काठमाडौं– कक्षा दशमा अध्ययनरत विद्यार्थीलाई एसइइ परीक्षा नजिकिएसँगै धेरैभन्दा धेरै नम्बर ल्याएर पास हुनुपर्छ भन्ने मानसिक दबाब हुन्छ। तिनै दश कक्षाका विद्यार्थीहरूलाई एसइइ परीक्षामा विषयगत त्रुटी कस्ता हुन्छन् र त्यसलाई कसरी सच्याउने भन्ने उद्देश्यका साथ ‘एसइइ इरर एनलाइसिस सेसन’ नामको तालिम दिइएको छ।
काठमाडौंको नयाँ बानेश्वरस्थिति शुभश्री कलेजमा चार विद्यालयका कक्षा १० मा अध्ययन गरिरहेका १५० जना विद्यार्थी र विषयगत शिक्षकलाई विभिन्न पाठ्यक्रम विज्ञबाट तालिम दिइएको हो।
तालिममा इपिएस स्कुल नयाँ बानेश्वर, काठमाडौं कोलम्बस स्कुल, ट्रिटन स्कुल, काठमाडौं प्रज्ञाकुञ्ज स्कुलका विद्यार्थी सहभागी थिए। गणित, नेपाली र सामाजिक शिक्षा विषयहरूमा प्रश्नहरूको हल गर्न कसरी सचेत रहने, कस्ता प्रश्नका ढाँचा हुन्छन् र त्यस्ता प्रश्नलाई कस्तो ढंगले समाधान गर्ने भन्ने विषयमा विद्यार्थीलाई तालिममार्फत पनि सचेत गराइएको थियो।
विद्यार्थीलाई उच्च नम्बर ल्याएर पास गर्नुपर्ने दबाब त हुन्छ तर त्यो नम्बर कसरी सम्भव छ भन्ने ज्ञान विद्यार्थीलाई सचेत गराउन यस्ता तालिमको खाँचो रहेको बताउँछन् एक शिक्षक ।
डिभी एजुकेशन टेक्नोलोजीको आयोजनामा भएको एक दिने तालिम निःशुल्क उपलब्ध गराइएको हो। विद्यार्थीको भविष्य र समाज सेवालाई ध्यानमा राखेर यो कार्यक्रम आयोजना गरेको बताए डिभी एजुकेशन टेक्नोलोजीका चन्द्रमणि गौतमले। उनले भने, ‘विद्यार्थीहरूको असली समस्यालाई पहिचान गर्दै आधुनिक ढंगबाट विद्यार्थी स्वयंले त्रुटी पहिल्याउन सकुन् र प्रश्नको सही समाधान गरून् भन्ने उद्देश्यले यो तालिम राखिएको थियो।’