काठमाडौं। बजारमा केही समयपछि एक हजार दरका नोट ‘सर्टेज’ हुने सम्भावना बढेको छ। नेपाल राष्ट्र बैंकले सात वर्षयता हजार दरका नोट छपाइ नगर्दा बजारमा सर्टेजसँगै नक्कली भित्रिने आशंका बढेको हो।
नेपालमा कानुनी रूपमा चलनचल्तीमा आउने नोट तथा सिक्का जारी गर्ने अधिकार राष्ट्र बैंकलाई मात्र छ। राष्ट्र बैंकले नोट छपाइको काम क्यालेन्डरै बनाएर गर्छ। हालसम्म नेपालमा १, २, ५, १०, २०, ५०, १००, ५०० र १००० रुपैयाँ दरमा नोट चलनचल्तीमा छन्।
यी नोटको औषत आयु एकदेखि पाँच वर्षसम्म हुन्छ। यद्यपि नोटको आयु नोट छपाइमा प्रयोग हुने कागजको गुणस्तर र प्रयोगकर्ताको व्यवहारमा निर्भर रहन्छ। राष्ट्र बैंकले हालसम्म छपाइ गरेको ठूला दरको औषत आयु तीनदेखि पाँच वर्ष हो।
राष्ट्र बैंकले हरेक दुई वर्षमा साढे तीन वर्षका लागि पुग्ने गरी सबै दरका नोट छाप्ने गरेको छ भने बजारमा मागअनुसार तोकिएको समयअघि वा पछि पनि छपाइ गर्छ।
सातवर्षे पुराना हजार दरका नोट सर्वसाधारणको हातमा
हालसम्म राष्ट्र बैंकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत कम्पनी छनोट गरी नोट छपाइको काम गरिहेको छ। राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले सामान्यतया एकपटक नोट छपाउँदा साढे तीन वर्षसम्म पुग्ने अनुमान गरेर छाप्छ। तर, विभागले २०७६ यता हजार दरका नोट छपाइ गर्न सकेको छैन।
राष्ट्र बैंकले पछिल्लो पटक छनोटमा परेको भारतीय नोट कम्पनीसँग सम्झौता रद्द गरी प्रकृया अघि बढाउन नसकेको हो। यसले बजारमा चाडपर्वको मुखैमा हजार दरका नोट ‘सर्टेज’ हुने देखिन्छ।
विभागले २०७६ असार १२ मा हजार दरका नोट छपाइका लागि बोलपत्र आह्वान गरी असोजमा चिनियाँ कम्पनीलाई जिम्मा दिएको थियो। विभागले हजार दरका ४० करोड थान नोट चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनसँग ९१ लाख ९० हजार अमेरिकी डलर उक्त समयको विदेशी मुद्रा सटही दरअनुसार नेपाली १ अर्ब ५ करोड रुपैयाँ खर्च गरेर छपाएको थियो।
राष्ट्र बैंकले ७ वर्षअघि नोट छपाइ गरेको ४ खर्ब १० अर्ब रुपैयाँ बराबरको ४० करोड थान हजार दरका नोट हालसम्म सर्वसाधारणका हातमा छन्। उक्त समय छपाइ गरिएका यी नोट राष्ट्र बैंकले यसबीचको चाडपर्वमा सर्वसाधारणलाई सटही गरेको थियो भने अहिले पनि बैंक काउन्टर र एटिएमबाट पाइने हजार दरका नोट यही समय छपाइ भएका हुन्।
राष्ट्र बैंकले नोट छपाइको जिम्मेवारी पूरा नगर्दा सर्वसाधारण सात वर्ष पुराना हजार दरका नोट बोकेर हिँड्न बाध्य छन्।
त्यसपछि राष्ट्र बैंकले २०७९ भदौमा हजारदरको नोट छपाइका लागि बोलपत्र आह्वान गर्दै मंसिरमा भारत सरकार स्वामित्वको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड) (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया) लाई ठेक्का दिएको थियो।
राष्ट्र बैंकले भारतीय कम्पनीसँग ११ लाख ३४ हजार अमेरिकी डलर अर्थात् उक्त समयको विदेशी विनिमयदरअनुसार १ अर्ब ४५ करोड ८६ लाख रुपैयाँमा हजार दरका ४३ थान नोट डिजाइन, छपाइ र ढुवानीको काम गर्ने सम्झौता गरेको थियो।
