काठमाडौं। एनएमबी बैंकको नेतृत्व आजदेखि गोविन्द घिमिरेले सम्हालेका छन्। बैंकको फागुन २५ को सञ्चालक समिति बैठकले उनलाई वैशाख १० देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गर्ने निर्णय गरेको थियो।
घिमिरे यसअघि सोही बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए।
साविक सीईओ सुनील केसीको कार्यकाल वैशाख ९ गते सकिएसँगै बैंकले नेतृत्व हस्तान्तरण गरेको हो। बैंकले हालका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय पनि गरिसकेको छ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा एनएमबी बैंकले उल्लेखनीय प्रगति गरेको छ। बैंकले साउनदेखि चैतसम्मको अवधिमा २ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.८ प्रतिशतले बढी हो।
अघिल्लो वर्ष यो नाफा २ अर्ब २४ करोड रुपैयाँ थियो। यो वृद्धिले बैंकको सञ्चालन दक्षता र लगानी प्रतिफल राम्रो रहेको संकेत गर्छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि उक्लिएको छ। अघिल्लो वर्ष १६.२७ रुपैयाँ रहेको वार्षिक प्रतिसेयर आम्दानी अहिले १७.२३ रुपैयाँमा पुगेको छ। त्यस्तै, खुद ब्याज आम्दानी ५ अर्ब ४४ करोड रुपैयाँबाट बढेर ६ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।
यद्यपि, लोन लस प्रोभिजन (इम्पेयरमेन्ट चार्ज) मा भने उल्लेख्य वृद्धि भएको छ। यो रकम ८० करोड रुपैयाँबाट बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको निष्क्रिय कर्जा पनि समीक्षा अवधिमा २.८६ प्रतिशतबाट बढेर ४.४७ प्रतिशतमा पुगेको छ।
हाल बैंकको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ छ भने आधार दर ९.१५ प्रतिशतबाट घटेर ६.४९ प्रतिशतमा झरेको छ। बैंकको वितरणयोग्य नाफा १ अर्ब ३१ करोड रुपैयाँ छ।