काठमाडौं- समायोजन मिलान भएर स्थानीय तहमा पुगेका स्वास्थ्यका कर्मचारीलाई तलब खुवाउँन नसकपछि संघिय मन्त्रालयले व्यवस्थापन गर्ने भएको छ। कर्मचारीलाई तलब खुवाउँन नसकिने भन्दै स्थानीय तहले फिर्ता पठाउन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालका लागि अपुग रकमको व्यवस्थापन गर्ने भएको छ।
पुस ८ मा मन्त्रीस्तरीय निर्णय गर्दै संघीय स्वास्थ्य मन्त्रालयले समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्यका कर्मचारीको खटिएको ठाउँमा अपुग भएको तलबभत्ता हाललाई स्वास्थ्य मन्त्रालयको वित्तिय बजेटबाट हस्तान्तरण गर्ने जनाएको हो।
निर्णयसँगै मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरेको छ। प्रत्रचारमा भनिएको छ, ‘समायोजन/समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीहरुको नपुग तलब भत्ता हाललाई मन्त्रालयबाट वित्तिय हस्तान्तरणमार्फत बजेट पठाउने, तथा समायोजन मिलान भई गएका कर्मचारीलाई सम्बन्धित तह र निकायमा नै हाजिर गराई जिम्मेवारपूर्वक कामकाज लगाउन हुन यस मन्त्रालयको माननीय मन्त्रीस्तरको मिति २०७९/९/८ को निर्णयअनुसार अनुरोध छ।’ यसअघि केही स्थानीय तहले झण्डै २ सय स्वास्थ्यकर्मीलाई तलब भत्ता खुवाउन नसकिने भन्दैं स्वास्थ्य मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेका थिए।