काठमाडौं। ब्रान्डकै रुपमा स्थापित छ–जुम्ली सिमी। जुम्लाको उत्पादन गाउँदेखि सहरका भान्सासम्म मात्रै होइन, धनाढ्यको मुख्य परिकारभित्र पर्छ। अझ, थकाली खाना खुवाउने रेस्टुराँको प्रमुख मेनु नै जुम्ली सिमी हुने गरेको छ।
पकाउँदा लतक्क पाक्ने यो सिमी स्वादपारखी सबैका लागि प्रिय बनिरहेको छ। यति मात्र होइन, स्वादिलो स्वाद दिने जुम्ली सिमी सहरी भान्सासम्म ग्राहक तान्ने मेसो बनेको छ। बजार माग बढेसँगै मूल्य अकासिएको यो सिमी कर्णाली प्रदेशको विकट जिल्ला जुम्लामा फल्छ। त्यसैले नामै जुम्ली सिमी हो।
अहिले अत्यधिक माग बढेसँगै उत्पादनमा लागेका एक किसान हुन्, स्थानीय खड्ग राना। बिदेसिने लहर चलिरहेका बेला स्वदेशमै बसेर सिमी खेती गर्न थालेको वर्षौं भयो, उनले। सिमी उब्जनी गरेर बर्सेनि न्यूनतम १५ क्विन्टल बेच्छन्। उनले यसबाट तीनदेखि चार लाख रुपैयाँसम्म आम्दानी हुने गरेको खुसी सुनाउँछन्।
सिमीबाट कमाएको आम्दानीले घरको आवश्यकता पूरा गर्दै आएको बताउँदै उनी थप्छन्, ‘यो खेती गर्न लागेको धेरै वर्ष भयो। जुम्ला सिमी खेतीका लागि राम्रो सम्भावनायुक्त जिल्ला हो। यहाँका किसानको रोजाइ सिमी खेती नै हुन्छ। यसबाटै घरका सबै आवश्यकता पूरा गर्छौं। यहीँ खेतीको भरमा हामीले छोराछोरीको राम्रो शिक्षादीक्षाका लागि सहरतिर पढाउन पठाएका छौं।’
पकाउँदा लतक्क पाक्ने यो सिमी स्वादपारखी सबैका लागि प्रिय बनिरहेको छ।
पछिल्लो समय सस्तो भाउ पाउने आसमा किसानको घरघरमै व्यापारी सिमी किन्न पुग्ने गरेका छन्। कतिपय किसान आ–आफू मिलेर सिमी संकलन गरेर बजारसम्म लैजाने गर्छन्। केहीले राम्रो मूल्य पाए घरबाटै बिक्री गर्छन्। यसले गर्दा जुम्ली सिमी नेपालका सबै बजार पुग्ने गरेको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकृत दीपकसिंह धामीले जानकारी दिए। उनका अनुसार सिंगो कर्णालीलगायत सुर्खेत, नेपालगन्ज, काठमाडौं, पोखरा, चितवन, बुटवलको बजारसम्म पुग्छ।
उनले भने, ‘अहिले जुम्लाको सिमी देशबाहिरसम्म पुगेको छैन। तर, राष्ट्रिय बजारमा यसको माग धेरै छ। किसान स्वयं बजार क्षेत्र पुगेर सिमी बिक्री गर्दै आएका छन्। आवश्यक परे व्यवसाय गर्नेहरू गाउँमै आएर सिमी किनेर लग्ने गरेका छन्। यसका लागि सरकारले छुट्टै संकलन केन्द्र खोलेको छैन। किसानलाई प्रेरित गर्न पहल पनि गर्छौं।’
जुम्ली सिमीको नक्कल
जुम्ली सिमीको माग बढिरहँदा रैथाने उत्पादनका नाममा बाहिरी उत्पादन मिसाउने प्रवृत्ति बढिरहेको छ। उत्पादनअनुसार जुम्लामा देशको माग धान्ने गरी सिमी फल्दैन। सोही कारण बाहिरबाट ल्याएको सिमीमा जुम्लाको थोरै मिसाउने र बेच्ने गरेका छन्।
जसका कारण जुम्लाको नाम समेत बदनाम भइरहेको स्थानीय कृषक राना बताउँछन्। सरकारले स्वदेशी सिमी उत्पादनमा ध्यान नदिएकै कारण भारतीय विषाक्त सिमीको नाम पनि जुम्ली भएको उनको गुनासो छ।

