काठमाडाैं। स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको पुलबजार क्षेत्रमा स्थानीयको अवरोधका कारण काम ठप्प अवस्थामा छ। डेढ महिनादेखि उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा विस्तार रोकिएको सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ।
निर्माणाधीन सडकखण्डको पुलबजार क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अवरोध जनाएपछि डेढ महिनादेखि विस्तार रोकिएको हो। सेन्टर लाइनबाट दायाँबायाँ ७५/७५ फिट (१५० फिट)मध्ये पनि १४० फिटमा काम भइरहेकोमा स्थानीयले दुवैतर्फका घरमा बराबर छुट्याउनुपर्ने माग गर्दै निर्माण अवरुद्ध पारेको जनाइएको छ।
“हामीले सडकको डिजाइनअनुसारनै सडकको बीचबाट बराबर छुट्याउने हो, स्थानीयले घरको दूरीमा बराबर गर्नुपर्छ भन्दै विवाद सिर्जना गरेपछि निर्माणकार्य रोकिएको हो”, आयोजनाका इञ्जिनियर विष्णु खनालले भने।
उनका अनुसार यसअघि विभिन्न निकायको समन्वयमा अवरोध हटाउन प्रयास गरिए पनि मङ्गलबार बनेपा नगरपालिकाका जनप्रतिनिधि र स्थानीयबीचको छलफल पनि बिनानिष्कर्ष टुङ्गिएको छ।
पुलबजार क्षेत्रमा अवरोधका कारण बनेपाको मुख्य सहर क्षेत्रमा समेत निर्माण रोकिएको हो। इञ्जिनियर खनालका अनुसार सहरको पूर्वीतर्फको चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकको डल निर्माण भइरहे पनि अन्य कार्य ठम्म नै रहेको छ।
पुलबजार क्षेत्रको अवरोध तत्काल हटाएर विस्तार कार्यलाई अघि नबढाइए वर्षाअघि कामले निरन्तरता नपाउने खनालको भनाइ छ। अन्य स्थानमा भने काम तीव्र रुपमा नै भइरहेको उनले बताए।
उनका अनुसार धुलिखेल क्षेत्रमा कामले गति लिइरहेकाले हाल एक किमी क्षेत्रमा वाल, ड्रेन, पेवमेन्टको काम सकेर केही दिनमै सडक कालोपत्रको तयारी भइरहेको छ।
पुलबजार क्षेत्रमा भने स्थानीयको अवरोधसँगै मापदण्डभित्रका घरटहरा हटाउनुपर्ने,बिजुलीको पोल विस्तार,अप्टिकल फाइबर, हाइटेन्सनका पोलहटाउनुपर्ने काम रोकिएको जनाइएको छ। आयोजनाका अनुसार साँगा–धुलिखेल सडकखण्ड अन्तरगत नासिकास्थानमा दुई,भैँसीपाटीमा तीन,जनागालमा दुई,बुडोलमा एक र २८ किलोमा एक गरी नौ वटा घर–टहरा हटाउनुपर्नेछ।