काठमाडौं– नेपालगन्जको फुलटेग्रामा दादुराको आउटब्रेक भएको छ। ५ देखि १२ वर्ष उमेरका २४ जना बालबालिकामा संक्रमण देखिएको हो।
संक्रमितमध्येअधिकांश खोप नलगाएका छन्। स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार दादुराको संक्रमण देखिएपछि स्वास्थ्य कार्यालय बाँकेले संक्रमितमध्ये ५ जनाको रगतको नमुना संकलन गरी थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो।
परीक्षणका लागि पठाएका ५ मध्ये ४ जनामा संक्रमण पुष्टि भएको हो। परीक्षणका क्रममा ५ मध्ये ४ जनामा संक्रमण पुष्टि भएपछि संक्रमण देखिएका २४ जनामै दादुरा भएको मानिने उनले बताए। दादुरा संक्रमण भए-नभएको यकिन गर्नका लागि रगत र पिसाबको परीक्षण गरिन्छ। संक्रमण देखिएका अधिकांश बालबालिका मुस्लिम र मधेशी समुदायका छन्। संक्रमित बालबालिकालाई विश्व स्वास्थ्य संगठनका चिकित्सक तृप्ति रमन पाललगायतका स्वास्थ्यकर्मीहरुको टोलीले परीक्षण गरी भिटामिन ए क्याप्सुललगायतका औषधीहरु उपलब्ध गराएको छ।
सरकारले सन् २०२३ सम्म नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्य लिएको छ तर बाँकेमा दादुरा संक्रमण फैलिएपछि लक्ष्यमा चुनौती थपिएको छ। दादुरा हुँदा बालबालिकामा ज्वरो आउने, र शरीरमा राता बिमीरा देखा पर्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आखा रातो हुने, आँखा पाक्नेजस्ता लक्षण देखिन्छ। समयमै उपचार नभएमा दादुरा संक्रमणबाट बालबालिकाको मृत्यु हुने जोखिम पनि हुन्छ।
दादुरा सरुवा रोग भएका कारण संक्रमण देखिएका बिरामी खोक्दा, खानेकुराहरु बाँडेर खाँदा, एउटै कपडा पालैपालो गरेर प्रयोग गर्दा अन्य व्यक्तिमा सर्छ। स्वास्थ्य संस्थाहरुले ९ महिना र १५ महिनाको उमेरमा दुई पटक बालबालिकाहरुलाई निःशुल्क दादुरा विरुद्ध खोप दिँदै आएका छन्।