काठमाडौं। तेस्रो विमस्टेक कृषि मन्त्रिस्तरीय बैठक काठमाडौमा सम्पन्न भएको छ। बैठकलेमा बिमस्टेक राष्ट्रमा क्षेत्रीय खाद्य भण्डारण स्थापना, क्षेत्रीय बिउ भण्डारण स्थापना गर्नेलगायत विषयमा सहमति भएको छ।
यसैगरी क्षेत्रीय कृषि व्यापार प्रवर्द्धन, सदस्य राष्ट्रबीच कृषि क्षेत्रको क्षमता विकासलगायत क्षेत्रमा विशेष पहल गर्ने सहमति भएको छ।
बैठकमा सदस्य राष्ट्र भारतले कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रवर्द्धन गर्न बिमस्टेक सेन्टर अफ एक्सिलेन्स र कृषि विकासमा डिजिटल सार्वजनिक पूर्वाधारको स्थापनाबारे अवधारणा प्रस्तुत गरेको थियो।
बैठकमा नेपाली कृषि मन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासका लागि बिमस्टेक सदस्य राष्ट्रहरूबीच सहकार्यको आवश्यकता औँल्याए।
जलवायु परिवर्तन, विषादीको बढ्दो प्रयोगले बिमस्टेकअन्तर्गतका राष्ट्रमा चुनौती थपेको उल्लेख गर्दै मन्त्री अधिकारीले यसको सामना गर्न सदस्य राष्ट्रहरूबीच सहकार्य आवश्यक रहेको बताए।
भारतका कृषिमन्त्री शिवराज चौहानले बिमस्टेक राष्ट्रहरूमा कृषि, पशुपन्छी तथा मत्स्यपालनको अपार सम्भावना रहेको चर्चा गर्दै सदस्य राष्ट्र बीचको सहकार्यलाई अझ बलियो पार्नुपर्नेमा जोड दिए।
बैठकमा तीन देशका मन्त्रीहरूको प्रत्यक्ष सहभागिता रहेको थियो। बाँकी चार सदस्य राष्ट्रका मन्त्री तथा प्रतिनिधि भर्चुअल रूपमा सहभागी भएका थिए।