काठमाडौं। गाडी बिक्रेताहरुको साझा संस्थाको रुपमा नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) आधिकारिक रुपमा घोषणा गरियो। संस्था घोषणा कार्यक्रममा अध्यक्ष ऋतुसिंह वैद्यले सरकारसँग मिलेर अटो क्षेत्रको विकासमा रणनीतिक
सहकार्य, विकास र नीति निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाइन। सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाइरहँदा नाइमाले बजेट निर्माणसहित अन्य नीतिगत निर्णयमा कस्तो प्रभाव पार्ला भन्ने चासो बढ्न थालेको छ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले गाडी बिक्रेताहरुको पक्षमा राम्रो वकालत गर्न नसकेको आरोप लगाउँदै बिक्रेता र उत्पादकहरुले छुट्टै संस्था बनेपछि आगामी दिनमा बन्ने बजेटमा कस्तो प्रभाव पार्ला भन्ने चासो बढ्न थालेको हो।
हरेक वर्षको बजेटमा सवारी साधान आयातमा कर बढाइरहेको सरकारलाई नाइमाले कसरी प्रभावमा पार्ला वा नबढाउनका लागि कस्तो लविङ गर्ला भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
नाइमाका संस्थापक सदस्य सुहृदराज घिमिरेले नेपालको अटोमोबाइल्स उद्योगमा ३० वर्षको अवधिमा पछिल्लो समय भिन्न खालको उतारचढाव आएको बताए।
नाडाको नीतिमा योजना बनाइ काम गर्दै गएको अवस्थामा त्यहाँको सानो नीतिले निकै ठूलो प्रभाव पारी नाडा टुक्रिएको तर्क घिमिरेले गरे।
‘म अटो क्षेत्रमा आएको ३० वर्ष भयो। यो ३० वर्षको बिचमा धेरै उतारचढाव देखेँ। तर, अहिले अर्काे खालको उतारचढाव देख्न पाइयो।’ घिमिरेले भने, ‘अटो उद्योग भनेको धेरै पुँजी लगानी लाग्ने र धेरै स्टक बोकेर हिँड्नुपर्ने क्षेत्र हो। यसको एउटा सानो नीतिले धेरै ठूलो प्रभाव पार्छ।’
नाडाको नीतिमा योजना बनाइ काम गर्दै गएको अवस्थामा त्यहाँको सानो नीतिले निकै ठूलो प्रभाव पारी नाडा टुक्रिएको तर्क घिमिरेले गरे।
कसरी बढ्यो नाडामा असहमति?
लामो समयदेखि नाडाभित्र देखिएको असहमति नेतृत्वप्रति असन्तुष्टि र उद्देश्यमा मत भिन्नताका कारण संस्थाले एकता कायम राख्न नसकी विघटनको दिशातर्फ उन्मुख हुँदै आएको थियो। नाइमा गठनमा नाडाका पूर्वकार्यसमितिका केही प्रमुख सदस्यहरू पनि आबद्ध छन्। उनीहरूले पछिल्लो केही वर्षमा नाडा नेतृत्वले लिएको निर्णय, संघको संरचना र दृष्टिकोणप्रति गम्भीर आपत्ति जनाउँदै आएका थिए।
गत वर्ष नाडा अध्यक्षमा करण चौधरी र आकाश गोल्छाले उम्मेदवारी घोषणा गरे। अध्यक्षका प्रतिस्पर्धी करण र गोल्छाबीच गोला प्रथा गराइएको थियो। गोला प्रथाबाट करण अध्यक्ष चयन भए। गोल्छालाई अर्काे पटक स्वतः अध्यक्ष बनाउने गरी वरिष्ठ उपाध्यक्ष पदमा राख्ने सहमति २०८० पुस ३ मा भयो।
उनीहरूलाई मिलाउन भन्दै निवर्तमान अध्यक्ष धु्रव थापा र पूर्वअध्यक्षहरूले वरिष्ठ उपाध्यक्षको पद सिर्जना गरे। नाडाको ४७ औँ साधारणसभाले विशेष साधारणसभा बोलाएर संस्थाको विधान पनि त्यहीअनुरुप संशोधन गरी पास गरेको थियो।
नाइमाले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको गतिशीलता क्षेत्रको सामूहिक आवाजलाई प्रतिनिधित्व, रणनीतिक सहकार्य, विकास र वकालत गर्न एक एकीकृत मञ्चको रूपमा काम गर्ने जनाएको छ।
