मंगलबार, जेठ २८, २०८२

स्वास्थ्य बिमा सेवा लिनेमा देशभरकै पहिलो बन्यो भरतपुर अस्पताल

देशभरका अस्पतालमा सबैभन्दा बढी भरतपुर अस्पतालबाट सेवाग्राहीले बिमा सेवा लिएका हुन्।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

काठमाडौं– देशभरकै स्वास्थ्य संस्थामध्ये स्वास्थ्य बिमाबाट सेवा लिनेमा चितवनको भरतपुर अस्पताल पहिलो बनेको छ। देशभरका अस्पतालमा सबैभन्दा बढी भरतपुर अस्पतालबाट सेवाग्राहीले बिमा सेवा लिएका हुन्।

बिमा बोर्डको तथ्यांकअनुसार हालसम्म २ करोड ५१ लाख ८१ हजार २८९ बिमा दाबी गरिएको छ। त्यसमध्ये भरतपुर अस्पतालको ६३ लाख ५६९ रहेको छ। दोस्रोमा नोबेल मेडिकल कलेजको ६१ लाख ४ हजार ९४ र बिपी कोइराला इन्स्टिच्युट धरानको ५७ लाख ९ हजार ६१ रहेको छ। अन्यको दाबी संख्या कम छ।

अस्पतालका बिमा विभाग प्रमुख लीलाधर पौडेलका अनुसार अस्पतालले बीमा बोर्डबाट हालसम्म रु ९७ करोड ६३ लाख ११ हजार आठ सय २७ प्राप्त गरिसकेको छ । रु १५ करोड हाराहारी दाबी गरी पठाइएको भुक्तानी हुन बाँकी छ । 

१ भदौ २०७४ देखि भरतपुर अस्पतालमा बिमा लागू भएको हो। चितवनसहित तनहुँ, गोरखा र नवलपरासीका नागरिकको रोजाइमा भरतपुर अस्पताल पर्दै आएको छन्। पौडेलका अनुसार ‘रिफर’ भएर आउने बिरामी २२ भन्दा बढी जिल्लाका छन्।

अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बिमाका हुने गरेका छन्। ११ पुस एकै दिनको तथ्यांक हेर्दा १ हजार ४६५ बिरामी बहिरंग सेवामा आएकामा १ हजार ७६ जना अर्थात् ७३ प्रतिशत बिमाका थिए।

चितवनमा हाल स्वास्थ्य बिमा गर्नेको संख्या ४ लाख १६ हजार ८५१ छ। स्वास्थ्य बिमामार्फत दाबी गर्ने औषधीमा ग्यास्ट्रिकका बढी छ। उपचारतर्फ सबैभन्दा बढी बहिरंग सेवा लिनेछन्। रोग परीक्षणतर्फ उच्च रक्तचापका बिरामी बढी हुने गरेको पौडेलले जानकारी दिए।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार बिमा दाबीमा भरतपुर अस्पताल पहिलो भएको छ। उनले भने, ‘हामीले दाबी गरेका फाइल न्यून मात्रै अस्वीकृत हुने गरेका छन्।’ दाबीमा पहिलो हुँदा पनि अस्वीकृत हुनेमा १०औंभित्र पनि भरतपुर अस्पताल पर्दैन।

अस्पतालमा बिमा सेवामा तालिम प्राप्त कर्मचारीको टोली रहेकै कारण राम्रो सेवा र दाबी गर्न सकिएको पौडेलको भनाइ छ। ७० प्रतिशत बढी बिरामी बिमाका हुने भएकाले उनीहरुलाई लक्षित गरी सेवालाई चुस्त दुरुस्त बनाउन अस्पताल प्रशासन लागेको पौडेल बताउँछन्। उनले भने, ‘हामीले बिमालाई नमुना बनाएका छौं। बिरामीले पाउने सेवा सहज बनाउनेतर्फ हाम्रो ध्यान छ।’

न्यून जनशक्तिका कारण सोचेजस्तो सेवा अझै दिन नसकिएको स्वीकार्दै उहाँले श्ययाअनुसारको दरबन्दी स्वीकृत भएसँगै कुनै समस्या नहुने बताए। अस्पतालको ओएनएम सर्भे गरेर स्वास्थ्य मन्त्रालयमा फाइल पठाइसकिएको छ।

बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले भरतपुर अस्पतालले बिमा दाबीमा धेरै राम्रो गरेको जानकारी दिए। विगतको तुलनामा सुधार गरेर उत्कृष्ट काम गर्ने संस्थामध्येमा भरतपुर अस्पताल रहेको उनको भनाइ छ।

बिमा बोर्डले विगत ६ वर्षको अवधिमा हालसम्म करिब २५ अर्ब भुक्तानी गरिसकेको छ। उनका अनुसार अब ३ अर्ब भुक्तानी गर्न बाँकी छ। त्यसमध्ये १ अर्ब ५० करोड आउँदो साताबाट भुक्तानी प्रक्रियामा जाँदै छ। बिमाबाट सेवा दिने देशभरका ४५१ अस्पताल रहेका छन्।

विपन्न कार्यक्रमको भुक्तानीसमेत बोर्डलाई दिन सरकारले २ अर्ब ४७ करोड निकासा गरेको छ। ती कार्यक्रमको आवश्यक प्रक्रिया स्वास्थ्य मन्त्रालयको नर्सिङ महाशाखाले गर्ने भए पनि त्यहाँबाट प्रक्रिया पुगेर नआएकाले भुक्तानीमा ढिलाइ भएको उनले जानकारी दिए। बोर्ड रकम वितरणका लागि तयारी अवस्थामा रहेको उनको भनाइ छ।–रासस

प्रकाशित: Jan 07, 2023| 13:18 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्