काठमाडौं। महेन्द्रनगरस्थित कभर्डहल परिसरमा निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव भएको छ।
प्रशिक्षण कक्ष नहुँदा खेलाडीहरुलाई नियमित अभ्यासमा समस्या हुने गरेको छ भने अन्य खेलको प्रशिक्षण कक्षमा आश्रय लिनु परेको कुस्ती प्रशिक्षक राजेन्द्रबहादुर चन्दले बताएका छन्।
“कुस्तीका खेलाडीहरुले अन्य खेलको प्रशिक्षण केन्द्रमा आश्रय लिनुपरेको छ”, प्रशिक्षक चन्दले भने, “अहिले बिहान र साँझ समय मिलाएर प्रशिक्षण गरिरहेका छौं।” तेक्वान्दोमा सबैभन्दा बढी पदक ल्याउनेमा कञ्चनपुरकै खेलाडी छन् तर उनीहरुका लागि प्रशिक्षण केन्द्र निर्माण भने हुन नसकेको उनको भनाइ छ।
कुस्ती प्रशिक्षण केन्द्र निर्माणका लागि गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारबाट १० लाख बजेट आए पनि तीन लाख ‘फ्रिज’ भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ। साथै चालु आवमा भने बजेट विनियोजन नै नभएको उनको भनाइ छ।
जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले बजेट नहुँदा कुस्तीका लागि प्रशिक्षण कक्ष निर्माण हुन नसकेको बताए।
भट्टले भने, “प्रशिक्षण कक्ष नहुँदा खेलाडीहरुले अभ्यासमा समस्या झेल्नु परेको छ।” उनले आगामी आवको बजेटमा यसका लागि बजेट विनियोजनको प्रयास भइरहेको बताए।
जिल्ला खेलकुद विकास समितिका सदस्य विकास महता खेलाडी उत्पादनका लागि सोही अनुसारको पूर्वाधार जरुरी भएको बताए। “कञ्चनपुरमा क्रिकेट, कुस्ती र फुटबललगायतका खेलमा राम्रा खेलाडी उत्पादन भइरहेका छन्, पूर्वाधार निर्माण जरुरी भइसकेको छ,” उनले भने।