सरकारले पकेट क्षेत्र घोषणा गरेर उत्पादनमा फोकस गराउने हो भने यहाँको उत्पादनले देशमा माग मात्रै नभई विदेशसमेत निर्यात हुने उनको भनाइ छ। विदेशी सिमीका कारण जुम्लाको अर्गानिक सिमी मूल्यविहीन भएको उनको गुनासो छ। सिमी उत्पादन गर्न जति गाह्रो छ, त्यति नै बजार व्यवस्थापनमा कठिनाइ भोग्नुपरेको स्थानीय किसानको दुखेसो छ।
घरमै साढे दुई तीन क्विन्टल सिमी थन्किएको बताउँदै रानाले भने, ‘बर्सेनि दुःख गरेर सिमी फलाउँछौं। तर, हाम्रो लोकल सिमीले बजार भाउ पाउँदैन। बाहिरबाट आउने सिमी सहरभरि छ्यापछ्याप्ती पाइन्छ। सरकारले स्थानीय उत्पादनलाई महत्त्व नदिएकै कारण कृषक मर्कामा परेका छन्। अर्गानिक सिमीलाई समयमै बजार पुर्याउन पाए बाहिरबाट आउने नक्कली सिमी माग घट्ने थियो। तर, यसमा स्थानीय, प्रदेश र संघीय सरकार गम्भीर हुन आवश्यक छ।’
यस्तै, जुम्ली सिमी काठमाडौंका विभिन्न स्थानमा पठाउँदै आएका जुम्ला सिंजा गाउँपालिका–१ का गोविन्द्र रावतले पनि भारतीय सिमीलाई जुम्ली सिमीको ट्याग लगाएर बेचबिखन हुने गरेको गुनासो गरे। काठमाडौंस्थित देउती अर्गानिक जुम्लाका सञ्चालकसमेत रहेका उनले जुम्ली सिमीको माग वृद्धिसँगै बाहिरी उत्पादन मिसाउने प्रवृत्ति पनि त्यत्तिकै बढेको बताए।
जुम्लाबाट बर्सेनि करिब १५ हजार केजी सिमी देशका विभिन्न ठाउँ जाने गरेको उनी बताउँछन्। उक्त सिमी १२९ अर्गानिक पसल, ५ वटा थकाली होटल र ३ वटा मार्टमा बेच्दै आएको रावतले बताए। उनका अनुसार राजधानीमा रातो, कालो र सेतो प्रकारका सिमीको माग उच्च छ। अन्य सिमीको तुलनामा जुम्ली सिमीको स्वाद थप स्वादिष्ट हुने उनको तर्क छ।
सरकारले स्वदेशी सिमी उत्पादनमा ध्यान नदिएकै कारण भारतीय विषाक्त सिमीको नाम पनि जुम्ली भएको उनको गुनासो छ।
होलसेल पसल सञ्चालन गरेर १२ वर्षदेखि जुम्लाबाट काठमाडौं सिमी ल्याउने गरेको बताउँदै उनले भने, ‘पहिला बुबाले यो पसल हेर्नुभएको थियो। अहिले मैले चलाइरहेको छु। उहाँले जुम्लाबाट सिमी खरिद गरेर पठाउनुहुन्छ। म काठमाडौंका विभिन्न स्थानमा अर्डरअनुसार दिन्छु। त्यसबाहेक अन्य ठाउँमा खासै जुम्ली सिमी पाइँदैन। जहाँ पाइन्छ, त्यो सबै बाहिरी देशको सिमी हो किनभने हामी जुम्ली सिमी काठमाडौं ल्याउने पहिलो डिलर हौं।’
जुम्ली सिमी संघीय राजधानीमा सञ्चालित बिग मार्टमा भने पाइँदैन। तर, भारतबाट आएको सिमी छ्यापछ्याप्ती पाइन्छ। सस्तो मूल्यमा बिग मार्टमा राखिएका भारतीय सिमीले अर्गानिक जुम्ली सिमीको माग घटाउन थालेको उनको गुनासो छ। ती मार्टले समेत जुम्ली सिमी राख्न नचाहेको स्वीकारेका छन्।
ज्ञानेश्वरस्थित बिग मार्टकी म्यानेजर अस्मिता कार्कीले जुम्ली सिमी महँगो हुँदा बेचबिखन नहुने बताउँछिन्। उनका अनुसार भारतका विभिन्न ठाउँबाट उत्पादित सिमीको मूल्य १५० रुपैयाँ मात्र पर्ने गरेको छ। यसको तुलनामा जुम्ली सिमीको मूल्य महँगो छ।
पोषणयुक्त जुम्ली सिमी
स्थानीय बाली परियोजना र नेपाल बिउ परियोजनाको सहयोगमा राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक), लिबर्ड, नार्क र बायोभर्सिटी इन्टरनेसनलले जुम्लाको सिमीबारे अनुसन्धान गरेका छन्। अनुसन्धानबाट जुम्ली सिमी र बाहिरका सिमीबीचको फरक छुट्याएको थियो।