विधान संशोधनपछि स्वीकृतिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको थियो। तर, जिल्ला प्रशासनले विधान संशोधन प्रक्रियामाथि प्रश्न उठाउँदै संशोधनका लागि पठाएको पत्र अस्वीकार गरेको थियो। गत वर्ष नेतृत्व कसले लिने भन्ने विषयमै नाडामा बेमेलको स्थिति देखिएको थियो।
साउन २१ देखि नेपाल मोबिलिटी एक्सपो २०२५
बुधबार नाइमाको औपचारिक रुपमा घोषणा भएसँगै नाइमाले नेपाल मोबिलिटी एक्स्पो गर्ने घोषणासमेत गरेको छ। नाइमाले काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म (६ अगस्टदेखि १० सम्म) नेपाल मोबिलिटी एक्स्पो २०२५ आयोजना गर्ने भएको छ।
नाइमाले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको गतिशीलता क्षेत्रको सामूहिक आवाजलाई प्रतिनिधित्व, रणनीतिक सहकार्य, विकास र वकालत गर्न एक एकीकृत मञ्चको रूपमा काम गर्ने जनाएको छ। नाइमाले गौरव सारडालाई नेपाल मोबिलिटी एक्स्पो २०२५ को संयोजक तोकेको छ। एक्स्पो संयोजक सारडाले मोबिलिटी एक्स्पो २०२५ को लोगोसमेत अनावरण गरेका छन्।
नाइमाले प्रदर्शनीकर्तालाई २५ प्रतिशत सस्तो र व्यवस्थित स्टल दिने दाबी छ। अवलोकनकर्तालाई कम मूल्यमा टिकेट दिनेदेखि मिडिया र बिजनेश डेको लागि अलगै दिनको व्यवस्था गर्ने नाइमाको भनाइ छ।
साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपाल मोबिलिटी एक्सपोमा प्रदर्शनीकर्ता र अवलोकनकर्तालाई फाइदाजनक हुने नाइमाले जनाएको छ।
नाइमाले प्रदर्शनीकर्तालाई २५ प्रतिशत सस्तो र व्यवस्थित स्टल दिने दाबी छ। अवलोकनकर्तालाई कम मूल्यमा टिकेट दिनेदेखि मिडिया र बिजनेश डेको लागि अलगै दिनको व्यवस्था गर्ने नाइमाको भनाइ छ।
नाइमाको फ्रेममा को–को छन्?
नाइमा संचालक समितिमा किया गाडीको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिका अध्यक्ष सुहृद घिमिरे, बजाज, केटिएम र ट्रायम्फ बाइका नेपालका लागि आधिकारिक बिक्रेता गोल्छा अर्गानाइजेसन अन्तर्गतको हंशराज हुलासचन्द एण्ड कम्पनीका शेखर गोल्छा, होन्डा बाइक तथा स्कुटर र होन्डा गाडीको आधिकारिक वितरक स्याकार ट्रेडिङ तथा पद्य ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति, महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेट तथा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, सिट्रोन, लिपमोटर गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रीला मोटर्सको हेमन्त गोल्छा छन्।
त्यस्तै, निसान, ओमोडा एण्ड जेको गाडीको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स तथा शारडा ग्रुपका निर्देशक सन्दीप शारडा, हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकार श्रेष्ठ, बीवाइडी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, मोरिस ग्यारेज(एमजी), वुलिङ, माज्दा गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स तथा विशाल ग्रुपका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल, भारतबेन्ज ट्रकको नेपालका लागि आधिकारिक वितरक ओम्नी मोटर्सका उध्यान काभ्रा रहेका छन्।