काठमाडौं। चिया धेरैका लागि दैनिकी सुरुआतको चुस्की। मुलुकको व्यापार घाटा कम गराउन योगदान दिँदै आएको उद्यम। चिया बगानमा रमाउनेका लागि सुन्दर दृश्य र बेग्लै आकर्षणको परिदृश्य।
१६० वर्षे इतिहास बोकेको नेपाली चिया स्वाद र सन्तुष्टिमा मात्र सीमित रहेन। भावना र जीवनसँग जोडिन पुगेको छ। झिंक्रा (बेर्ना) समाएर बामे सर्न सिकेको छैटौं पुस्ताको सपना र भविष्य पनि हो, चिया। चियाले एउटा छुट्टै संसार रचेको छ। जहाँ, मालिक छन्, कारिन्दा र रैती छन्। पैसा छ अनि, अथाह सम्भावना।
निर्यातमार्फत विदेशी मुद्रा आर्जन हुनुका साथै मुलुकको व्यापार घाटा कम गर्ने प्रमुख चीजको रुपमा चियालाई विस्तार गर्न सकिन्छ। अझ हाम्रोजस्तो कृषिप्रधान मुलुकमा चिया उत्पादन हुन्छ र निर्यात गर्छौं भन्ने कुरा ठूलो नहुनुपर्ने हो।
तर, कृषि क्षेत्रका अधिकांश उत्पादनले किसान र मुलुकको अर्थतन्त्रलाई निराशाजनक नतिजा दिँदै गर्दा चिया क्षेत्रले भने उत्साह थप्ने तथ्यांक कायमै राखेको छ। यद्यपि राज्यले चियालाई खासै प्राथमिकतामा राखेको छैन। चिया बुझ्न चाहँदैन। चियाका समस्या सुन्न चाहँदैन। विकल्प र समाधानका पाटा पहिल्याउन चाहँदैन।
चिया तथा कफी विकास बोर्डका अनुसार पछिल्ला केही वर्षयता नेपालमा चिया उत्पादनको क्षेत्रफल, उत्पादन र निर्यातमा उल्लेखीय सुधार आएको छ।
तैपनि यो क्षेत्र विस्तारै फस्टाउँदै गएको देखिन्छ। उत्पादन, क्षेत्रफल, निर्यात र आन्तरिक उपभोगका हिसावले चिया क्षेत्र विकसित हुँदै गएको तथ्यांकबाट देखिन्छ।
चिया तथा कफी विकास बोर्डका अनुसार पछिल्ला केही वर्षयता नेपालमा चिया उत्पादनको क्षेत्रफल, उत्पादन र निर्यातमा उल्लेखीय सुधार आएको छ। तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/२०८१ मा करिब ५८१ टन चिया उत्पादन बढेको देखिन्छ।
अघिल्लो आर्थिक वर्षमा २६ हजार ४ सय १९ टन चिया फलेको थियो। गत आर्थिक वर्ष २६ हजार ८ सय ८३ टन चिया फलेको बोर्डको तथ्यांक छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्र्थिक वर्षमा चिया उत्पादन बढेको देखिन्छ।
तथ्यांकअनुसार २०७५/७७ मा नेपालमा २६ हजार हेक्टरमा चिया खेती हुँदै आएको थियो। त्यसलगत्तै आर्थिक वर्ष २०७६/७७ मा हेक्टर ह्वात्तै घटेर १६ हजार ९०१ हेक्टरमा झरेको थियो। तर, अहिले विस्तारै हेक्टर र उत्पादकत्व बढ्दै गएर गत आर्थिक वर्षको २० हजार ७ सय ६० हेक्टर पुगेको छ। त्यसपछि विस्तारै क्षेत्रफल घट्दै जाँदा अहिले फेरि लय समाउन थालेको देखिन्छ।