अनुसन्धानमा सहभागी जीन बैंकका प्रमुख डा. बालकृष्ण जोशीले जुम्ली सिमी पोषणयुक्त भएको बताउँछन्। अन्य सिमीको तुलनामा पाँच गुणाभन्दा बढी पोषण जुम्ली सिमी खाए पाउन सकिने अध्यायनले देखाएको जिकिर गरे। १५ किसिमका रैथाने सिमीमध्ये कालो सिमीको अझै राम्रो स्वाद हुने गरेको बताए। त्यसको माग पनि उच्च नै रहेको उनको भनाइ छ।

उनले भने, ‘केही वर्षअघि जुम्लाको सिमीबारे इन्टरनेशन सहयोगमार्फत हामीले गुणस्तरबारेमा एउटा अनुसन्धान नै गरेका थियौं। त्यो अध्ययनपछि जुम्ली सिमीबारे पुस्तक प्रकाशित गरेका छौं। त्यसमा सिमीको गुणस्तर र फाइदाबारे राम्रो उल्लेख गरिएको छ।’
भौगालिक संकेत चिन्न दिएर मात्र बजारमा बिक्री गर्न उद्योग मन्त्रालयमार्फत आधिकारिक पास माग गर्न पहल गरिएको बताउँदै उनले जुम्ली सिमीको नाममा बजारमा आइरहेका सबै सिमी जुम्ली स्वादअनुकूल नभएको स्पष्ट पारे। यस्तै जुम्ली सिमी उत्पादन र निर्यातमा सरकारले विशेष प्राथमिकता दिए बाहिरी सिमी आयातमा कमी हुने उनको बुझाइ छ।
अनुदान माग
जुम्लाको अधिकांश क्षेत्रमा सिमी खेती हुन्छ। वैशाखमा रोपेको सिमी असारमा स्याहार्न सकिन्छ। साउनमा रोपेको सिमी असोजमा उत्पादन हुन्छ। जुम्लामा एक दर्जन बढी रैथाने जातका सिमी उत्पादन हुन्छन्। ती सिमी कतिपय तरकारी र दाल दुवै रुपमा त कतिपय दालका रुपमा प्रयोग हुन्छन्। मूल्य पाउन थालेपछि बाँझा बारी सबैतिर सिमी छर्न थालिएको छ।
सिमी खेती गर्ने किसानका लागि प्रतिकेजी सिमीमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकृत धामीले जानकारी दिए।
किसान भने अनुदान नपाएको गुनासो गर्छन्। स्याउ सुपरजोन कार्यालय जुम्लाबाट गत वर्ष मात्र अनुदानस्वरुप १ लाख रुपैयाँ पाएको सिमी कृषक बताउँछन्। यस्तो अनुदान सिमी ब्लक क्षेत्र विस्तार गर्न दिइएको उनीहरूको भनाइ छ। त्यस अलावा अनुदानको रूपमा अहिलेसम्म केही नपाएको किसानको गुनासो छ। उनीहरूले जिल्लामा कृषि उत्पादन बढाउन सरकारसमक्ष अनुदान माग गरेका छन्।
बढ्यो सिमी उत्पादन
पछिल्लो समय जुम्लामा सिमी उत्पादन बढेको छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा सिमी उत्पादन ३३ प्रतिशतले पुगेको छ।
यसअघि आर्थिक वर्ष २०८०/८१ मा सिमी उत्पादन ३० प्रतिशत थियो। यसको तुलनामा एक वर्षभित्र ३ प्रतिशतले सिमी उत्पादन वृद्धि भएको तथ्यांकबाट देखिन्छ।
आव २०७९/८० मा जिल्लाभर २१ सय ६० हेक्टरमा सिमी खेती गरिएको थियो। सोही क्षेत्रफलमा लगाइएको सिमी ३५० टन उत्पादन भएको थियो। तर, आव २०८०/८१ मा सिमी खेती थोरै भए पनि बढेको विकास कार्यालय जुम्लाको तथ्यांकले देखाएको छ। सोही आवमा २२ सय हेक्टर क्षेत्रफलमा लगाइएको सिमी उत्पादन ३९ सय ६९ टन पुगेको थियो। विगतका वर्षको तुलनामा आव २०८१/८२ मा सिमी उत्पादनमा वृद्धि भएको छ। यो वर्ष २२ सय ५० हेक्टरमा सिमी खेती गरिएको कार्यालयले जनाएको छ। सोही क्षेत्रफलमा लगाइएको सिमी उत्पादन ५२ सय ६० टन भएको कृषि विकास कार्यालय जुम्लाले बताएको छ।
