आइतबार, जेठ ५, २०८२

स्वास्थ्यकर्मीलाई गाउँको दुरदराजसम्म पुर्‍याउन नसक्नु दुःखद- स्वास्थ्यमन्त्री गिरी

स्वास्थ्य तथा प्राविधिक शिक्षा लिनकै लागि ठूलो संख्यामा युवाहरु भारतका विभिन्न सहरमा गइरहेको स्मरण गर्दै मन्त्री गिरीले नेपालका लागि यो चिन्ताको विषय बनेको बताए।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले आफ्नै स्रोत साधनमा पनि डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीलाई गाउँको दुरदराजसम्म पुर्‍याउन नसक्नु दुःखको कुरा भएको बताएका छन्।  नेपाल स्वास्थ्य व्यवसायी परिषद्को २७औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री गिरीले नेपालको ठूलो जनशक्ति श्रम बेच्नका लागि विदेश पलायन भइरहेकाले त्यसलाई रोक्न बहस हुनुपर्ने बताएका छन्। स्वास्थ्य तथा प्राविधिक शिक्षा लिनकै लागि ठूलो संख्यामा युवाहरु भारतका विभिन्न सहरमा गइरहेको स्मरण गर्दै मन्त्री गिरीले नेपालका लागि यो चिन्ताको विषय बनेको बताए।

गिरीले भने, ‘जनशक्ति उत्पादन गर्ने संस्थाहरुमा बिस्तारै नियोजन गरिंदै छ। यो गम्भीर विषय हो। हाम्रो सीमा क्षेत्रमा पारीपट्टी जाने र भारतका विभिन्न सहरमा गएर स्वास्थ्य तथा प्राविधिक शिक्षा लिने नाममा धेरै विद्यार्थी त्यता गइरहेका छन् । ठूलो धनराशि खर्च भइरहेको छ । यो सबैले महसुस गरेको कुरा हो।’ 

गिरीले प्राविधिक जनशक्ति उत्पादनमा ध्यान नदिने तर त्यही शिक्षा लिन युवापुस्ता विदेश जाने, पुँजी पलायन हुने क्रम नरोकिएकोप्रति चिन्ता व्यक्त गरे। 

‘हामी सीप नभएका, दक्षता नभएका जनशक्तिलाई  विदेशमा श्रम गर्न पठाउने र श्रम बेच्ने काममा पठाइरहेका छौं’, उनले भने, ‘हामीले यी विषयमा अब बहस गर्नु जरुरी छ। समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने कुराको निचोडमा पुग्नुपर्छ।’

उनले परिषद्ले सीमित कार्यक्षेत्रमा पनि स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति निर्माण गर्ने सम्बन्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। ‘परिषद्ले लिखित परीक्षासम्म जाने प्रक्रियालाई अगाडि बढाएको छ, यो कामले गुणस्तरीयता कायम गर्न थप सहयोग पुर्‍याउनेमा म विश्वस्त छु’, उनले भने ।

गुणस्तरीय शिक्षा, जनशक्ति उत्पादनका लागि कुन–कुन निकायले के जिम्मेवारी लिनुपर्ने र त्यसमा ऐन बाधक वा साधक के छ भनी खुलस्त बहस हुनुपर्ने औँल्याए। ‘यदि ऐन बाधक हो भने ऐन बनिसक्यो भनेर शिर निहुराएर यसको विरोध गर्नुहुँदैन, विपक्षमा बोल्नु हुँदैन भन्ने हुँदैन। परिवर्तित परिस्थितमा ऐनले सम्बोधन गर्न नसकेका थुप्रै वस्तु हुनसक्छ। त्यसमा संशोधन आवश्यक छ भने बोल्न र बहस गर्नुपर्छ। तर म ऐन मान्दिन भन्न पाइँदैन। भएको ऐन मान्नुपर्छ। त्यसमा त्रुटि छ भने संशोधन गरेर समयानुकूल ऐनलाई संशोधन गरेर अगाडि पनि जानुपर्छ’, मन्त्री गिरीले भने।

प्रकाशित: Feb 15, 2023| 14:13 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्