काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले मन्त्री पद सम्हालेपछि निवर्तमान होउन्जेलसम्मका उपलब्धि सार्वजनिक गरेका छन्। मंगलबार मन्त्रालयमा आयोजित बिदाइ समारोहमा मन्त्री खापुङले आफूले गरेका कामको उपलब्धि सार्वजनिक गरेका हुन्।
मन्त्री खापुङले नयाँ मन्त्री आएपछि बधाइ दिन र आफ्ना अनुभव सुन्न चाहे सुनाउन आउने बताए। उनले आफू निश्चित समयका लागि आएकाले स्वास्थ्य मन्त्रालयबाट बिदा हुँदा दुःखी नभएको समेत सुनाए। खापुङले जनता र कर्मचारीका हुने काम नरोक्न कर्मचारीलाई आग्रह गरे।
‘छोटो अवधिमा धेरै नयाँ काम भयो भन्ने केही दाबी गर्दिन तर संघीयता कार्यान्वयन, खोपको उपलब्धता हामी सबैको कार्यको उपलब्धि हो। सरुवा रोग अस्पताल निर्माणको काम सुरु भएको छ। यी सबै नियमित कार्यक्रमको म एक्लै जस लिन चाहन्नँ’, उनले भने।
खापुङले मन्त्रिपरिषद्मा ३ वटा रणनीति पेस गरेको र ती पास हुने क्रममा रहेको दाबी गरे। उनले नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना (२०७९÷८०–२०८७÷८८), राष्ट्रिय स्वास्थ्य वित्त रणनीति (२०७९÷२०८९), स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति २०७९ पास हुने क्रममा रहेको उनले जानकारी दिए।
नीतिगततर्फ २५ वटा काम भएको उनको दाबी छ। ६० वटा स्वास्थ्य संस्थाका भवन निर्माण सम्पन्न भइसकेको र ३३५ भवन निर्माणाधीन रहेको उनले कामको रुपमा सार्वजनिक गरे।
खापुङले आफ्नो कार्यकालमा नीति, रणनीति र कानुन तर्जुमा अन्तर्गत विभिन्न २५ वटा उपलब्धि भएको, पूर्वाधार निर्माण, महामारी रोकथाम तथा नियन्त्रण, कोभिड–१९ रोकथाम तथा नियन्त्रण, डेंगुु रोकथाम तथा नियन्त्रण र सेवा प्रवाह तथा सेवा विस्तारसम्बन्धी विवरण सार्वजनिक गरेका हुन्।
खापुङले औषधी ऐन संशोधन भएको, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन संशोधन भएको, स्वास्थ्य जनशक्तिसम्बन्धी राष्ट्रिय रणनीति बनेको, नसर्ने रोग रोकथामसम्बन्धी बहु–क्षेत्रीय कार्ययोजना तयार भएको लगाएत विवरण सार्वजनिक गरेका छन्।
उनले सार्वजनिक गरेको नीति, रणनीति र कानुन तर्जुमा २५ वटा उपलब्धि समावेश छन्, जुन यस प्रकार छः
औषधी (तेस्रो संशोधन) ऐन, २०७९
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संसोधन) ऐन, २०७९
स्वास्थ्य जनशक्तिसम्बन्धी राष्ट्रिय रणनीति २०७८÷८७
नसर्ने रोग रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी बहुक्षेत्रीय कार्ययोजना (२०७८÷८३)
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड (पहिलो संशोधन), २०७८
रेडियोलोजी तथा इमेजिङ सेवाको मापदण्ड, २०७८
आधारभूत स्वास्थ्य सेवाको स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल, २०७८
क्षयरोग मुक्त अभियान नेपालको घोषणा अभियान सञ्चालन निर्देशिका, २०७८
राष्ट्रिय एचआईभी रणनीतिक योजना, २०२१÷२०२६ १०. मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य कार्यक्रम सञ्चालन निर्देशिका,२०७८
केन्द्रीय अस्पताल तथा स्वास्थ्य संस्थाले स्याटलाइट क्लिनिक सञ्चालन गर्नेसम्बन्धी कार्यविधि
मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधोपचारबापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८
विभेदपूर्ण लिंग छनोटको अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७८÷२०८८
राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८
मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७९
राष्ट्रिय स्वास्थ्य वित्त रणनीति, २०७९÷२०८९ को मस्यौदा
खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप सुरुआतसम्बन्धी निर्देशिका
आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका, २०७८
५ वर्षदेखि ११ वर्ष उमेर समूहमा कोभिड खोप सञ्चालन निर्देशिका
विपन्न कार्यक्रमका कडा रोगको उपचार खर्च स्वास्थ्य बिमामा आवद्घ गर्ने कार्यविधि, २०७८
हिम्सको दीर्घकालीन मार्गचित्र २०२२ देखि २०३०
स्वास्थ्य प्रवद्र्धन रणनीति २०२२÷२०३०
नेसनल एचआईभी÷टेस्टिङ एन्ड ट्रिटमेन्ट गाइडलाइन्स, २०२२
रक्त सञ्चार सेवा रणनीति–मस्यौदा तयार
राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (२०७९÷२०८६) रहेका छन्।
खापुङका अनुसार स्वीकृत हुन बाँकी मन्त्रिपरिषद्मा पेस भएका ३ रणनीति यस्ता छन्ः
नेपाल स्वास्थ्य क्षेत्र– रणनीतिक योजना (२०७९÷८०–२०८७÷८८)
राष्ट्रिय स्वास्थ्य वित्त रणनीति (२०७९÷२०८९)
स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०७९
त्यस्तै, पूर्वाधार निर्माणअन्तर्गत ५ वटा वुँदामा उपलब्धि भएको खापुङले जनाएका छन्। आव २०७८÷७९ मा भवन विभागमार्फत ६० वटा स्वास्थ्य संस्था निर्माण सम्पन्न भएका छन् भने स्थानीय तहमा ५,१० र १५ शय्याका ६५५ वटा आधारभूत अस्पतालमध्ये हालसम्म ३७३ अस्पतालको डिपीआर स्वीकृत भई निर्माणको क्रममा रहेका तथा बाँकी आधारभूत अस्पतालको डिपीआर तयारी तथा स्वीकृतिको क्रममा रहेका छन्। मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा ५० शय्याका सरुवा रोग अस्पताल निर्माण भइरहेका र बाँकी रहेका प्रदेशमा जग्गा प्राप्तिलगायत कार्य अगाडि बढेको छ। गेटा मेडिकल कलेज तथा शिक्षण अस्पताललाई ३०० शय्याको अस्पतालको रूपमा सञ्चालन गर्ने गरी अस्पताल निर्देशक नियुक्ति भई आवश्यक पूर्वाधारका काम अगाडि बढाइएको छ। देशका मुख्य राजमार्गमा हुन सक्ने दुर्घटनाको क्षति न्युनीकरण तथा उपचारका लागि निश्चित दूरीका रणनीतिक स्थानमा ट्रमा सेन्टर स्थापना कार्य अगाडि बढेको छ।
खापुङले महामारी रोकथाम तथा नियन्त्रण, कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा गरेको उपलब्धिलाई पनि समावेश गरेका छन्। यसअन्तर्गत ७ वटा बुँदामा उपलब्धिलाई उल्लेख गरेका छन्।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण कार्यमा औषधी प्रयोग र खोप आयात गर्न मौजुदा कानुन औषधी ऐन २०३५ लाई अध्यादेशमार्फत कानुनी बाधा फुकाई खोपलगायतको आपूर्तिमा सहजता कायम गरिएको, ११ पुस २०७९ सम्म ६ करोड १७ लाख ७६ हजार ७७० डोज कोभिड–१९ विरुद्धको प्रभावकारी र सुरक्षित खोप प्राप्त गरिएको तथा २ करोड ३२ लाख ८ हजार ४८३ एक मात्रा, २ करोड २३ लाख २४हजार ९३३ पूर्ण मात्रा र ७९ लाख ७२ हजार ७९१ बुस्टर (अतिरिक्त) मात्रा गरी कुल ५ करोड ३५ लाख ६ हजार २०७ मात्रा डोज लगाइसकिएको जनाइएको छ। असार मसान्तसम्म कुल जनसंख्याको ७० प्रतिशतले पूर्ण मात्रा र लक्षित जनसंख्या (१२ वर्ष र सोभन्दा माथि) करिब ८८ प्रतिशतले कोभिड–१९ विरुद्धको पूर्ण मात्रामा खोप प्राप्त गरेका छन् भने हाल कुल जनसंख्याको ७६.५ प्रतिशतर लक्षित जनसंख्याको ९५.७ प्रतिशतले पूर्ण मात्रा खोप पाइसकेका छन्। खापुङ अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताल र प्रयोगशालाको पूर्वाधार सुदृढ गरी अक्सिजन, आईसीयु, एचडीयु. तथा अन्य औषधी उपकरणको व्यवस्थापन गरेको छ। हाल ५९ वटा सरकारी र ५१ वटा गैरसरकारी गरी जम्मा ११० वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ भने विगत एक वर्षमा १४ वटा पीसीआर परीक्षण प्रयोगशाला थप भएका छन्।
