा ‘ब्राण्डिङ’ गर्न आग्रह गर्दै उनले ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय श्रम संगठनको मान्यताअनुसार श्रमको सम्मान गर्न, रोजगारादाता र श्रमिकबीच संवादका साथै ट्रेड युनियन अधिकारको रक्षा गर्न सरकार सदैव तत्पर रहेको पनि लगानीकर्तालाई अवगत गराए।