काठमाडौं- धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्षमा एक हजार जनाको मिर्गौला प्रत्यारोपण गरेको खुसीयालीमा शुक्रबार कार्यक्रम नै गर्यो। नेपाल ऐकेडेमीमा गरिएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलायो।
प्रधानमन्त्री दाहाल पनि आए, कार्यक्रममा भाषण गरे हिँडे। स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी, बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे र दुवै स्वास्थ्य सचिव लगाएतका व्यक्तित्वहरु कार्यक्रममा अतिथीको रुपमा सहभागी थिए।
तर यता कार्यक्रम भइरहँदा उता धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा भने सम्पूर्ण ओपिडि सेवा बन्द गरियो। बिरामीहरु अस्पताल आएपनि उपचार गराउन पाएनन्। यता केन्द्रका निर्देशक डा. पुकार श्रेष्ठले प्रधानमन्त्री सहित राज्य सञ्चालकहरूलाई खुसीका कथा सुनाउँदै गर्दा उता अस्पतलमा भने बिरामीहरुले चिकित्सक भेट्न पाएनन्।
केन्द्रले कार्यक्रमका लागि सम्पूर्ण ओपिडी सेवा बन्द भएको सार्वजनिक सूचना एक दिन अघि मात्र फेसबुक पेज मार्फत जानकारी दिएको थियो। तर सूचनाबारे जानकारी नपाएका बिरामीहरु भने अस्पतालबाट फर्कन बाध्य भए। केन्द्रले ओपिडीका सबै सेवा बन्द गरेर सबै कर्मचारी र नर्स, चिकित्सक र पारामेडिक्सलाई प्रधानमन्त्रीको स्वागतमा खटाएको थियो।