यस्तै, हाल नेपालभरि ८ हजार २०२ वटा आइसोलेसन बेड, ३ हजार ८४६ वटा हाइ डिपेन्डेन्सी बेड, २ हजार ७९७ वटा आईसीयु बेड, १ हजार वटा भेन्टिलेटर, १८ हजार २९९ वटा अक्सिजन सिलिन्डर, १३२ वटा अक्सिजन प्लान्ट र २७ वटा अक्सिजन ट्यांक रहेका छन्। यी पूर्वाधार आगामी दिनमा आउन सक्ने महामारी व्यवस्थापन तथा नियमित सेवा सञ्चालनका लागि उपयोग हुनेछन्। हालसम्म ५८ लाख ३८ हजार ४९३ वटा पीसीआर र १३ लाख १ हजार ७१४ वटा एन्टिजेन गरी कुल ७१ लाख ४० हजार २०७ वटा कोभिड–१९ परीक्षण गरिएको जनाइएको छ।
डेंगु रोकथाम तथा नियन्त्रणसम्बन्धी भएका उपलब्धि निम्न छन्ः
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा डेंगु रोगको वर्तमान अवस्था र बढ्दो संक्रमण नियन्त्रण तथा रोकथाम गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वयात्मक प्रयासबारे छलफल। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले १३९ स्थानीय तह, ६० जिल्ला र ७ वटै प्रदेशमा डेंगुु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालनका लागि बजेट विनियोजन। विद्यालय र होटलमा डेंगु रोगको रोकथामका लागि होटल एसोसिएसन अफ नेपाल र विद्यालयका एसोसिएसनसँग बैठक सञ्चालन गरिएको छ। विभिन्न प्रदेश, जिल्ला, स्थानीय तह र स्वास्थ्य संस्थाको माग तथा उपलब्धताका आधारमा डेंगुु रोग निदानका लागि परीक्षण किट प्रदान गरिएको उल्लेख छ।
हैजा रोकथाम तथा नियन्त्रणमा पनि ४ वटा काम भएको खापुङ बताए। स्थानीय सरकार, वास÷क्लस्टर, युनिसेफ र इन्फोको समन्वयमा काठमाडौंका विभिन्न क्षेत्रमा सेल्फ टेस्टिङ बुथ स्थापना, विभिन्न स्थानमा पानीको नमुना संकलन तथा परीक्षण बुथ स्थापना, झाडापखाला देखिएका अस्पतालमा आरडिटी किट वितरण, डीडब्लूएसएसएम टोलीले काठमाडौं, भक्तपुर र ललितपुरका ८ वटा स्वास्थ्य कार्यालय प्रयोगशालालाई पानी परीक्षण किट प्रयोग गरेर पानी परीक्षण गर्ने तालिम प्रदान गरेका थिए।
खापुङले सेवा प्रवाह तथा सेवा विस्तारअन्तर्गत १५ बँुदामा उपलब्धि समावेश गरेका छन्।
ऋाव २०७८÷७९ मा करिब ९१ प्रतिशत बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार पूर्ण खोप प्राप्त गरे, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डयोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट यस वर्ष १५ वर्षमुनिका ९४० जना र ७५ वर्षमाथिका ९७० जनाले मुटुको निःशुल्क शल्यक्रिया तथा उपचार प्राप्त गरेका छन्। कान्तिवाल अस्पतालबाट गरिब तथा विपन्न वर्गलाई थालसिमिया सेवा ११८३ जना, सामाजिक सेवा इकाइअन्तर्गत ९५८ जनालाई र आकस्मिक स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत ७६१ जनालाई निःशुल्क सेवा प्रदान गरिएको छ।
शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट रेबिजविरुद्धको खोप र रेबिज इममुनग्लोबुलिन सेवा २४सै घन्टा दिन थालिएको र यस वर्षमा जनावरको टोकाइको खोप १० हजार ११९६ जना प्रदान गरिएको छ। विशेष रोग टिटानस् १४ जना र रेबिज १८ जनालाई उपचार गरिएको छ। शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट यस आवमा १६० जनाको मृर्गौला प्रत्यारोपण भएको छ। हालसम्म ९०० वटा मृर्गौला र ८ वटा कलेजो प्रत्यारोपण भएको छ।
४९ स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन, सबै तहका ११७ अस्पतालमा न्यूनतम सेवा मापदण्ड कार्यक्रम सञ्चालन, २ हजार ५०० बढी स्वास्थ्य चौकीको न्यूनतम सेवा मापदण्ड कार्यक्रम सुचारु। २५ वटा स्थानीय तहमा क्षयरोगमुक्त नेपाल घोषणा अभियान सञ्चालन गरिनुका साथै स्वास्थ्य विज्ञान प्रतिष्ठान र संघीय अस्पतालबाट दुर्गम जिल्लाका अस्पतालमा स्याटलाइट क्लिनिकलगायतका कार्यक्रम सञ्चालन गरिएका छन्।