सोमबार, जेठ २७, २०८२

विश्वका १०६ बढी मुलुकमा पढ्छन् १ लाख २२ हजार नेपाली विद्यार्थी

विदेश जाने विद्यार्थीलाई स्वदेशमै अड्याउन विश्वविद्यालय विधेयक ल्याइएको शिक्षामन्त्री खनालको दाबी।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

काठमाडौं– शिक्षामन्त्री शिशिर खनालले उच्च शिक्षाका लागि ठूलो संख्यामा विदेश गइरहेका विद्यार्थीलाई रोक्न नेपाल विश्वविद्यालय विधेयक अघि बढाइएको बताएका छन्। मंगलबार राष्ट्रिय सभामा नेपाल  विश्वविद्यालय विधेयक, २०७९ माथिको छलफलमा सदस्यले राखेको जिज्ञासामा उनले विदेश अध्ययन गर्न जाने युवालाई स्वदेशमै अड्याउने उद्देश्यले विधेयक अघि बढाइएको बताएका हुन्।

मन्त्री खनालले भने, ‘१ लाख २२ हजार नेपाली विद्यार्थी विश्वका १०६  बढी मुलुकमा अध्ययनका लागि गएको तथ्यांक छ। ती युवालाई रोक्न सकिन्छ कि भन्ठानेर विश्वविद्यालय विधेयक अघि बढाइएको हो।’

मुलुकको विकास र अर्थतन्त्रलाई चलायमान बनाउन तथा विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने होस् भन्ने उद्देश्य रहेको बताउँदै उनले गुणस्तरीय शिक्षा मात्र नभई संघीयताको मर्म र भावनालाई विश्वविद्यालयले बोकेको स्पष्ट गरे।

यसअघि विधेकमाथिको छलफलमा सदस्यले विश्वविद्यालयलाई उत्कृष्ट प्राज्ञिक क्षेत्रका रुपमा व्यवस्थित गर्न आवश्यक रहेको बताए। विश्वविद्यालयलाई स्वायत्त संस्थाका रुपमा लैजान सक्नुपर्ने अवसर र चुनौती रहेको बताउँदै उनीहरुले दक्ष प्रतिस्पर्धी जनशक्ति उत्पादनमा विश्वविद्यालय सक्षम होस् भन्ने सबैको चाहना रहेको उल्लेख गरे।

नेपाललाई उपयुक्त हावापानी भएका कारण शैक्षिक अध्ययनको हब बनाउन प्रयत्न गर्न आवश्यक रहेको बताउँदै उनीहरुले यसअघिका विश्वविद्यालयलाई पनि भरपर्दाे, अनुशासित, गुणात्मक र विश्वसनीय बनाउन आवश्यक सुझाव दिए।

विधेयकमाथिको छलफलमा भाग लिँदै सदस्य जितेन्द्रनारायण देवले राज्यको स्रोतको बोझ नलिने उद्देश्य बोकेको यस विश्वविद्यालयले गुणात्मक शिक्षामार्फत विश्वबजारमा प्रतिस्पर्धा गर्ने सक्ने  दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य बोकेको बताए।

प्रकाशित: Jan 24, 2023| 16:25 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्