त्यतिबेला चीनको बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, कासा, डा मोइडा डु ब्राजिल र ओभरथुर फिड्युसियरे एसएएस फ्रान्सले समेत नोट छपाइ ठेक्काका लागि बोलकबोल पेस गरेका थिए।
तर, आर्थिक र प्राविधि रुपमा उपयुक्त रहेको भन्दै राष्ट्र बैंकले भारतीय कम्पनी छनोट गरेको थियो। मापदण्डअनुसारको नछापेपछि राष्ट्र बैंकले सम्झौता रद्द गरी कम्पनीलाई कालोसूचीमा राखेको छ।
नयाँ प्रक्रियामा अलमल
ब्राजिल, फ्रान्स र अघिल्लो पटक नोट छपाएको चिनियाँ कम्पनीलाई नदिएर भारतीय कम्पनीलाई जिम्मा दिँदै राष्ट्र बैंकले प्रक्रिया सुरु भएको केही समयमै सम्झौता रद्द गरेको थियो।
राष्ट्र बैंकले सम्झौताअनुसार नोटको गुणस्तर नभएको भन्दै रद्द गरेको हो। नोट छपाइको सम्झौताअनुसार उल्लिखित सर्त पूरा नगरेको कारण सम्झौाता रद्द गरिएको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल बताउँछन्।
‘प्रिन्टिङका लागि बिड आह्वान गर्दा सर्तनामामा भएका विषय पूरा नगरी नोट छपाएकाले राष्ट्र बैंकले रद्द गरेको हो। त्यसविरुद्ध उनीहरु अदालत गएका थिए,’ प्रवक्ता पौडेलले क्यापिटल नेपालसँग भने, ‘अदालतले राष्ट्र बैंकको पक्षमा फैसला गरेको छ। छपाइका लागि नियमित प्रकृयाअनुसार अघि बढाउने तयारी गरिएको छ। तर, अहिले कम्पनी छनोटका लागि बिड भएको छैन।’
राष्ट्र बैंकले हजार दरका नोट छपाइ जिम्मा दिएको सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डियाले छपाइ प्रकृया सुरु गरी नोटको ‘स्याम्पल’ समेत पठाएपछि राष्ट्र बैंकले प्रक्रिया रद्द गरेको हो।
बैंक ग्यारेन्टी फिर्ता पाउन र प्रकृया सुरु गरेदेखि रद्द गर्दासम्मको क्षतिपूर्ति माग गर्दै भारतीय कम्पनीले राष्ट्र बैंकविरुद्ध अघिल्लो वर्ष उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। अदालतले गत वर्ष नै राष्ट्र बैंकको पक्षमा फैसला गरिसकेको छ।
अदालतको फैसलापछि राष्ट्र बैंकले सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डियाले राखेको ३० करोड रुपैयाँ बैंक ग्यारेन्टी फिर्ता दिनुपरेन। तर, नयाँ प्रकृया सुरु कहिले गर्ने भन्ने विषयमा अझै यकिन हुन सकेको छैन।
आउँदा चाडपर्वमा पनि सर्वसाधारणको हातमा पुरानै नोट
बोलपत्र आह्वानमार्फत कम्पनी छनोट गरी नोट छपाइ भएर बजारमा सर्वसाधारणको हालमा पुग्दा न्यूनतम एक वर्ष समय लाग्छ। राष्ट्र बैंकले नोट छपाइ बजारमा कति नगद आवश्यक छ भन्ने अनुमानको आधारमा निर्णय गर्छ भने जनसंख्या वृद्धि, आर्थिक गतिविधि, चाडपर्वजस्ता कारणले नगदको माग बढे नयाँ नोट छाप्ने गर्छ।
पुरानो नोटको अवस्था, अत्यधिक मुद्रास्फीति भए पनि साना दरको नोट हटाएर ठूला दरको नोट छपाउँछ भने बैंकहरुको माग तथा राष्ट्र बैंक स्वयंको योजनाअनुसार अन्तर्राष्ट्रिय मुद्रण संस्थासँग समन्वय गरेर नयाँ नोट छपाइ गर्छ।
नोट छपाइ प्रकृया सुरु गरी सर्वसाधारणको हालसम्म आइपुग्न कम्तीमा एक वर्ष लाग्ने हुँदा यस वर्षको चाडपर्वमा सर्वसाधारणको हातमा पुरानै नोट पर्ने संकेत देखिन्छ।