व्यावसायिक चिया खेती सर्वेक्षण २०७५ अनुसार व्यावसायिक चिया खेती गर्ने कृषक/व्यवसायीमध्ये ८२.३ प्रतिशतले १ हेक्टरभन्दा कममा खेती गरेको देखिन्छ । त्यस्तै, १६.५ प्रतिशतले १ हेक्टरभन्दा बढी तर १० हेक्टरभन्दा कममा, ०.४ प्रतिशतले १० हेक्टरभन्दा बढी तर २० हेक्टरभन्दा कममा र ०.८ प्रतिशतले २० हेक्टरभन्दा बढी क्षेत्रफलमा चिया खेती गरेको पाइएको छ।

व्यावसायिक चिया खेती सर्वेक्षणबाट यस व्यवसायमा संलग्न सञ्चालक/परिवारका सदस्य जम्मा १८ हजार १ सय ८० जना देखिन्छ। यीमध्ये पुरुष ९ हजार ३ सय ७४ र महिला ८ हजार ८ सय ७ जना छन्।
सर्वेक्षणबाट तलब ज्याला लिने (स्थायी कामदार) जम्मा ३ हजार २ सय ४४ जना रहेकामा पुरुष १ हजार ९ सय १७ र महिला १ हजार ३ सय २७ जना छन्। सर्वेक्षणबाट अस्थायी कामदार (व्यक्ति-दिन) जम्मा ३० लाख ९५ हजार २ सय ८४ व्यक्ति-दिन रहेकामा पुरुष अस्थायी कामदार ७ लाख ८६ हजार १ सय २० व्यक्ति-दिन र महिला अस्थायी कामदार २३ लाख ९ हजार १ सय ६४ व्यक्ति/दिन रहेको देखिन्छ।
१४ जिल्लामध्ये पाँच जिल्लामा चिया उत्पादन बढी हुन्छ भने बगान र किसान संलग्नताअनुसार इलाम सबैभन्दा अगाडि रहेको प्रतिवेदनमा उल्लेख छ। इलाममा पाँच हजार पाँच सय ९८ चिया बगान छन्।
सर्वेक्षणअनुसार ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर र रामेछाप गरी १४ जिल्लामा व्यावसायिक चिया खेती हुँदै आएको छ।
१४ जिल्लामध्ये पाँच जिल्लामा चिया उत्पादन बढी हुन्छ भने बगान र किसान संलग्नताअनुसार इलाम सबैभन्दा अगाडि रहेको प्रतिवेदनमा उल्लेख छ। इलाममा पाँच हजार पाँच सय ९८ चिया बगान छन्।
२०७५ को सर्वेक्षणअनुसार इलाममा तीन हजार तीन सय ९३ हेक्टरमा चिया खेती हुँदै आएको छ भने झापामा सात हजार एक सय ९५ हेक्टर छ। झापामा जम्मा एक हजार ६ सय १ चिया बगान छन्। चिया बगान र क्षेत्रफलको आधारमा तेस्रो नम्बरमा पाँचथर छ। पाँचथरमा सात सय ७२ बगानले ६ सय ७४ हेक्टर क्षेत्रफल ओगटेको देखिएको छ। नयाँ सर्वेक्षण आएको छैन।
बोर्डका अनुसार अहिले देशभरकै क्षेत्रफल विस्तार भएको छ। इलाममा तीन हजार तीन सय ९३ हेक्टरमा चिया खेती फैलिएको छ भने झापामा सात हजार एक सय ९५ हेक्टरमा चिया खेती हुने सर्वेक्षणले देखाएको छ।
सर्वेक्षणअनुसार २०५० दशकमा सबैभन्दा बढी चिया खेती विस्तार भएको छ। यस अवधिमा झन्डै ५४.६ प्रतिशतले चियाको क्षेत्रफल र उत्पादनमा वृद्धि भएको हो। यसपछि २०६० दशकमा २७ र २०७० पछि १.९ प्रतिशतले मात्रै विस्तार भएको छ। २०४० को दशकमा १४.४ र २०४० अघि २.२ प्रतिशत चिया खेती हुने गरेको थियो।
