काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सुन आयात गत आर्थिक वर्षको हाराहारीमा पुगेको छ । यस अवधिमा ३३ सय ७० किलो सुन आयात भएको छ । जबकि गत आर्थिक वर्षमा ३९ सय २५ किलो सुन आयात भएको थियो ।
सुन मात्रै होइन चाँदीको आयात पनि दिन-प्रतिदिन बढदो छ । गत आर्थिक वर्षको ६ महिनामा ३१ हजार किलो चाँदी आयात भएको थियो । तर, चालू आर्थिक वर्षको पहिलो ६ महिनामा गत आर्थिक वर्षको सोही अवधिको भन्दा झन्डै ५ गुणा बढी अर्थात् १ लाख ५७ हजार किलो चाँदी आयात भएको छ । सुनचाँदीको बढ्दो आयातले नेपालीमा सुनचाँदीको आकर्षण पनि वृद्धि हुँदै गएको देखिन्छ ।
भन्सार विभागको तथ्यांकअनुसार साढे ३ वर्षमा ९४ अर्ब ८८ करोड २१ लाख रुपैयाँभन्दा बढीको करिब १७ हजार २३२ किलो सुन आयात भएको छ । विभागका अनुसार पछिल्लो समय घरमा चाँदीका भाडाकुँडा राख्ने प्रचलन बढदै गएकाले यसको आयात पनि बढ्दै गएको हो । साढे ३ वर्षमै ६ लाख ९६ हजार किलो चाँदी आयात भएको छ ।
नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मरत्न बज्राचार्य अन्य समयमा दैनिक ३५ किलो र विवाहको समयमा ५० किलोसम्म सुन आवश्यक पर्ने बताउँछन् । वैधानिक माध्यमबाट हालसम्म कुनै पनि सुनका गरहगना निर्यात नभएको र सबै स्वदेशमै खपत हुने गरेको उनको भनाइ छ ।
नेपालमा सुन खरिद गर्ने प्रचलन बढदै गएको छ । विवाह गर्नेेले कम्तीमा १० तोला सुन किन्ने गरेको उनले बताए । त्यस्तै विदेश गएर फर्किएकाहरूले कि जग्गा किन्ने कि त सुन किन्ने प्रचलन बढेका कारण पनि माग बढदै गएको हो ।
नेपाल प्रतिव्यक्ति आयका हिसाबले दक्षिण एसियाको दोस्रो गरिब राष्ट्र हाे । यसमा नेपाल अफगानिस्तानभन्दा मात्रै माथि छ । तर, सुनचाँदीप्रति भने नेपालीको मोह बढ्दै गएको छ । हाल नेपालको प्रतिव्यक्ति आय ११ सय ९५ डलर छ । यस्तै अफगानिस्तानको ५७० डलर छ ।
राष्ट्रिय योजना आयोगले गरेको अध्ययन प्रतिवेदनमा कोरोना महामारीका कारण नेपालमा १२ लाख गरिबीको रेखामुनी र १६ लाख बेरोजगारी थपिएको उल्लेख छ । साे तथ्यांकले नेपालीको आर्थिक अवस्था निकै कमजोर रहेको देखाए पनि सुनचाँदीजस्ता वस्तुको माग भने बढ्दै गएको छ ।
दैनिक २० किलोसम्म मात्रै सुन आयात गर्न पाउने व्यवस्था भए पनि चाँदीमा कोटा नहुँदा अत्याधिक आयात हुन थालेको भन्दै नेपाल राष्ट्र बैंकले मंसिरदेखि दैनिक ३५ सय डलरबराबरको चाँदीमात्रै आयात गर्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकको सर्कुलरपछि चाँदी आयातमा कठिनाइ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य बताउँछन् ।