‘बिट भएको छैन। एउटा साइकल डिस्र्टब भयो त्यसले गर्दा बजारमा हजार दरको नोट केही कम छ। प्रकृया सुरु भएपछि पनि आउन ८÷९ महिना समय लाग्छ,’ राष्ट्र बैंक प्रवक्ता पौडेलले भने, ‘केही कम भएपछि ५ सयले पुर्याउन सकिन्छ, यो दरको नोट प्रिन्टिङ भएर आउन सुरु भइसकेको छ।’
राष्ट्र बैंकले हजार दरको नाट अभाव भए पनि ५ सय दरको नोटले त्यसलाई पूरा गर्ने उनको भनाइ हो। राष्ट्र बैंकले ५ सय दरका २३ करोड थान नोट छपाइका लागि कम्पनी छनोट गरी प्रकृया अघि बढाइसकेको छ।
नक्कली नोटलाई बाटो खुला हुँदै
राष्ट्र बैंकले आन्तरिक योजना र मूल्यांकनको गरी कुन मूल्यका कति थान नोट छपाइ गर्ने निर्णय गर्छ। त्यसपछि बोलपत्र प्रक्रिया सुरु गरी अन्तर्राष्ट्रिय छपाइ कम्पनीबाट प्रस्ताव माग गर्छ। पेस भएका बोलपत्रमा सबैभन्दा उपयुक्त कम्पनीलाई छपाइको जिम्मा दिएर ठेक्का सम्झौता गर्छ।
यसमा नेपाली चिनारी झल्किने चित्र, रंग र सुरक्षा विशेषता डिजाइन गरिन्छ। अन्त्यमा छपाइ कार्यका लागि छनोटमा परेको कम्पनीले सुरक्षित रूपमा नोट छापेर पहिलो चरणमा नमुना (स्याम्पल) राष्ट्र बैंक पठाउँछ।
उक्त स्याम्पल चित्तबुझ्दो भए त्यहीअनुसारको निर्धारित परिमाणमा नोट छपाइ हुन्छ। चित्त नबुझे पुनः राष्ट्र बैंकले चित्ता नबुझेको पक्ष समेटेर छपाउन कम्पनीलाई भन्छ। तर, राष्ट्र बैंकले सेक्युरिटी प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन अफ इन्डियाले छपाइ प्रकृया शुरु गरी नोटको ‘स्याम्पल’ समेत पठाएपछि चित्त बनुझेको विषय समेटर पुनः छपाउन नभनेर छपाइ सम्झौता रद्द गरेको हो।
यसरी अन्तिम अवस्थामा रद्द भएको छपाइ प्रकृयाले बजारमा नक्कली/जाली नोट आउन सक्ने सम्भावना बढ्छ। राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले समेत आफ्नो बिदाइ कार्यक्रममा रद्द गरिएको हजार दरको नोटको नयाँ डिजाइन बनाउनुपर्ने चुनौती रहेको बताएका थिए।
‘ठूला दरका नोटमध्ये रु.१००० को नोट छपाइ यसअघि रद्द गरिएको सन्दर्भमा पुनः पूर्ण रूपमा नयाँ डिजाइन तय गरेर मात्र गर्नुपर्नेछ,’ चैत २२ को बिदाइ कार्यक्रममा आगामी गभर्नरलाई चुनौतीको विषयमा प्रस्ट्याउँदै गभर्नर अधिकारीले भनेका थिए।
पछिल्ला वर्षमा विद्युतीय भुक्तानी प्रचलन बढ्दै गएको फलस्वरूप चलनचल्तीमा जाने नोटको परिमाण घट्दै गएको छ। यदपि राष्ट्र बैंक यस वर्ष भने पुनः चलनचल्तीमा वृद्धि भएको सन्दर्भमा विस्तृत अध्ययन गर्ने निर्णय गरिसकेको छ।
यस्तो हुँदा सप्लाइ चेनमा असर पर्छ, सप्लाइ सहज ढंगबाट नहुँदा भुक्तानी असर हुन्छ।
‘नोट छाप्ने कम्पनी अन्तर्राष्ट्रिय स्तरमै सीमित छन्। उनीहरुले नोटको सेक्युरिटी फिचर पाएर जाली नोट बनाउने विषय नआउला तर त्यहाँ कार्यरत कर्मचारीले नियतवश सेक्युरिटी फिचर आइसकेर सम्झौता रद्द भएका नोट जाली छापाउन सक्ने राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटी बताउँछन्।
‘इन्टरनेसनल नोट प्रिन्टर धेरै छैनन्। उनीहरुले सेक्युरिटी फिचर पाउँदैमा जाली नोट बनाउँदैन भन्ने विश्वास छ तर, छिमेकी राष्ट्रमै ठूला दरको नोट छपाउँदा त्यहाँको कुनै कर्मचारीले सेक्युरिटी फिचरबाहिर लिक गरेर जाली नोट छपाउने विषयमा भने शंका छ,’ शिवाकोटीले क्यापिटल नेपालसँग भने, ‘उक्त भारतीय कम्पनी अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको कम्पनी हो। तर, त्यहाँका प्रविधि जानेको र नेपालको नोटको सेक्युरिटी फिचर जानेका कर्मचारी बदमास भए जाली नोट छपाउन सक्छन्।’