बोर्डका अनुसार अहिले विस्तारै क्षेत्रफल र चिया उत्पादन दुवै बढ्दै गएको देखिन्छ। चालू आथिक वर्षमा चिया उत्पादन अझै बढ्ने अनुमान बोर्डको छ। बोर्डका प्रवक्ता डा. दीपक खनालका अनुसार बर्सेनि चिया खेतीमा किसान आकर्षण बढ्दै गएकाले यो वर्ष पनि उत्पादन बढ्ने अपेक्षा छ। ‘चिया उत्पादन ट्रेन्ड हेर्ने हो भने बढ्दो क्रममै छ। यस वर्ष पनि बढ्ने हाम्रो अनुमान हो। भर्खरै पहिलो टिपाइ सुरु भएकाले अहिले नै यति फल्यो भन्न सकिँदैन,’ खनालले भने।
रासायनिक मल प्रयोगले समेत चिया राम्रो फल्ने घले बताउँछन्। राज्यबाट अनुदानमा दिने सामग्री सहज रुपमा उपलब्ध गराइए किसानलाई खेती गर्न थप प्रोत्साहन मिल्ने उनको भनाइ छ।
यसैगरी कन्याम भ्याली चिया उद्योग इलामका सञ्चालक छत्र घलेले पनि चिया उत्पादन बढ्दै गएको बताएका छन्। प्रांगारिक मलखाद तथा जैविक कीटनाशक औषधी प्रयोगसँगै चिया उत्पादनमा वृद्धि भएको उनको भनाइ छ।
सर्वेक्षणअनुसार चिया खेतीमा ४० देखि ६० वर्ष उमेर समूहका मान्छेको बाहुल्य छ। व्यावसायिक चिया खेती गर्ने सञ्चालकमध्ये २० वर्षदेखि ४० वर्ष उमेर समूहका २९.५ प्रतिशत, ४० वर्षदेखि ६० वर्ष उमेर समूहका ५२.७ प्रतिशत ६० वर्ष देखि ८० वर्ष उमेर समूहका १६.६ प्रतिशत र १.२ प्रतिशत सोभन्दा माथिको उमेर समूहका रहेको देखिन्छ।

रासायनिक मल प्रयोगले समेत चिया राम्रो फल्ने घले बताउँछन्। राज्यबाट अनुदानमा दिने सामग्री सहज रुपमा उपलब्ध गराइए किसानलाई खेती गर्न थप प्रोत्साहन मिल्ने उनको भनाइ छ।
‘मैले वार्षिक ५० टन बढी चिया फलाउँछु। राम्रो हावापानी भए योभन्दा माथि पनि हुन्छ। राज्यबाट उपेक्षित भइएको छ’, भ्याली चिया उद्योग सञ्चालक घलेले भने, ‘पछिल्लो समय चिया उत्पादन बढेको छ। किसानको मिहिनेत, अर्गानिक मल प्रयोग बढेपछि चिया राम्रो फल्न थालेको हो। योसँगै अहिले चिया खेतीमा युवा आर्कषण बढेको छ। यसले पनि चिया उत्पादनमा टेवा पुग्छ होला।‘
सहकारी संस्था र फार्म स्थानीय तहको सिफारिसमा डिलर दर्ता गरी रासायनिक मल बिक्री वितरण गर्ने कानुनी व्यवस्था छ।
उनका अनुसार उत्पादित तयारी चिया निर्यातमा भारतीय पक्षबाट पटक–पटक अवरोध हुन्छ। नेपालमा उत्पादित चियाको प्रमुख बजार भारत हो। तर, भारतसँग समन्वय गर्ने निकाय छैन। त्यसको अभावमा भारतीय व्यापारीले तोकेको मूल्यका आधारमा नेपाली उद्योगी, व्यवसायी दशकौंदेखि चिया बिक्री गर्न बाध्य छन्। चियाको गुणस्तर परीक्षण गर्ने ल्याब छैन। ल्याब नहुँदा हप्तौंसम्म चिया बोकेका कन्टेनर पूर्वी नाका काँकडभिट्टामा राखेर भारतको कोलकाता पुगेर चिया परीक्षण गर्नुपर्ने बाध्यताबाट गुज्रिनुपरेको घलेको भनाइ छ।

साना चिया किसान संगठित भई सहकारी माध्यमबाट चिया खेती तथा कारखाना सञ्चालन गर्दै आएका छन्। सहकारी ऐनअन्तर्गत रहेर चिया खेती र उद्योग सञ्चालन गरे पनि किसानले सहकारी ऐनमा उल्लिखित कर, भन्सार, राजस्व छुट सुविधा प्राप्त गर्न सकेका छैनन्।
