काठमाडाैं। नवलपुरको कावासोती–१७ का वडा सदस्य मीनबहादुर महतोले मेवाखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्। पछिल्लो समय उनले मेवा लगाएको खेतमा मेवा पाकेर पहेँलपुर भएको छ। मेवा टिपेर बजार पठाउन उनी अहिले व्यस्त हुन्छन्।
तीन बिघामा मेवाखेती गरेका महतोले अहिले ६० टन मेवा बिक्री गरिसकेका छन्। मेवा बिक्रीबाट करिब १८ लाख आम्दानी गरेको उनले बताए। मेवाको बिक्रीमा खासै समस्या नभएको उनको भनाइ छ। उत्पादन भएको मेवा मुख्यगरी वीरगन्जमा खपत हुने गरेको छ।
वीरगन्जका व्यापारीले आफूले उत्पादन गरेको मेवा सबैजसो माग गरेअनुसार पठाउँदै आएको उनको भनाइ छ। केही मेवा काठमाडौं पनि बिक्री गरेको महतोले बताए।
गत वर्ष चैतमा नयाँ बिरुवा लगाएका महतोले असोजबाट बिक्री सुरु गरेका हुन्। असोजबाट फल पाक्न थालेको अहिलेसम्म लगातार बजारमा पठाउँदै आएका छन्।
“मेवा बिक्रीका लागि बजारको खासै समस्या छैन, उत्पादन भएको मेवा बजारमा गएकै छ, अझ धरानबाट पनि मेवाका माग थियो, तर त्यता पठाइनँ वीरगन्जमै खपत भएको छ”,उनले भने।
मेवा प्रतिकेजी ३० देखि ४० रुपैयाँसम्ममा बिक्री हुने गरेको किसान महतोले बताए। मेवाखेतीमा करिब १३ लाख खर्च भएको र यो याममा हालसम्म करिब पाँच लाख फाइदा लिइसकेको उनले बताए।
अझै फल लाग्ने र पाक्ने क्रम जारी रहेकाले असारसम्म बिक्री हुने उनले बताए। उक्त समयसम्म करिब २०–२१ लाखको मेवा बिक्री हुने उनको अनुमान छ। यसले आम्दानी पनि बढाउने उनले बताए।
मेवाखेतीका लागि कावासोती नगरपालिकाले तीन लाखसम्मको अनुदान उपलब्ध गराएको महताेकाे भनाइ छ। मेवाखेती गर्नुअघि उनले उक्त जग्गामा खरबुजाखेती गरेका थिए।