काठमाडौं। १७ अर्ब रुपैयाँभन्दा बढीको अवैध कारोबार गर्ने २१ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अवैध वित्तीय कारोबारमा संलग्न ११ जिल्लाका २१ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा मोरङका वीरेन्द्रप्रसाद साह, सोही ठाउँका दीपेन्द्रप्रसाद साह, महोत्तरीका श्रवणकुमार साह, सप्तरीका तारालाल यादव, सर्लाहीका हरेराम महतो,धनुषाका निरोजकुमार महतो,सोही जिल्लाका अलिता देवी महतो, प्रकाश सिंह,अरुणकुमार साह,सञ्जिवकुमार महतो,पर्साका प्रदीपकुमार साह र नवलसरासीका राजकमल लोनिया रहेका छन्।
यसैगरी भीमकुमार गुरुङ,सप्तरीका रामविलास साह तेली,ममता कुमारी,पर्साका बिकर्णजंग राणा,नवलपरासीका गणपति पाण्डे,वीरगञ्जका सलमा खातुन,सप्तरीकी सुशीलाकुमार साहु,चितवनका गोविन्दप्रसाद आचार्य र सप्तरीका शम्भु मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ बराबरको अवैध कारोबार गरको सीआईबीले जानकारी दिएको छ। पक्राउ परेका उनीहरू विदेशबाट हुने रेमिट्यान्स आप्रवाहमा अवरोध गरी नेपालमा अवैध कारोबार (भन्सार, चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा संलग्न रहेको प्रहरीले जनाएको छ।
उनीहरुले गैरकानूनी कारोबारबाट प्राप्त गरेको रकमलाई डिजिटल वालेट (सजिलो पे र पेवेल नेपाल प्रालि) कम्पनीहरूको नाममा नेपालमा रहेका बैंक खाताहरुमा जम्मा गर्नको ‘मनी म्युल’ हरुलाई परिचालन गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।