पोखरा - समाजवादी पार्टीका अध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई सडक संघर्षका लागि तयार रहन निर्देशन दिएका छन्।
शुक्रबार पोखरामा आयोजित समाजवादी पार्टीको प्रादेशिक अभिमुखीकरण कार्यक्रममा उपप्रधानमन्त्री यादवले सरकारले संविधान संशोधन गर्न नचाहेकोले सडक संघर्ष गर्न आवश्यक रहेको बताए। अहिले संशोधन गराउने समय भइरहेको बताउँदै संशोधन नभए सडक संघर्षका लागि तयार रहन उनले निर्देशन दिए। ‘संविधान संशोधनका लागि सरकारमा गएका हौ।’, यादवले भने, ‘संविधान संशोधन भए सरकारलाई हाम्रो साथ छ। संशोधन गर्दै नगरे सडक संघर्ष हाम्रो मुख्य बाटो हो। हामी तयार रहनु पर्छ।’
पाएको अधिकारलाई जोगाउन र परिवर्तनलाई अगाडि बढाउन फेरी सडक संघर्षका लागि तयार रहन उनले निर्देशन दिए। नागरिकताको विवाद सरकारले बल्झाएको दाबी गर्दै उपप्रधानमन्त्री यादवले भने,‘अहिले पनि नेपालमा लाखौं व्यक्ति नागरिकताविहिन छन्। सिमरौनगढ, कपिलबस्तुको इतिहास धेरै पुरानो छ। नेपाल शब्दको उत्पतिभन्दा हजारौं वर्ष पुरानो छ। तिनीहरुलाई नागरिकता दिनु पर्छ। तर, विदेशीलाई नागरिकता दिनु हुँदैन।’
आफूले यसअघि नै अंगीकृत नागरिकता वितरणमा रोक लगाउन भनेको बताउँदै यादवले भने,‘नागरिकतामा लैंगिक असमानता हुनुहुँदैन। संविधानमा पनि त्रुटी छ। र, नागरिकता विधेयकमा पनि त्रुटी छ। त्यसलाई सच्याउनु पर्छ।’
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीचको एकीकरणका विषयमा यादवले भने, ‘विगतमा राज्यको नीतिबाट डराएका जनताका लागि न्याय दिलाउन हामीले एकता गरेका छौं।’
‘इतिहासमा भएका विभेदलाई सच्चाउनु पर्छ। त्यसको अन्त्य गर्न हामीले एकता गरेका छौं।’ यादवले भने, ‘कुनै समयमा बाबुराम भट्टराईसँगै मिलेर लडेका थियौं। तर जहाँ पुर्याउनु पर्ने थियो त्यहाँ पुगेनौं। त्यसैले अव हामी सबै मिलेर गन्त्व्यमा पुग्नेछौं।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४