मंगलबार, जेठ २८, २०८२

गैंडाकोटका महिला स्वास्थ्य स्वयंसेविकालाई बाँडिँदै लाख

६० वर्ष उमेर पुगेर अवकाश लिने तथा कम्तीमा पाँच वर्ष सेवा गरेका महिला स्वस्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप रकम उपलब्ध गराइने भएको हो।
 |  बुधबार, पुस २७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)– नवलपरासीको गैंडाकोट नगरपालिकाले नगरका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप १ लाखसम्म रकम उपलब्ध गराउने भएको छ। ६० वर्ष उमेर पुगेर अवकाश लिने तथा कम्तीमा पाँच वर्ष सेवा गरेका महिला स्वस्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउन लागिएको नगरप्रमुख मदनभक्त अधिकारीले बताए।

नगरका टोल–टोलमा सहज स्वास्थ्य सेवा पु-याउन निःस्वार्थभावले काम गर्दै आएका नगरका महिला स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्यांकन गर्दै उनीहरूलाई प्रोत्साहन रकम उपलब्ध गराउन लागिएको अधिकारीको भनाइ छ। ‘नगर कार्यपालिकाको बैठकले नगरपालिकामा कार्य गर्दै आएका कम्तीमा पाँच वर्ष सेवा गरी ६० वर्ष उमेर पुगेर सेवाबाट अवकाश भए त्यस्ता महिला स्वास्थ्य स्वयंसेविकालाई रकम उपलब्ध गराउने निर्णय गरेको छ’, नगरप्रमुख अधिकारीले भने, ‘उनीहरूलाई प्रोत्साहनस्वरुप १ लाखसम्म रकम उपलब्ध गराउने निर्णय गरेका छौं।’

महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कम्तीमा पाँच वर्ष सेवा गर्नेलाई उनीहरूले सेवा गरेको प्रत्येक वर्षको ५ हजारका दरले अधिकतम १ लाखसम्म रकम उपलब्ध गराउने निर्णय भएको अधिकारीले जानकारी दिए। ‘स्वैच्छाले राजीनामा दिए, स्वास्थ्य स्वयंसेविकाको कार्यसम्पादनको कारणबाट जिम्मेवारीबाट हटाइए वा उमेरबाहेक अन्य कुनै कारणले सेवामा रहन नमिल्ने भए यस्तो सुविधा उपलब्ध गराउन नगरपालिका बाध्य हुने छैन’, नगरप्रमुख अधिकारीले भने। 

त्यस्तै, सेवामा बहाल रहँदाको अवस्थामा कुनै कारण मृत्यु भए त्यस्ता स्वयंसेविकाको परिवारलाई १ लाख रकम उपलब्ध गराइने नगर कार्यपालिकाले निर्णय गरेको उनले बताए। 

गैडाकोट नगरपालिकामा हाल ४१ महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्। चालू आर्थिक वर्ष २०७९/८० मात्रै चार महिला स्वास्थ्य स्वयंसेविकाले उमेरहदका कारण अवकाश पाएका छन्। त्यस्तै, एक जनाको मृत्यु भएको छ भने एक जना महिला स्वास्थ्य स्वयंसेविका वडा सदस्यमा निर्वाचित भएकी छन्।

प्रकाशित: Jan 11, 2023| 18:15 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्