साना चिया किसानले सहकारी संस्थाबाट उत्पादित तयारी चिया बजारीकरणका लागि खाद्य अनुज्ञापत्र पाएका छैनन्। उनीहरुले ब्रान्डिङ, लेबलिङ गरेर तयारी चिया बिक्री वितरण अनुमति पाएका छैनन्। सहकारी संस्था र फार्म स्थानीय तहको सिफारिसमा डिलर दर्ता गरी रासायनिक मल बिक्री वितरण गर्ने कानुनी व्यवस्था छ। तर, चिया सहकारीले मलका लागि डिलर दर्ता गर्न नपाएको किसान गुनासो छ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको उच्च माग
अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग उच्च रहेकाले किसान चिया खेतीमा आकर्षित छन्। अहिले नेपालमा उत्पादित सिटिसी, अर्थोडक्स र ग्रीन चिया ५० प्रतिशत अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता डा. खनालले जानकारी दिए। अहिलेसम्म नेपाली चिया नपुगेका मुलुकबाट समेत यहाँको चिया माग हुन थालेपछि किसानले उत्पादन बढाउँदै लगेको उनको भनाइ छ। भारतको दार्जिलिङमा उत्पादित चियाभन्दा नेपालको गुणस्तरयुक्त भएकाले अन्तर्राष्ट्रिय माग बढेको डा. खनालको दाबी छ।
नेपाल टी एसोसिएसनका अध्यक्ष कमल मैनाली अहिले विदेशी बजारमा अर्गानिक चिया माग बढ्दै गएको बताउँछन्। उनका अनुसार सिटिसी चिया भारत हुँदै अन्तर्राष्ट्रिय बजारमा गए पनि अर्थोडक्स नेपाली उद्योगीले सीधै विदेशमा बिक्री गरिरहेका छन्।
विश्व बजारमा नेपालले बर्सेनि अर्बौं रुपैयाँको चिया निर्यात गर्दै आएको छ। सोहीअनुसार गत वर्ष नेपालले १० हजार १७८ टन चिया विदेश निर्यात गरेको भन्सार विभागको पछिल्लो तथ्यांकमा उल्लेख छ।
नेपालमा पनि सिटिसी चिया खपत विस्तारै बढ्दै गएको छ। सिसिटी चियाको मुख्य बजार भारत रहे पनि अर्थोडक्स भारतसहित अमेरिका, फ्रान्स, जर्मनीलगायत मुलुकमा निर्यात भइरहेको अध्यक्ष मैनालीले बताए। नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले समेत पर्यटकीय क्षेत्रबाट चिया लैजाने गरेका छन्। अर्थोडक्स चिया इलाम, पाँचथर, धनकुटालगायत क्षेत्रमा उत्पादन हुन्छ।
उनका अनुसार चियाको दररेट किसान आफैंले निर्धारण गरेर बिक्री गर्दै आएका छन्। सिटिसी प्रतिकिलोको ६ सयदेखि १ हजार रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ। अर्थोडक्स प्रतिकिलो ८ सयदेखि १५ हजार रुपैयाँसम्म बिक्री हुने उनले जानकारी दिए। झापामा उत्पादित सिटिसी चिया ५० प्रतिशत भारतमा निर्यात हुने उल्लेख गर्दै उनले भने, ‘आन्तरिक र बाह्य बजारमा नेपाली चिया माग बढेको छ। सरकारले चियाको न्यूनतम मूल्य निर्धारण नगरिदिँदा किसान मर्कामा परेका छन्।’
नेपालले कति गर्छ चिया निर्यात
विश्व बजारमा नेपालले बर्सेनि अर्बौं रुपैयाँको चिया निर्यात गर्दै आएको छ। सोहीअनुसार गत वर्ष नेपालले १० हजार १७८ टन चिया विदेश निर्यात गरेको भन्सार विभागको पछिल्लो तथ्यांकमा उल्लेख छ। नेपालबाट विदेशमा निर्यात हुने प्रमुख १० उत्पादनमा चिया पनि एक हो।
नेपालमा अर्गानिक र पराम्परागत गरी दुवै विधिबाट अर्थोडक्स र सिटिसी चिया उत्पादन गरिन्छ। विशेषगरी झापामा उत्पादन हुने सिटिसी चियामध्ये ९० प्रतिशत निर्यात हुन्छ। यसको मुख्य बजार अमेरिका, युरोपेली देश, जापान, जर्मन, क्यानाडालगायत हुन्। वासनादार र स्वास्थ्यवर्द्धकका साथै महँगो पर्ने भएकाले विकसित देशमा निर्यात हुने गरेको नेपाल टी एसोसिएसनका अध्यक्ष मैनालीले जानकारी दिए।
इलाम, पाँचथर, धनकुटालगायत जिल्लामा अर्थोडक्स चिया उत्पादन हुने गर्छ। उक्त चिया नेपालमै खपत हुनुका साथै भारत, पाकिस्तान, बंगलादेशलगायत मुलुकमा निर्यात हुने उनले बताए। विगत ६ वर्षको तथ्यांक हेर्दा चिया निर्यातले विस्तारै विश्व बजारमा उपस्थिति जनाउँदै गएको छ।
पछिल्लो समय चिया उत्पादनमा भएको वृद्धि र गुणस्तर सुधारका कारण निर्यात बढेको अध्यक्ष मैनालीको दाबी छ। यस्तै, कन्याम भ्याली चिया उद्योग इलामका सञ्चालक घलेले भारतमा उत्पादन घटेपछि निर्यात बढेको जानकारी दिए।
नेपालबाट तयारी अवस्थाको चिया भारतीय बजारमा पठाइने भए पनि कतिपय अवस्थामा गैरकानुनी रुपमा हरियो पत्ती बिक्री गर्ने गरिएको चिया किसान टीकाराम अधिकारी बताउँछन्।
उनले भने, ‘यहाँको पहाडी भेगमा फल्ने चिया र भारतको दार्जिलिङमा फल्ने चिया एउटै भएकाले निर्यात बढेको हुन सक्ने मेरो बुझाइ हो। अहिले भारतमा त्यति राम्रो चिया उत्पादन हुँदैन। त्यसैले पनि हाम्रो चिया विश्वभर पुग्न सफल भएको हो। यति मात्र होइन, यहाँको चियाको गुणस्तर पनि एकदम राम्रो मानिन्छ।’
नेपालबाट तयारी अवस्थाको चिया भारतीय बजारमा पठाइने भए पनि कतिपय अवस्थामा गैरकानुनी रुपमा हरियो पत्ती बिक्री गर्ने गरिएको चिया किसान टीकाराम अधिकारी बताउँछन्।
किन घट्यो आयात
नेपालमा चिया उत्पादन बढेसँगै आयात घटेको छ। भन्सार विभागका अनुसार ६ वर्षको अवधिमा चिया आयात खुम्चिएको छ। चिया निर्यातको तथ्यांक उल्लेख्य रुपमा बढ्न नसके पनि चिया आयात घट्नुलाई सकारात्मक रुपमा लिन सकिने चिया उद्यमी अधिकारी बताउँछन्।

अघिल्लो आर्थिक वर्षमा नेपालले १२ करोड ९१ लाख रुपैयाँको चिया आयात गरे पनि गत आवमा सो रकम २ करोडमा खुम्चिएको भन्सार विभागले जनाएको छ। चिया आयात हुने प्रमुख देशमध्ये सबैभन्दा बढी भारतबाट हुन्छ। तर, भारतको दार्जिलिङमा चिया उत्पादन घट्नुका साथै नेपालका पहाडी भेगमा फल्ने चियाको स्वाद एउटै हुनुले आयात घटेको उद्यमी बताउँछन्।
