कास्की। गण्डकी प्रदेश मुकाम पोखरामा आजदेखि फेवा महोत्सव सञ्चालन हुँदै छ। आगामी वैशाख १ गतेसम्म चल्ने महोत्सव होटल संघ पोखराले आयोजना गरेको हो।
पोखरामा आयोजना गर्न लागेको २०औं फेवा नव वर्ष महोत्सव २०८२ मा यहाँ आउने पर्यटकका लागि लक्षित गरी होटलले आफ्नो दररेटमा २० प्रतिशत छुट दिनेछन्।
संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिएको हो। संघका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदीले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रूपमा रहने जानकारी दिए।
महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुति रहने उनले बताउनुभयो। बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिने जनाइएको छ।
पोखराको खहरेचोकदेखि ड्यामसाइड वीचको तीन किलोमिटर सडकमा आयोजना गरिने सो महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहनेछन्।
महोत्सवका अवसरमा संघअन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्नेछन्। अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी ६० प्रतिशत रहेको र महोत्सवका अवसरमा यो ९० प्रतिशत पुग्ने संघका अध्यक्ष सुवेदीले जानकारी दिए।
प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमको प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने छन्।
ब्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रूपमा रहेको छ। लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुनेछ। महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिका रहेका छन्।