काठमाडौं– उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणको जिम्मा लिएर काम नगर्ने तर राजनीतिक दलका नेताको ओत लाग्ने जुनसुकै ठेकेदारलाई तह लगाइने चेतावनी दिएका छन्।
शुक्रबार काठमाडौंका सडक अनुगमनमा निस्किएका मन्त्री श्रेष्ठले कसैको दबाब र प्रभावमा नपरी विकास निर्माणलाई अलपत्र पार्ने ठेकेदारलाई कारबाही गरिने बताएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटीले धेरै सडकको विचल्ली बनाएको प्रसंगमा मन्त्री मन्त्री श्रेष्ठले प्रधानमन्त्रीले नै नराम्रो गर्ने जोकोहीलाई कारबाही गर्न अख्तियारी दिएको दाबी गरे।
सडकमा समस्या देखिएपछि सरकारले र सम्बन्धित निकायले पूरा गर्नुपर्ने उनको भनाइ छ। जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब नरहेको उनले सुनाए।
‘म कोही घरबेटी, मित्र, कोही दाजुभाइसँग सम्बन्धित भएर काम गर्दिनँ। निरपेक्ष ढंगले काम गर्छुु। जोकोहीलाई पनि कारबाही गर्नुस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ। त्यससँग प्रधानमन्त्रीलाई नजोडी दिनुहोला। विकासलाई कमजोर पार्ने कुरामा हामी कसैसँग सम्झौता गर्दैनौं,’ उनले भने।
तीन वटै सरकारसँग मिलेर सडकमा खानेपानी, ढल, विद्युत प्राधिकरण, दूरसञ्चारले गरिरहेका कामको संयुक्त अनुगमन गरिनुपर्ने आवश्यकता उनले औंल्याए।