काठमाडौं- कोशी अस्पतालमा जीवित शिशुलाई मृत घोषणा गर्ने स्वास्थ्यकर्मी निलम्बनमा परेका छन्। १८ दिनको जीवीत शिशुलाई बुधबार मृत घोषणा गरेका डा. आकाश यादवलाई निलम्बन गरिएको हो। डा. यादवलाई स्वास्थ्यमन्त्री पदम गिरीको निर्देशनपछि निलम्बन गरिएको हो।
जीवित शिशुलाई मृत घोषणाका विषयमा छनबिन गर्न अस्पतालले समिति गठन गरेको छ। छानबिन समितिले काम अगाडि बढाउने भएपछि डा. यादव निलम्बनमा परेका छन्।
यादवले मृत घोषणा गरेका शिशुको अहिले एक निजी अस्पतालको आइसीयूमा उपचार भइरहेको छ। मन्त्री गिरीले घटनाको यथार्थ विवरण छिटो बुझाउन निर्देशन दिएका छन्। घटनाको छानबिन गर्न तीन सदस्यीय कमिटी गठन गरिएको छ। अस्पतालले उक्त घटनाका विषयमा यथार्थ जानकारी लिन अस्पतालका बाल रोग विशेषज्ञ डा. प्रविण कुमार नेतृत्वको तीन सदस्यीय कमिटी गठन गरेको हो।
बिहीबार गठन भएको उक्त कमिटीमा डा. प्रवीणसहित बाल रोग विशेषज्ञ डा. सुर्यकान्त चौधरी र एक जना प्रशासनका कर्मचारी रामप्रसाद नेपाल सदस्य रहेका छन्। १८ दिनको शिशुको सास नरहेको र धड्कन बन्द भएको भन्दै अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. आकाश यादवले मृत घोषणा गरेका थिए। त्यसपछि आफन्तले शिशुलाई लिएर घर गएका थिए। तर शिशुले सास फेर्नुका साथै हातगोडा चलाएपछि परिवारले अर्को अस्पतालमा उपचार गराइरहेका छन्।