जुम्लामा विभिन्न रातो र सेतो गरी १५ किसिमका सिमी लगाइने गरेको छ। धेरै मात्रामा सेतो सिमी लगाउने गरेको कृषक राना बताउँछन्। उनका अनुसार सेतो सिमी माग पनि धेरै हुने गरेको छ। यसको मूल्य प्रतिकेजी २१० देखि २२० रुपौयाँसम्म पर्छ। तर, सेतोको तुलनामा रातो सिमी अलि सस्तो हुने गरेको छ। त्यसको मूल्य १९० रुपैयाँ गाउँमै पर्छ। यो सिमी काठमाडौंमा ३०० देखि ३५० रुपैयाँसम्म बिक्री हुने गरेको छ।
धेरै सिमी फल्ने क्षेत्र
जुम्लाको तिला गाउँपालिका सिमी खेतीका लागि योग्य मानिन्छ। अन्य ठाउँभन्दा यहाँ धेरै मात्रामा सिमी फल्ने गरेको किसान बताउँछन्।
तिला गाउँपालिका–१ स्थित रारागाउँमा यस वर्ष अन्दाजी करिब तीन करोड रुपैयाँ बराबरको सिमी उत्पादन भएको कृषक मन्जिते रावतले जानकारी दिए। गत वर्षभन्दा यो वर्ष सिमी उत्पादन ८० प्रतिशतले बढेको उनीहरूको अनुमान छ।
विगत वर्षमा आठ क्विन्टलभन्दा बढी उत्पादन हुन गाह्रो पर्ने गरेको थियो। तर, यो वर्ष बढी खेती गर्नेले १५ क्विन्टल र कम खेती गर्नेले चार क्विन्टलसम्म सिमी उत्पादन गरेका छन्। सिमी बढी उत्पादन हुने वडा–१ मा २९० परिवार छन्।
अहिले रारागाउँ गाउँमै पुगेर व्यापारीले प्रतिकेजी २ सय २० रुपैयाँका दरले सिमी खरिद गर्दै आएको राराका अर्का कृषक मुल्तिसरा बुढा बताउँछिन्। सो वडालाई सिमी उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको छ।
सिमी लगाउने र फल्ने मौसममा वर्षा हुनुका साथै सहज सिँचाइ सुविधाका कारण उत्पादनमा सुधार आएकोे किसानको भनाइ छ। उक्त पालिकाको वडा–१, २, ८ र ९ वडाको ८०० हेक्टर क्षेत्रफलमा सिमीको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्र विकास गर्न सिमी जोन कार्यक्रम सञ्चालन गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।
यी हुन् जुम्ली सिमी
जुम्लामा विभिन्न जातका रैथाने सिमी लगाउने गरिन्छ। यसमा रातो÷लामो सिमी विशेषगरी केही ठाउँमा मात्र लगाउने गरेको स्थानीय किसान बताउँछन्। उनीहरूका अनुसार नियाँपानी, गौतमबडा, गिडीखोलालगायत ठाउँमा सो सिमी पाइन्छ। यो सिमी नरम र लतक्क भएर पाक्छ। यस्तै, कालो लामो सिमी पनि जुम्लाका निश्चित स्थानमा मात्रै पाउँछ। यो सिमी हाँकु, पर्थेनी, गिडीखोला, गौतमबडा, नियाँपानीमा धेरै फल्छ।
यसैगरी जुम्लामा माले सिम, कालो किरबिरे, कलेजी सिमी, कालो मसिनो, खैरो सिमी, सेतो किरबिरे, खैरो छिर्के सिमी, रातो सानो छिर्के सिमी, रातो सानो सिमीलगायत १५ किसिमका सिमी उत्पादन हुने गरेको जीन बैंकका प्रमुख डा. जोशीले जानकारी दिए। उनका अनुसार ती सबै सिमीबाट फरक–फरक स्वाद लिन सकिन्छ।
जुम्लाबाहेक अन्य जिल्लामा पनि सिमी उत्पादन हुने गरेको कृषि विकास मन्त्रालयले जनाएको छ। ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु र पाँचथरमा रातो सिमी पाइन्छ। मन्त्रालयका अनुसार इलाम, तेह्रथुम र धनकुटामा सेतो सानो सिमी तथा खोटाङ, ओखलढुंगा, उदयपुर र झापामा सेतो र रातो सिमी फल्छ। यसैगरी मोरङ, सुनसरीमा खैरो सिमी उत्पादन हुँदै आएको छ। तर, ती सिमी जुम्ली सिमीजस्तो स्वादिष्ट नहुने बताइन्छ।