काठमाडौं। बैंक तथा वित्तीय संस्था (लघुवित्तबाहेक)ले ४८ अर्ब बढी खुद नाफा कमाएका छन्। चालू आर्थिक वर्षको ८ महिना अर्थात् फागुनसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले कुल ४८ अर्ब ३० करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएका हुन्।
नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकअनुसार उक्त अवधिमा वाणिज्य बैंकहरुले ४३ अर्ब ४९ करोड ६४ लाख, विकास बैंकले ४ अर्ब ३३ करोड १९ लाख र वित्त कम्पनीले ४७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
समीक्षा अवधिमा वाणिज्य बैंकतर्फ नाफा कमाउनेको पहिलो नम्बरमा नबिल बैंक, दोस्रोमा ग्लोबल आइएमई र तेस्रोमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन्। यी बैंकले ८ महिनामै ४ अर्बमाथि पौने ५ अर्ब रुपैयाँसम्म खुद नाफा कमाएको छ। साथै, उक्त अवधिमा एभरेष्ट बैंकको नाफा ३ अर्ब रुपैयाँ नाघेको छ।
समीक्षा अवधिमा ५ वाणिज्य बैंकले १ अर्ब रुपैयाँ बढी ३ अर्ब रुपैयाँसम्म, ८ वटाको १ अर्ब रुपैयाँ बढी २ अर्ब रुपैयाँसम्म र ३ वटाले १ अर्बभन्दा कम खुद नाफा कमाएका छन्। एक अर्बभन्दा कम नाफा कमाउनेमा कृषि विकास बैंकले ७३ करोड ८० लाख, एनआइसी एसिया बैंकले ८१ करोड ९९ लाख र कुमारी बैंकले ९६ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएका हुन्।
यस्तै, चालू वर्षको फागुनसम्म विकास बैंकतर्फ गरिमा विकास बैंक पहिलो हुँदा मुक्तिनाथ विकास बैंक दोस्रो भएको छ। यी बैंकले वाणिज्य बैंकलाई टक्कर दिँदै नाफा आर्जन गरेका हुन्। उक्त अवधिमा गरिमाले ८३ करोड ४८ लाख र मुक्तिनाथले ७८ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।
उक्त अवधिमा साइन रेसुंगाले ५६ करोड ४८ लाख र कामना सेवा विकास बैंकले ५० करोड ११ लाख रुपैयाँ खुद नाफा कमाउँदा अन्य विकास बैंकको खुद नाफा ४३ करोडभन्दा कम १ लाख रुपैयाँसम्म रहेको छ।
साथै, सोही अवधिमा वित्त कम्पनीतर्फ आइसिएफसी फाइनान्सले १४ करोड २४ लाख र मञ्जुश्री फाइनान्सले १३ करोड ६२ लाख खुद नाफा कमाउँदा अन्य फाइनान्सको नाफा ९ करोड कम ९४ लाख रुपैयाँसम्म छ।