अन्य देशबाट आउने चियाभन्दा अर्गानिक स्वदेशी उत्पादन स्थानीय बजारमै खपत हुन थालेपछि आयात घटेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको दाबी छ।
के भन्छन् किसान र उद्यमी
सबैजसो उद्यमी, व्यापारी र किसानका आ–आफ्नै गुनासा छन्। त्यसमा चिया उद्योग पनि अछुतो छैन। मूलतः संघीय सरकारअन्तर्गत चिया तथा कफी विकास बोर्ड छ। बोर्ड अधिकारसम्पन्न भए पनि साधन–स्रोत छैनन्।
सरकारले चिया किसानलाई सहुलियत कर्जामा समेत विभेद गरेको उल्लेख गर्दै सिद्धकाली चिया उद्योग सञ्चालक दुर्गाबहादुर गिरिले ११ प्रतिशत ऋणमा व्यवसाय चलाइरहेको बताए।
चिया उत्पादन बढ्यो। तर, किसानले पाउने सेवा–सुविधा बढेन। चिया उद्यमीलाई न केन्द्र सरकारले चिन्छ न प्रदेश सरकारले। सरकारबाट पाउनुपर्ने सेवा–सुविधा नभएकै कारण किसान मर्कामा परेको इलाममा चिया खेती गर्दै आएका किसान टीकाराम अधिकारी बताउँछन्। वर्षभर दुःख गरेर उत्पादन गरिएको चिया बजारीकरणका लागि पनि समस्या रहेको उनको गुनासो छ।
सरकारले चिया किसानलाई सहुलियत कर्जामा समेत विभेद गरेको उल्लेख गर्दै सिद्धकाली चिया उद्योग सञ्चालक दुर्गाबहादुर गिरिले ११ प्रतिशत ऋणमा व्यवसाय चलाइरहेको बताए। चिया किसानलाई सरकारले सस्तो ब्याजमा ऋण उपलब्ध गराए खेती विस्तारमा सघाउ पुग्ने बताउँदै उनले भने, ‘किसानका लागि राज्यले के गरेको छ? त्यसमाथि राज्यले साना किसानलाई समेत व्यवसाय, जिल्ला निकासीलगायत विभिन्न खाले कर लिइरहेको छ। सोही कारण चिया उद्यमी मारमा परेका छन्। जसरी उत्पादन बढ्यो, त्यसरी राज्यले पनि किसानको माग सम्बोधन गरेको भए विश्वभर चिया पु¥याउन सहज हुने थियो। तर, राज्यको यसमा ध्यान पुगेन।’
चिया खेतीका लागि कामदार अभावले भारतको दार्जिलिङबाट कामदार ल्याउनुपरेको उनले बताए। उनीहरुको मागअनुसार सेवा–सुविधा दिनसमेत कठिन हुने गरेको उनको भनाइ छ। स्वदेशमै लगानी गर्ने उद्देश्यका साथ वैधानिक रुपमै चिया खेती गरिए पनि सोहीअनुसारको सेवा–सुविधा लिन नसकिएको उनको गुनासो छ। साथै, चिया श्रमिकले श्रम ऐनअन्तर्गतका सुविधा पाउन नसकेको गिरिको दाबी छ।
‘चियाबारीमा काम गर्ने कामदार अभाव छ। हामीले दार्जिलिङबाट कामदार ल्याउँछौंं। उनीहरुका मागअनुसार सेवा–सुविधा दिनुपर्छ,’ उनले भने, ‘हामीले वैधानिक रुपमै चिया खेती र उद्योग सञ्चालन गरे पनि छुट सुविधा पाउन सकेका छैनौं। यति मात्र होइन, सरकारले चियाको समर्थन मूल्य पनि तोकिदिएको छैन। किसान आफैंले दररेट तोक्छन्। सोही मूल्यमा बजारमा पठाउँछौं। चिया श्रमिकले श्रम ऐनअन्तर्गतका सुविधा पाएका छैनौं।’
