शनिबार, असार १४, २०८२

कोरोना जोमिख बढेसँगै ट्राफिकले थाल्यो तपाईंको मास्क खोइ अभियान?

कोरोना संक्रमणबाट जोगिन यतिबेला काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरी मास्क खोइ? लेखिएका सचेतनामूलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका हुन्।
 |  बिहीबार, पुस १४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

काठमाडौं– ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ?’ अभियान पुनः सुरु गरेको छ। यतिबेला कोरोना संक्रमण छिमेकी चीनमा फैलिइसकेको छ भने भारतमा सुरु हुने संकेत देखिएको छ।

कोरोना संक्रमणबाट जोगिन यतिबेला काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरी मास्क खोइ? लेखिएका सचेतनामूलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका हुन्। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकलाई सचेत गराउन ठाउँ–ठाउँमा प्लेकार्ड र सचेनामूलक काम पुनः सञ्चालन गरेको बताए। 

‘अहिले धेरै जनाले मास्क लगाउन छाडिसक्नुभएको छ। छिमेकी मुलुकमा देखिएको कोभिड–१९ महामारीको जोखिममा हामी पनि छौं’, उनले भने, ‘त्यसैले मास्क प्रयोग गर्न नबिर्र्सौं भन्ने चेतनाका लागि प्ले कार्डको प्रयोग गर्ने र सुझाव दिने काम भइरहेको छ।’ 

मंगलबार काठमाडौं जिल्ला कार्यालय जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहले सार्वजनिक स्थान र सवारी साधानमा हिँड्नेलाई सुुसूचित गर्ने र जनचेतना फैलाउनेसम्बन्धी छलफल भएको थियो। ट्राफिक प्रहरीले सोही छलफलपछि मास्क प्रयोग भन्ने सन्देश दिइरहेको उनले बताए। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारी देवी पाण्डे खत्रीले अहिले नयाँ भेरियन्टको संक्रमण नदेखिए पनि उच्च सतर्कता अपनाउन मास्क प्रयोग बढाउन र रोगको रोकथामका लागि सचेतना बढाउन आग्रह गरिएको बताइन्। ‘गृह मन्त्रालयले सूचना पनि प्रकाशित गरेको थियो, त्यसपछि डिडिएमसीको बैठकमा जिल्ला समन्वय समितिको प्रमुख, समन्वय अधिकारी, प्रमुख जिल्ला अधिकारी तथा स्वास्थ्य कार्यालय प्रमुखसँगको छलफलपछि स्वाथ्य सतर्कता मापदण्ड पालना बढाउने निर्णय गरेका थियौं’, उनले भनिन्।

छिमेकी चीन र भारतमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ डट सेभेन (बीएफ डट ७) हालसम्म नेपालमा पुष्टि नभए पनि जोखिम उच्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले बताए। 

‘छोटो समयमा धेरै व्यक्तिलाई सङ्क्रमण फैलाउन सक्ने यो भेरियन्ट हाम्रो खुला सिमाना र आवातआवतका कारण नेपाल भित्रिने जोखिम कायम छ’, उनले भने। उनका अनुसार मन्त्रालयले पहिचान रोकथाम र नियन्त्रण र उपचार व्यवस्थापनका लागि तीनै तहका सरकारको सहकार्यका लागि अनुरोध गर्दै आएको छ। 

‘अहिले सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिनेको ज्वरो नाप्ने र शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण भइरहेको छ’,  उनले भने। 

सिँगान बग्ने, हाच्छ्युँ धेरै आउने, ज्वरो, खोकी लाग्नुका साथै घाँटी टाउको दुख्ने, र श्वासप्रश्वासमा समस्या आउने तथा स्वाद हराउने कोभिड–१९ का मुख्य लक्षण हुन्। तर कतिपय अवस्थामा लक्षणका आधारमा सामान्य रुघाखोकी, फ्ल्यु र कोभिड–१९ बिचको भिन्नता छुट्याउन नसकिने डा ठाकुर बताउँछन्। 

‘कोभिड–१९, रुघाखोकी वा फ्ल्युको लक्षणका आधारमा भिन्नता छुट्याउन गाह्रो हुन्छ। तपाईं कोभिड–१९ भएको थाहा पाउने सबैभन्दा उत्तम उपाय भनेकै स्वास्थ्यकर्मीको सल्लाहमा यसको परीक्षण गर्नु हो,’ उनले भने।

उनले चाडपर्व मनाउदा भीडभाड नगर्ने, भौतिक दूरी, मास्कको प्रयोग साबुन पानीले हात धुने, हाच्छयुँ गर्दा कुइनाले मुख छोप्ने र सेनिटाइजरको प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन्। कोभिड–१९ विरुद्धको दुवै डोज खोप प्रयोग गरिसकेकाले अतिरक्त मात्रा वा बुस्टर खोप लगाउन उनको सुझाव छ। 

तथ्यांकअनुसार हालसम्म २ करोड २३ लाख २४ हजार ९३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। साथै, ७९ लाख ७२ हजार ७९१ जनाले मात्र अतिरिक्त मात्राको खोप लगाएका छन्। मन्त्रालयले सबैमा खोपको पहुँच, एकीकृत र सुदृढ रोग निगरानी र महामारी प्रतिकार्यका लागि निरन्तर प्रयास गर्दै आएको प्रवक्ता डा. ठाकुरको भनाइ छ।

प्रकाशित: Dec 29, 2022| 17:41 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्