काठमाडौं– स्वास्थ्यमन्त्री पदम गिरीले औषधी व्यवसाय दर्ता र नवीकरणलाई झन्झटिलो नबनाउन निर्देशन दिएका छन्। मंगलबार बिजुलीबजारस्थित औषधी व्यवस्था विभाग र राष्ट्रिय औषधी प्रयोगशालाका विभिन्न शाखा र महाशाखा अनुगमनपछि स्वास्थ्यमन्त्रीले औषधी व्यावसाय दर्ता र नवीकरणलाई झन्झटिलो नबनाउन निर्देशन दिएका हुन्।
समय तोकरै यसको अनलाइन दर्ता र नवीकरणजस्ता कार्यका लागि परिणाममुखी भएर काम गर्न विभागका पदाधिकारीसँग आग्रह गरे। उनले भने, ‘नियमनकारी निकायलाई बलियो र क्षमता वृद्धि नगरी जनतालाई गुणस्तरीय सेवा सुनिश्चित गर्न सकिँदैन। त्यसो भन्दैमा बजारको अनुगमन, गुणस्तर नियमन र नियन्त्रणमा कम हुने छुट विभागलाई छैन।’
स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले न्यून दरबन्दीका जनशक्ति पनि पूर्ति नभएको अवस्थामा विभागले राम्रो काम गरेको बताइन्। उनले विभागबाट विविध विषयको अनुगमन तथा नियमन गर्नुपर्ने भएकाले कार्य विभाजन गरी कार्ययोजना बनाउन सुझाइन्।
मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले विभागलाई जनशक्ति, उपकरण र पूर्वाधार कमजोर रहेको बताउँदै ओएनएम सर्वे छिट्टै सकेर काम गरिने बताइन्। बजारबाट आएका गुनासा सम्बोधन गर्न जोड दिँदै तत्काल कार्यान्वयन हुन सक्ने कार्ययोजना बनाउन आग्रह गरिन्।