काठमाडौं। नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)बीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्य समझदारी भएको छ।
जमलस्थित चेम्बर भवनमा आयोजित छलफलमा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र युएनडीपीका आवासीय प्रतिनिधि क्योको योकोशुकाबीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्य गर्ने समझदारी भएको हो।
सो अवसरमा चेम्बर अध्यक्ष अग्रवालले हरित अर्थतन्त्रको विकासमा टेवा पुग्ने गरी व्यावसायिक निरन्तर योजना कार्यान्वयनका लागि पहल गरिने बताए।
उनले भने, ‘जलवायु परिवर्तनका कारण व्यवसायमा पर्ने असरको अध्ययन र त्यससँग सम्बन्धित नीति तर्जुमा गर्न तीनै तहका सरकारसँग पहल आवश्यक छ।’
अध्यक्ष अग्रवालले साना तथा मझौला उद्योगमा बिपदको असरको अध्ययन गर्नुपर्ने र सोको न्यूनीकरणका लागि बिमालगायत व्यवस्थामा सचेतना जगाउनुपर्ने बताए।
युएनडीपीका आवासीय प्रतिनिधि क्योको योकोशुकाले निजी क्षेत्रको संलग्नतामा स्थायी प्रकृतिको विपद् प्रतिकार्य कोष स्थापना गर्नुपर्ने बताइन्।
जलवायु परिवर्तनले औद्योगिक र व्यवसायिक क्षेत्रमा परेको असर न्यूनीकरणका लागि निजी क्षेत्रले नै अग्रणी भूमिका खेल्दा प्रभावकारी हुने उनको भनाइ छ।
चेम्बर र युएनडीपीले काभ्रेको नमोबुद्ध र रोशी गाउँपालिकामा गत असोज दोस्रो साता आएको बाढीपहिरो प्रभावित क्षेत्रमा पुर्ननिर्माण र जीविकोपार्जनबारे सहकार्य गरेका थिए।