चिया बिरुवा रोपेको तीन वर्षमै फल्न थाल्छ। यसको खेती समुद्री सतहबाट हजार मिटरभन्दा कम उचाइमा हुन्छ। बोर्डका अनुसार अहिले १५ हजार किसानले चिया खेती गरिरहेका छन्। चियाको पहिलो टिपाइ कात्तिक–मंसिर र दोस्रो फागुन–चैतमा हुने गर्छ।
यस्तो छ चियाको इतिहास
चीनबाट घरेलु उत्पादनको रुपमा सुरु भएको चिया १६औं शताब्दीमा चीन, कोरिया र जापानलगायत देशमा व्यापारिक खेती गर्न सुरु गरिएको इतिहासमा उल्लेख छ। त्यसपछि पोर्चुगलका व्यापारीले पश्चिमी मुलुकतिर पनि यसको प्रचार, खेती व्यवसाय सुरु गर्न थाले। पहिला चीनका महिलाले घरैमा चियामा चिनी वा अन्य गुलियो पदार्थ मिसाएर खान थालेका हुन्। यसरी नै चिया खेती विश्वभर फैलिएको बताइन्छ।
पहिलो चिया प्रशोधन कारखाना सन् १९७८ मा इलामको कन्याममा नेपाल चिया विकास निगमको रुपमा स्थापना भएको हो।
नेपालमा चिया खेतीको सुरुआत आजभन्दा १६० वर्ष अघिदेखि भए पनि यसको व्यावसायिकीकरण २०औं शताब्दीको उत्तराद्र्धदेखि सुरु भएको मानिन्छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार पहिलो व्यावसायिक चिया बगान झापामा बुधकरण चिया स्टेटले सुरु गरेको थियो। पहिलो चिया प्रशोधन कारखाना सन् १९७८ मा इलामको कन्याममा नेपाल चिया विकास निगमको रुपमा स्थापना भएको हो।

सरकारले पूर्वी नेपालका पाँच जिल्लालाई चिया क्षेत्रका रुपमा घोषणा गरेको छ। झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम चिया क्षेत्र घोषणा भएका जिल्ला हुन्। अहिले ती क्षेत्रबाट व्यावसायिक तथा गुणस्तरीय चिया उत्पादन गरी विभिन्न देशमा निर्यात गर्दै नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ।
चिया नेपालको उच्च मूल्यमा निर्यात हुने प्रमुख कृषिजन्य उपज हो। बोर्डको तथ्यांकअनुसार नेपालमा करिब १५ हजारभन्दा बढी साना किसान चिया खेतीमा आबद्ध छन्। तिनले विभिन्न क्षेत्रमा उद्योग सञ्चालन गरेर लगभग ७० हजार मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी दिँदै आएका छन्। बोर्डका अनुसार मुलुकभरि १ सय २४ बगान र ४० प्रशोधन कारखाना सञ्चालित छन्। यसमध्ये २५ वटा सिटिसीका र १५ वटा अर्थोडक्सका कारखाना छन्।
यी हुन् नेपालमा फल्ने चिया
देशमा चिया खेती बर्सेनि बढ्दो छ। पछिल्लो तथ्यांकमा देशका ३१ बढी जिल्लामा चिया खेती विस्तार भएको बोर्डका प्रवक्ता दीपक खनालले बताए। नेपालमा अर्थोडक्स र सिटिसीका साथै थरीथरीका चिया उत्पादन हुने गरेको छ। यसमा ग्रीन टी, सिल्भर टी, एल्लो टी, ब्ल्याक टी, ह्वाइट टी रहेका छन्।