काठमाडौं। पछिल्लो केही सातादेखि साँझ होस् वा दिउँसो झ्याप्प‑झ्याप्प बिजुली जाने क्रम बढिरहेको छ। उसै त जनमानसमा नेपाल विद्युत प्राधिकरणबाट प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि पुनः लोडसेडिङ हुन्छ त्रास फैलिरहेको छ। यसै बेला बिजुली जाँदा समस्या आयो कि भन्ने भान सबैलाई हुन थालेको छ।
प्राधिकरणमा सरकारले कुलमानलाई हटाएर प्रबन्ध निर्देशकको रुपमा हितेन्द्रदेव शाक्यलाई नियुक्ती गरेलगत्तै बिजुली नियमित नभएको भन्दै सामाजिक सञ्जालमा नेतृत्वको विरोध गर्ने क्रम तीव्र बढिरहेको छ। यहीअनुसार सामान्य हावाहुरी चल्दा पनि बिजुली जाने समस्या अहिले देशभरि हुन थालेको जनगुनासो व्याप्त छ।
यसरी बिजुली नियमित नहुँदा के साच्चै लोडसेडिङ सुरु भएको हो? भन्ने प्रश्न जनमानसमा बढ्न थालेको हो। यसै विषयमा प्राधिकरण प्रवक्ता राजाभाइ शिल्पकारले लोडसेडिङ नभई हावाहुरीका कारण बेला–बेला लाइन जाने समस्या उत्पन्न भइरहेको बताए।
चैत–वैशाखको महिना अन्य समयभन्दा बढी हावाहुरी चल्ने र रुखका हाँगाहरुले तार छुने भएकाले लाइन जाने समस्या आइरहेको बताए। ‘गत वर्षको तुलनाभन्दा यो वर्ष निकै कम ट्रिपिङ भएको छ,’ प्रवक्ता शिल्पकारले भने, ‘चैतको अन्तिम सातादेखि अहिलेसम्म पानी परेकाले पनि एक्कासी समस्या आएको हो, यो लोडसेडिङ हैन।’
रुखको हाँगा काट्ने र मर्मतको काम तीव्र
बर्खायाम सुरु हुन लागेकाले त्यसको पूर्वतयारी स्वरुप अहिले बिजुलीका पोल आसपासमा रहेका रुखका हाँगाहरु काटछाँटको काम भइरहेको छ। अहिले रुखमा पालुवा फेरिने क्रम सुरु हुँदा कतिपय ठाउँमा तारमा हाँगाले छुने भएकाले यही ठाउँमा पन्छाउने काम पनि भइरहेको प्रवक्ता शिल्पकारको भनाइ थियो।
‘हावाहुरी र रुखका हाँगाहरु काटछाँट गर्दा वर्षेनी लाइन ट्रिपिङ हुन्छ,’ प्रवक्ता शिल्पकारले भने, ‘आगामी दिनमा यो खालको समस्या नहोस् भन्ने उद्देश्यका कारण काटछाँटलाई तीव्रता दिइएको छ।’
विभिन्न ठाउँमा रहेका सवस्टेशनहरुको पनि मर्मत सम्भारको काम तीव्र गतिमा भइरहेकाले लाइन नियमित हुन नसकेको उनले बताए। ‘बर्खा लागेपछि सवस्टेशन मर्मत गर्न गाह्रो हुने भएकाले अहिले नै सुरु गरिएको हो’, उनले भने, ‘यो नियमित प्रक्रिया हो।’
योसँगै अहिले विभिन्न ठाउँमा सडक निर्माण र मर्मतको कामहरु हुने सिजन भएकाले पनि बिजुलीको पोल सार्दा नियमित लाइनमा समस्या आएको प्राधिकरणले जनाएको छ। सडक तथा ढल निर्माणको क्रममा बिजुलीको पोलहरु सार्नुपर्ने हुँदा समस्या आउने गरेको बताउँदै अबको केही दिनपछि अन्त्य हुने उनको भनाइ थियो।