काठमाडौं । भारतीय अटो कम्पनी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले एसएमएल इसुजु लिमिटेडको बहुमत स्वामित्व खरिद गर्ने घोषणा गरेको छ । कुल पाँच अर्ब ५५ करोड भारुमा इसुजुको ५८.९६ प्रतिशत स्वामित्व खरिद गर्न लागेको महिन्द्रा एन्ड महिन्द्राले जनाएको छ ।
महिन्द्रा एन्ड महिन्द्राले संस्थापक सेयरमध्ये एक सुमितोमो कर्पोरेसनबाट एसएमएलको ६३ लाख ६२ हजार कित्ता सेयर खरिद गर्नेछ । प्रतिकित्ता ६५० भारुमा एसएमएलको सेयर खरिद गर्ने बताइएको छ । यसको कुल रकम चार अर्ब १३ करोड ५५ लाख भारु बराबर हुनेछ ।
यो एसएमएलको कुल सेयर होल्डिङको लगभग ४३.९६ प्रतिशत हो । महिन्द्रा एन्ड महिन्द्राले बम्बई स्टक एक्सचेन्ज लिमिटेडलाई एसएमएलको बहुमत स्वामित्व खरिद गर्न लागेको जानकारी दिएको हो । यसका साथै, आनन्द महिन्द्राको स्वामित्वमा रहेको कम्पनीले इसुजु मोटर्सबाट थप प्रतिकित्ता ६५० भारुमा २१ लाख ७० हजार कित्ता सेयर वा एसएमएलको इक्विटीको १५ प्रतिशत प्राप्त गर्ने भएको छ । यस सम्झौताको मूल्य लगभग एक अर्ब ४१ करोड भारु हुनेछ ।
प्रस्तावित अधिग्रहण ३.५ टन भन्दा बढीको सीभी सेग्मेन्टमा बलियो उपस्थिति स्थापित गर्ने दिशामा एक कदम हो । जहाँ आज महिन्द्रा एन्ड महिन्द्राको ३ प्रतिशत बजार हिस्सा छ । जबकि ३.५ टन एससीभी खण्डमा ५२ प्रतिशत बजार हिस्सा छ । महिन्द्राको ट्रक तथा बस डिभिजनले विगत केही वर्षमा अर्थपूर्ण प्रगति गरेको छ ।
यस अधिग्रहणले बजार हिस्सा दोब्बर गरी ६ प्रतिशत बनाउनेछ । जसलाई आउँदो सन् २०३१ सम्म १० देखि १२ प्रतिशत र सन् २०३६ सम्ममा २० प्रतिशत पुर्याउने योजना रहेको महिन्द्रा समूहका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. अनिश शाहले जानकारी दिए ।
“एसएमएल इसुजुको अधिग्रहणले हाम्रा उदीयमान व्यवसायमा पाँचगुणा वृद्धि हासिल गर्ने महिन्द्रा समूहको दृष्टिकोणमा एउटा महत्त्वपूर्ण कोसेढुंगा हुनेछ,” उनले भने “यो हाम्रो पुँजी विनियोजन रणनीतिसँग पूर्णरूपमा मेल खान्छ, जहाँ हामी उच्च सम्भाव्य क्षेत्रमा लगानी गर्छौं, जसले बलियो प्रदर्शन र जित्ने स्पष्ट अवसर प्रदर्शन गर्दछ,” उनले थपे ।
यो अधिग्रहण व्यावसायिक सवारीसाधन क्षेत्रमा शक्तिशाली खेलाडी बन्ने महत्त्वाकांक्षातर्फ एक महत्त्वपूर्ण कदम भएको उनको तर्क छ ।
“यसले हामीलाई बजार कभरेज बढाउन, प्लेटफर्महरू एकीकृत गरेर सञ्चालन दक्षता सुधार गर्न, आपूर्तिकर्ता र डिलर नेटवर्कहरूलाई एकीकृत गर्न र उत्पादन क्षमताको राम्रो प्रयोग गर्न मद्दत गर्ने छ,” उनले भने ।
महिन्द्रा गाडी नेपालमा अधिक रुचाइएको मध्येमा पर्छ । महिन्द्राको नेपालमा बजार हिस्सा राम्रो छ । पछिल्लो समय एसएमएलले पनि बजार हिस्सा बढाइरहेको छ ।