काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले १८औं वार्षिकोत्सव अवसरमा डिजिटल बैंकिङ कारोबार लक्षित छुट योजना सार्वजनिक गरेको छ। बैंकले आगामी वैशाख ७ मा वार्षिकोत्सव मनाउँदै छ।
बैंकले वैशाख १ देखि ३१ गतेसम्म १ महिनाका लागि विभिन्न सेवा–सुविधामा छुट र क्यासब्याकलगायत योजना सार्वजनिक गरेको हो।
योजनाअन्तर्गत डेबिट कार्ड प्रयोगकर्ताले पहिलो पटक पस मेसिन वा अनलाइनमार्फत १ हजार रुपैयाँ वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढीमा १८० रुपैयाँ क्यासब्याक पाउनेछन्।
यसैगरी सिटिजन्स मोबाइल बैंकिङमार्फत क्युरआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकका लागि पनि पाँच सय रुपैयाँ वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढीमा १८० रुपैयाँ क्यासब्याक दिइनेछ।
फोन पे मर्चेन्टले आफ्नो व्यावसायिक कारोबार रकम क्युआरमार्फत प्राप्त गर्दा प्रत्येक दिन एक जना मर्चेन्टलाई १ हजार आठ ८ रुपैयाँसम्म क्यासब्याक दिइने बैंकले जनाएको छ।
बैंकले योजना अवधिभरमा इ–कम कार्ड लिई पहिलो पटक टप–अप गर्दा सो टप–अपमा शुल्क नलाग्ने, निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था, स्मार्ट बचत खाता खोली पहिलो पटक मोबाइल बैंकिङ मार्फत मोबाइलमा रिचार्ज गर्दा १५ प्रतिशत वा बढीमा ५० रुपैयाँ क्यासब्याक पाउनेछन्।
बैंकले एक जना मोबाइल बैंकिङ ग्राहकलाई निःशुल्क माउन्टेन फ्लाइट टिकट उपलब्ध गराउनेछ भने वैशाखभर भर्चुअल क्रेडिट कार्ड जारी गर्दा पहिलो वर्षको जारी शुल्कमा पनि ५० प्रतिशत छुट दिनेछ।
हाल बैंकले २०० शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ।