काठमाडौं। करिब दुई साताको अन्तरालमा हुने नाडा अटो शो र नाइमा अटो शोबीच चल्ने प्रतिस्पर्धाले अटो व्यवसायीलाई भने प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ। दुवै शो आ–आफ्ना क्षेत्रमा ग्राहकमाझ पहुँच बढाउने नयाँ प्रविधि प्रदर्शन गर्ने र बिक्रेतालाई एकै मञ्च ल्याउने प्रयासमा लागिपरेका छन्।
पाँच दशक लामो इतिहास बोकेको अटो व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल विभाजित भई गाडी आयातकर्ताले नयाँ संस्था खडा गरेका छन्, नाइमा।
गाडी आयातकर्ताले वैशाख ३ मा औपचारिक रुपमा नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) नामक संस्था खडा गरी ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजनाको घोषणा गरेका हुन्।
नाडाले आगामी भदौ ३ देखि ८ सम्म १७औं संस्करणको नाडा अटो शो गर्ने भएको छ भने नाइमाले आगामी साउन २१ देखि २५ सम्म भृकुटीमण्डपमा ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजनाको घोषणा गरेको छ। नेपालमा बिक्री हुने प्रमुख ब्रान्ड नाइमा आबद्ध व्यवसायीले भिœयाउने भएकाले नाइमा अटो शो प्रभावशाली हुने देखिएको छ।
‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ संयोजक गौरव सारडा मोबिलिटी क्षेत्रका लागि अटो एक्स्पो गेम चेन्जर हुने बताउँछन्। ‘नाइमाले गर्ने अटो शोमा गाडी कम्पनीलाई २५ प्रतिशत स्टल दर्ताका लागि छुट दिइनेछ’, सारडाले भने, ‘गाडीबारे बुझ्ने ग्राहकलाई साना ठाउँ हुँदा अप्ठेरो भइरहेको थियो। अब पर्याप्त ठाउँसहित गाडी वा बाइक प्रदर्शनमा हुनेछन्।’ व्यवसायीले अब आफ्ना स्टलबाहिर गार्डेनमा राख्नु नपर्ने सारडाको भनाइ छ।
अटो शो स्थल सानो भएकाले नाडाले सधैं सबैलाई समेट्न सकिरहेको छैन। यसकारण कसरी गर्ने भनेर छलफल भइरहेको नाडा उपाध्यक्ष एवं सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठ बताउँछन्।
‘अटो शो कसरी गर्ने भनेर छलफल हुँदैछ। त्यसकारण अहिले नै के गर्ने भनेर निर्णय नभएकाले तुरुन्तै केही भन्न सक्ने स्थिति छैन,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘पछिल्लो समय गाडीको ब्रान्डहरु यति धेरै भित्रिएका छन्। त्यसले गर्दा छुट दिए पनि नदिए पनि अन्ततः सबै कम्पनी आए भने अटो शोमा ठाउँ नै छैन।,’ नाडाले खुलाएको अटो शो बुकिङमा धेरै बुकिङ आइसकेको छ।’ नाडामा पर्याप्त मूल्यको नै बुकिङ आइसकेको उनको भनाइ छ।
‘पूरै छुट दिने भन्ने कुरा भएन। विगतमा जति थियो त्यति नै हो। तर, समय अझ धेरै भएकाले कसरी यसलाई लिएर जाने भन्नेमा छलफल भइरहेको छ।’
नाडाको तुलनामा नाइमामा सस्तो स्टल
नाइमाको प्रदर्शनीकर्तालाई २५ प्रतिशत सस्तो र व्यवस्थित स्टल दिने दाबी छ। अवलोकनकर्तालाई कम मूल्यमा टिकेट दिनेदेखि मिडिया र बिजनेश डेको लागि अलगै दिनको व्यवस्था गर्ने नाइमाले जनाएको छ।
विगतमा हुँदै आएको नाडा अटो शोमा बाइकलाई अहिलेसम्म भित्र प्रवेशै थिएन। नाइमाले भने अब बाइकलाई पनि भित्र प्रवेश दिने भएको छ। यसले गर्दा नाइमा अटो शो थप आकर्षक हुने देखिएको छ।
गत वर्षको नाडा अटो शोमा नाडामा सबैभन्दा महँगो स्टल मूल्य १४ लाख ९८ हजार रुपैयाँ तोकिएको थियो भने सबैभन्दा सस्तो स्टल मूल्य २ लाख २६ हजार थियो।
बजारमा प्रतिस्पर्धा बढाउने मात्र होइन, बिक्रेतालाई नयाँ मोडल र प्रविधि एकैसाथ प्रस्तुत गर्न मौका दिनुका साथै ग्राहकमाझ ब्रान्ड पहिचान बढाउन र बजार विस्तार गर्न अटो शो फलदायी बन्ने व्यवसायीको विश्वास छ।
विगतको नाडा अटो शोमा नाडाले प्रतिस्टल मूल्य अधिकतम १५ लाख रुपैयाँसम्म तोकेपछि व्यापारी सहभागी हुन अनिच्छुक देखिएका थिए। तर, पहिलो पटक नाइमाले आयोजना गर्ने ‘नेपाल मोबिलिटी शो २०२५’ मा २५ प्रतिशत कम मूल्यमा स्टल दिने नाइमाले घोषणा गरेसँगै नाइमामा स्टल सस्तो हुने भएकाले नाइमा अटो शोमा व्यवसायीलाई फाइदा हुने देखिन्छ। र व्यवसायीहरु पनि जता फाइदा पुग्यो त्यतै जाने मनस्थितिमा देखिन्छन्।
यी दुई संस्थाले करिब दुई साताको अन्तरालमा गर्ने अटो शोले व्यवसायीले प्रत्यक्ष लाभ लिन सक्नेछन्। नाडाले हरेक वर्ष आयोजना गर्दै आएको अटो शो नेपाली बजारमा सवारीसाधन र त्यससँग सम्बन्धित प्रविधिको सबैभन्दा ठूलो प्रदर्शनीका रुपमा परिचित छ। अर्कोतर्फ नयाँ संस्थाको रुपमा आएको नाइमाले अटो व्यवसायीलाई वैकल्पिक अनुभव प्रदान गर्ने देखिन्छ।
दुईवटा अलग–अलग अटो शो हुँदा प्रतिस्पर्धात्मक वातावरण सिर्जना भएको छ। यसले ग्राहकको चासो त बढाएको छ। अटो क्षेत्रमा दुई ठूला प्रदर्शनी हुनुले उपभोक्तालाई विस्तृत विकल्प हेर्न र तुलना गर्न सजिलो हुनेछ।
बजारमा प्रतिस्पर्धा बढाउने मात्र होइन, बिक्रेतालाई नयाँ मोडल र प्रविधि एकैसाथ प्रस्तुत गर्न मौका दिनुका साथै ग्राहकमाझ ब्रान्ड पहिचान बढाउन र बजार विस्तार गर्न अटो शो फलदायी बन्ने व्यवसायीको विश्वास छ। विशेषगरी सवारीसाधनको प्रचार–प्रसारमा यी शोले उल्लेखनीय योगदान पुग्नेछ।