जुम्ला। सिञ्जा गाउँपालिकाले २ हजार ४०० घरको घर बिमा गर्ने भएको छ। कर्णाली प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालू आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बिमा कार्यक्रममा छनोट भएपछि घरको बिमा गर्न लागिएको हो।
गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सोही कार्यक्रमअनुसार २ हजार ४०० घरको बिमा गर्न लागिएको जानकारी दिए। गत चैत २५ मा उक्त कार्यक्रमका लागि मन्त्रालयले स्थानीय तहलाई १५ दिनको समय दिएर बिमा गर्ने विषयमा सहभागी हुन सूचना प्रकाशन गरेकामा सिञ्जा तोकिएको मापदण्डअनुसार छनोटमा परेको उनले बताए।
अध्यक्ष धितालले भने, ‘कार्यक्रमका लागि मन्त्रालयले अधिकतम प्रतिघर २० लाखको बिमांक बराबरको जोखिम मूल्यांकनबाट हुन आउने बिमा शुल्कबापतको रकम भुक्तानी गरिदिने व्यवस्था गरेको छ।
बिमा लागू भएपछि भूकम्प, आगलागी, बाढी तथा डुबान, हावाहुरीलगायत विपद्बाट क्षतिग्रस्त भएका घरको बिमामार्फत क्षतिपूर्ति पाउनेछन्। एक परिवारका लागि एक घरको बिमा शुल्क प्रदेश सरकारले भुक्तानी गरिदिने व्यवस्था गरिएको छ।’
कर्णालीका निजी तथा आवासीय घरमा विभिन्न विपद्बाट हुने क्षतिबाट बचाउन प्रदेश सरकारले घर बिमा कार्यक्रम सुरु गरेको हो।यसका लागि घर बिमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको छ।
चालू आवमा बिमाका लागि प्रदेश सरकारले चार करोड ७५ लाख बजेट छुट्याएको कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।–रासस