काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिबीको दर घटाउँदै प्रोटिनलगायत पोषणका स्रोतमाथि सबैको पहुँच स्थापित गर्न सरकार कटिबद्ध रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित ‘राइट टू प्रोटिन रन’ हाफ म्याराथन पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
सरकारको निरन्तर प्रयासका बाबजुद नेपालमा अझै पनि आम समुदायमा पोषणको स्रोतमा पहुँच पुग्न नसकेको उनले उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले प्रोटिन नपुग्दा पुड्कोपनाको समस्या तथा उमेर र उचाइअनुसार हुनुपर्ने तौल नपुगिरहेको अवस्था रहेको बताए।
उनले भने, ‘तथ्यांकअनुसार सन् २०१९ मा ३२ प्रतिशत पाँच वर्षमुनिका बालबालिकाले उमेरअनुसारको उचाइ प्राप्त गर्न सकेनन्। उमेरअनुसार जति प्रोटिनको आवश्यकता हुन्छ, सोअनुसारको उपलब्धता हुन नसक्दा यस्ता समस्या हामीले भोगिरहेको तथ्य जगजाहेर छ। पुड्कोपना र कुपोषणको समस्याबाट विशेषगरी गरिबीको रेखामुनि रहेका समुदाय बढी पीडित रहेको पाइन्छ।’
पहिलो एक हजार दिनमा बालबालिकालाई उपलब्ध हने पोषणले उनीहरुको समग्र स्वास्थ्यमै असर पार्ने तथ्यबारे जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले गर्भवती र नवजात शिशुलाई लक्षित गरी स्वास्थ्य प्रवद्र्धनका विभिन्न कार्यक्रम सरकारले सञ्चालन गरिरहेको जानकारी दिए।उनले पोल्ट्री उद्योगले अण्डा र मासुमार्फत प्रोटिनको आपूर्तिमा योगदान दिएकामा र मासुमा आत्मनिर्भर बनाउन सहयोग गरेकामा पोल्ट्री उद्योगका उद्यमी र कृषकलाई धन्यवाद दिए।
आत्मनिर्भर उन्मुख यस उद्योगले बर्ड फ्लु, कच्चा पदार्थको मूल्य, औषधीलगायत समस्या भोगिरहेकोबारे सरकार जानकार रहेको प्रधामन्त्री प्रचण्डको भनाइ छ। उनले यी समस्या समाधान गरी नेपालको अर्थतन्त्र र गरिबी निवारणमा महत्त्वपूर्ण योगदान दिँदै आएको पोल्ट्री उद्योगलाई थप सबल र आत्मनिर्भर बनाउन सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
नेपालका पशु चिकित्सकको छाता संगठन नेपाल भेटेरिनरी एसोसिएसनले नेपाल दाना उद्योग संघ र सम्बन्धित सरोकारवालाको सहभागितामा प्रोटिनमाथिको अधिकारलाई स्थापित गर्ने उद्देश्यले हाफ म्याराथनलगायत दौड प्रतियोगिता सफलतापूर्वक आयोजना गरेकामा उनले बधाइ दिए।