राष्ट्र बैंकले नोटको सेक्युरिटी फिचर नयाँ डिजाइन गरेर नयाँ नोट चाँडै छपाउनु पर्ने उनको भनाइ छ।
‘भोलि भवितव्य जे पनि हुन सक्छ, हामी पहिले नै सुरक्षित साइडमा बस्नुपर्छ। नोटको सेक्युरिटी फिचरमा खर्चमा सम्झाैता गर्नुहुँदैन। यसले गर्दा नक्कली बनाउनेले पनि धेरै खर्च गरेर जाली नोट बनाउन सक्दैनन्,’ उनले भने।
राष्ट्र बैंकले समयमै आवश्यकताअनाुसार समयमै नोट छपाउन नसके सम्पूर्ण पेमेन्ट सिस्टममै खलबलिन सक्ने उनकाे अनुमान छ।‘राष्ट्र बैंकको मुख्य काम नै मुद्रण छपाइ र सबै जिल्लामा सजह सप्लाइको काम हो, समयमै पैसा छाप्न नसके सर्वसाधारणले पैसा नापाउने र खाल लगाउने नै समस्या हुन सक्छ, कुनै समय हडल्स आए पनि त्यसको पूर्ति समयमै गर्नुपर्छ,’ उनले भने।
१० वर्षअघि कालोसूची गरेको कम्पनीलाई महाप्रसादले नोट छपाउन दिँदा समस्या दोहोरियो
धेरै वटा देशहरुमा छिमेकी राष्ट्रमा रहेका नोट छपाइ कम्पनीलाई बोलबबोलमै समावेश नगराउने अभ्यास छ। नेपालले यसअघि २०७० मा सेक्युरिटी प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन अफ इन्डियाले १० रुपैयाँको नोट छपाएको थियो। उक्त नोटमा समेत धेरै समस्या आएको थियो। उक्त समयमा विभागमा चिन्तामणि शिवाकोटी निर्देशक थिए।
डिफेक्क्टिभ नोट छुट्याएर राम्रो नोट रिप्लेस गर्ने र आगामी दिनमा नोट छपाइको लागि कम्पनी छनौट गर्नेमा विषयमा विभागमा कार्यरत कर्मचारीको कमिटी नै गठन गरिएको थियो। उक्त कमिटिको सिफारिसमा राष्ट्र बैंक कम्पनीलाइृ कालोसूची गरेको शिवाकोटीले जानकारी दिए।
उक्त समयमा भारतीय कम्पनीमा छपाइएको १० रुपैयाँको नोट ४/५ करोड नोटमा नै डिफेक्ट आएको थियो। उक्त डिफेक्ट नोट रिप्लेसको लागि भन्दा पुन राम्रो र डिफेक्टिभ नोट दुवै आएको थियो। नोटमा गभर्नरको हस्ताक्षर छुटेको, नम्बर गलतलगायतका डिफेक्ट भेटिएका थिए।
भारतबाट आएको नोट राष्ट्र बैंकका कर्मचारीले छनौट गरी रिप्लेसको लागि भन्दा फिर्ता आएको थिए। त्यसकारणले राष्ट्र बैंकले लामो समयसम्म उक्त कम्पनीलाई कालोसूचीमा राखेर टेन्डरमा बिड गर्न रोकेको थियो।
महाप्रसाद अधिकारी गभर्नर भएर आएपछि उक्त कम्पनीलाई कालोसूचीबाट हटाएर एक हजार दरको नोट छपाइको जिम्मेवारी दिएका थिए। तर, कम्पनीले पुन गुणस्तरहिन नोट छपाएर नमुना पठाएपछि राष्ट्र बैंकले सम्झौता नै रद्द गरी पुनः कम्पनीलाई कालोसूची राखेकाे छ।
यता, निवर्तमान गभर्नर अधिकारी भने उक्त कम्पनी कालोसूचीमा परेकोबारे आफूलाई जानकारी नै नभएको बताउँछन्। ‘नोट छपाइको विषय विभागलाई नै थाहा हुन्छ, विभागबाटै सबै कुरा उठान भएर आउने हुन्छ। बटम अप दि टपको प्रोसेस हुन्छ। सम्बन्धित विभागले नै सबै काम गरेर आउने हुँदा भारतीय कम्पनी कालो सूची रहेर खुलाएको हो भने पुनः फेरि किन खारेज गथ्र्यौं। त्यो कम्पनी कालोसूचीमा भएको कुरा मलाइ थाहा भएन’, अधिकारीले क्यापिटल नेपालसँग भने।