काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विचौलियाको पहुँच प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम)सम्म हुने बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले निजी क्षेत्र र विचौलिया फरक हुने बताउँदै अहिलेको अर्थतन्त्रको समस्या विचौलियाले गर्दा आएको दाबी गरे।
‘प्राइभेट सेक्टर र विचौलिया भनेको फरक कुरा हो, हाम्रो इकोनोमिमा अहिले समस्या भएको विचौलियाका कारणले हो,’ उनले भने, ‘विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो, मलाई अहिलेसम्म थाहा थिएन।’
यस्तै, महामन्त्री थापाले पहिला राष्ट्र बैंकको गभर्नरबारे कौतुहलता हुने गरेको भए पनि अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस हुने गरेको भन्दै दुःख व्यक्त गरे।
‘पहिला राष्ट्र बैंकको गभर्नरबारे छलफल हुँदै गर्दा गभर्नर यो बन्ला की त्यो बन्ला, गभर्नर यसले बनाउला की त्यसले बनाउला की? भन्ने कुरा हुन्थ्यो, अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस हुने भनेपछि हामी कहाँनेर पुग्यौँ?,’ उनले भने।
महामन्त्री थापा कांग्रेस-एमालेको गठबन्धन सरकार चलाउने संयन्त्रमा छन्। यसअघि उनले सरकारले काम गर्न नसकेको भन्दै आक्रोश हुँदै आएका थिए।