काठमाडौं- नर्सको श्रमशोषण गर्ने स्वास्थ्य संस्थालाई नवीकरण नगर्ने खारेजसम्म गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बताएका छन्।
नेपाल नर्सिङ संघको ६१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गिरीले नर्सको तलब निकै कम भएको सुन्नमा आएकाले श्रम शोषण गर्ने संस्थालाई अनुगमन गरी कारबाही गरिने चेतावनी दिए।
'नर्सको तलब ८/१० हजार पनि छ भन्ने सुनेको छु। यसले मलाई गम्भीर बनाएको छ। यो भयावह र कहालीलाग्दो अवस्था हो। तपाईंहरू तथ्य र प्रमाणसहित हामीलाई जानकारी दिनुस्, त्यस्ता संस्थालाई कारबाही गर्छौं,' उनले भने।
नर्सको तलब पेन्सिलले लेखिन्छ भन्ने सुनेको र अब त्यस्तो अवस्थाको अन्त्य गर्न स्वास्थ्य संस्था डिजिटल पेमेन्टमा जानुपर्ने उनले बताए। उनले सरकारले नर्समैत्री ऐन निर्माण गर्नेसमेत बताएका छन्।