काठमाडौं। खर्चालु पर्यटकलाई लक्षित गरी गैरआवासी नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष शेष घलेले भक्तपुरमा रिसोर्ट निर्माण सुरु गरेका छन्।
भक्तपुरको गुन्डुमा १०० रोपनी क्षेत्रफलमा निर्माण हुने रिसोर्टको नयाँ वर्ष २०८२ अवसरमा भूमिर्पूजा गरिएको हो।
घलेले समिट होटलका सञ्चालक अमृतरत्न शाक्यसँगको सहकार्यमा रिसोर्ट निर्माण सुरु गरेका हुन। आगामी ३ वर्षभित्रै सञ्चालनमा ल्याउने गरी भूमिपूजा गरिएको सो रिसोर्टमा ६० वटा भिल्ला रहनेछ।
कम्तीमा ५ देखि ७ दिन बस्न आउने पर्यटकलाई रिसोर्टले आफ्नो लक्षित पाहुनाको रुपमा राखेको जनाएको छ।
मुलुकमा निराशा छाइरहेका बेला आशा जगाउने उद्देश्यका साथ रिसोर्ट निर्माण सुरु गरिएको अध्यक्ष घलेले बताए। वेलनेस, लाइफस्टलाई ध्यान दिँदै, योगा, साइक्लिङ, हाइकिङ, सेमिनारसहितको पर्यटकीय गतिविधिलाई प्रोत्साहन गरिने अध्यक्ष घलेको भनाइ छ।
रिसोर्टका अध्यक्ष घले हुन् भने निर्देशकमा शाक्य, जमुना घले गुरुङ र सुवर्णकृष्ण श्रेष्ठ छन्। जमुना घलेपत्नी हुन् भने सुवर्णकृष्ण आईईजीका साझेदार हुन्।
घलेले काठमाडौंको केशरमहलमा पाँचतारे होटल निर्माण गरिरहेका छन्। अबको केही वर्षभित्रै सञ्चालनमा ल्याउने उद्देश्यका साथ काम भइरहेको उनले बताए।