यो त वैधानिक माध्यमबाट आयात भएको सुनको तथ्यांक हो । अवैध रूपमा उत्तरी नाकाबाट हजाराैं किलो सुन आयात भई स्वरूप परिवर्तन गरी बाहिर जाने गरेको जानकारहरू बताउँछन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गत पछिल्लो २ महिनामा मात्रै २२४ किलो सुन पक्राउ गरी २२ करोड रुपैयाँ राजस्व संकलन गरेको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराई बताउँछन् ।
२ महिनाको अवधिमा ५ हजार यात्रुसँग उक्त परिमाणको सुन फेला गरेको थियाे । सुरुमा अत्याधिक ल्याउने गरे पनि यात्रुले औसत २ किलो सुन ल्याउने गरेका छन् ।
नेपालमा वाणिज्य बैंकहरूले सुन आयात गर्छन् । व्यवसायी महासंघको सिफारिसमा बैंकबाट सुन खरिदबिक्री हुन्छ । सरकारले काँचो सुन बिक्री वितरण गर्न रोक लगाएका कारण बैंकबाट बाहिरिने सुन सबै गरहगनाको प्रयोजनमा जाने नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।
एकातिर सरकारी तथा गैरसरकारी निकायले गरेका विभिन्न अध्ययनले नेपालीको आर्थिक अवस्था खस्किँदै गएको गरिबी र बेरोजगारी बढ्दै गएको देखाएको छ भने अर्कोतिर सुनचाँदीजस्ता विलासी वस्तुको माग बढ्दै गएको छ । २०७३ सालसम्म दैनिक १५ किलो सुन ल्याउन पाउने व्यवस्था थियो ।
उक्त परिमाणको सुनले माग धान्न नसकेको भन्दै व्यापारीहरूले कोटा बढाउन आग्रह गरेपछि सरकारले १५ किलोबाट बढेर २० किलो पुग्यो । तर, अहिले उक्त परिमाणले पनि नपुगेको भन्दै व्यापारीहरूले ३० किलो पुर्याउनुपर्ने माग गरिरहेका छन् । दैनिक २० किलोका दरले सुन आयात हुँदा समेत नपुग्नाकाे कारण नेपालबाट अवैध रूपमा भारत सुन निकासी हुने गरेको पूर्वगभर्नर दीपेन्द्रबहादु क्षेत्री बताउँछन् ।
भारतमा सुनमा उच्च करका कारण महंगो हुने गरेको भन्दै नेपालबाट गैरकानुनी रूपमा निकासी हुने गरेको उनको भनाइ छ ।
तर, व्यवसायी भने राष्ट्र बैंकको सुनचाँदी वितरण निर्देशिकामा वाणिज्य बैंकहरूले सुन आयात गर्ने र नेपाल सुनचाँदी व्यवसायी महासंघमार्फत देशभर वितरण गरिने हुँदा दुरुपयोग हुनसक्ने सम्भावना कम रहेको बताउँछन् । पूर्वगभर्नर क्षेत्री भने नुन किन्नसमेत हम्मेहम्मे पर्ने देशमा ६ महिनामै ३३ सय केजी सुन आयात हुनुलाई स्वभाविक रूपमा लिन नमिल्ने बताउँछन् । उनी भन्छन्, ‘२०७३ सालदेखि २० केजीका दरले आएको सुनले २ करोड ९१ लाख नेपालीलाई श्रीपेच मात्रै होइन पुरै कपडा बनाउन पुग्छ ।’
अर्का अर्थविद् डा. रघुवीर विष्ट २० किलो सुनले नेपालीलाई नपुगेको बताउँछन् । जसको मुख्य कारण सुन किन्दा स्रोतको खुलाउन नपर्ने भएकोले अवैध रूपमा आर्जेको धनले सुन खरिदबिक्री हुने गरेको उनले बताए ।
नेपालमा हाल ८ हजार भन्दा बढी सुनचाँदी पसल छन् । राष्ट्र बैंक सुन वितरण निर्देशिकामा प्रदेशअनुसार सुन वितरण गरिने उल्लेख गरिएको छ । जसमा बागमतीलाई ५० प्रतिशत र अन्य क्षेत्रलाई ५० प्रतिशत छुट्याएको छ ।
