शनिबार, असार १४, २०८२

पिपुल्स क्याम्पसको वार्षिकोत्सवमा उपकुलपतिले भनिन्- विद्यार्थी बाहिरिनु चिन्ताजनक

समुदायको तर्फबाट स्थापित पिपुल्स कलेजले स्थापनाको ४१ औं वार्षिकोत्सवमा बोल्दै खुला विश्वविद्यालयकी उपकुलपति प्राध्यापक डाक्टर शीलु मानन्धर व्रजाचार्य शिक्षाका लागि विद्यार्थी बाहिरिनु चिन्ताजनक रहेको बताएकी छन्।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

काठमाडौं – समुदायको तर्फबाट स्थापित पिपुल्स कलेजको स्थापनाको ४१ औं वार्षिकोत्सवमा बोल्दै खुला विश्वविद्यालयकी उपकुलपति प्राध्यापक डाक्टर शीलु मानन्धर व्रजाचार्य शिक्षाका लागि विद्यार्थी बाहिरिनु चिन्ताजनक रहेको बताएकी छन्।

त्रिभुवन विश्वविद्यालयले मात्र विद्यार्थीको चाप धान्न नसकेको अवस्थमा समुदायको तर्फबाट स्थापित पिपुल्स कलेजले स्थापनाको ४१ औं वार्षिकोत्सव मनाएको थियो। ‘शिक्षाको आँकडा हर्ने हो भने विद्यालय स्तरमा ९८ प्रतिशत भर्नादर देखिन्छ भने वयश्कहरुको शिक्षा तहमा भर्नादर ७८ प्रतिशत रहेको देखिन्छ,’ उक्त कार्यक्रममा उपकुलपति शीलुले भनिन्, ‘यसको अर्थ हामी शैक्षिक रुपले राम्रै अवस्थामा छौं भन्ने हो। यद्यपि प्रतिवर्ष लाख–लाख विद्यार्थी अध्ययनकै लागि विदेशिनु भने चिन्ताको विषय हो।’

त्यस्तै उनले शिक्षामा राजनीति भइरहेको र यसलाई अन्त्य गर्नुपर्न पनि बताएकी छन्। नेपालले शिक्षामा जति गर्नुपर्ने हो त्यति गर्न नसके पनि शिक्षा क्षेत्रमा नेपालले राम्रो फड्को मारेको धारणा कार्यक्रमकी प्रमुख अतिथि नेपाल खुला विश्वविद्यालयकी उपकुलपति प्राध्यापक डाक्टर व्रजाचार्यको थियो।

अबका दिनमा शैक्षिक प्रक्रियामा लगानी गर्नुपर्ने उनको राय थियो। ‘साना मुलुकले शिक्षालाई प्राथमिकतामा राखेका कारण ठूला मुलुक सरह प्रतिस्पर्धी रुपमा उदाएका हुन्,’ व्रजाचार्यले भनिन्, ‘त्यसैले कुनै पनि मुलुकले शैक्षिक संशाधनमा लगानी गर्नुपर्ने आवश्यकता छ। विकासमा फड्को मारेका मुलुकहरुले शिक्षामा लगानी गरेकाले नै सफलता पाएका हुन्।’

पुष ९ गते शनिबार क्याम्पस परिसरमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पदक तथा सम्मान प्रदान गरियो। कार्यक्रममा बोल्दै सहभागी शिक्षाविद्हरुले देशको वर्तमान शिक्षा अवस्थाबारे आफ्नो धारणा राखेका थिए भने कलेजले स्थापनाका पुराना दिन पनि स्मरण गरेका थिए।

‘मुनाफा आर्जन नगर्ने शैक्षिक संस्थाका रुपमा स्थापित यस क्याम्पस सर्वसाधारणलाई सर्वसुलभ मूल्यमा गुणस्तरीय शिक्षा उपलब्ध गराउन कटिबद्ध छ,’ क्याम्पस प्रमुख मनोजबहादुर कुँवरले भनेका छन्। उनले त्रिविका बिबिएस, बिएमएसगरी हाल १६ सय विद्यार्थी क्याम्पसमा अध्ययनरत रहेको बताए।


विद्यार्थीहरुको उत्कृष्ट नतिजाले आफूहरुलाई हौसला दिने बताउँदै क्याम्पस प्रमुख कुँवरले प्रयोगात्मक शिक्षा पद्धति अनुसरण गर्दै क्याम्पसले शैक्षिक भ्रमण, सेमिनार र अनुसन्धानको कामलाई अघि बढाउँदै आएको बताए। ‘क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरीताको प्रमाणपत्रका लागि आवश्यक प्रक्रिया पुरा गरिसकेको छ भने आयोगकै सहयोगले कक्षाकोठाहरु आधुनिक प्रविधियुक्त बनेका छन्,’ उनले भने। क्याम्पसका विद्यार्थीहरुले अमेरिकामा आयोजना हुने ‘अनलाइन बिजनेस स्ट्रयाटजी कम्पिटिसन’मा पनि भाग लिँदै आएको जनाउँदै कुँवरले गुणस्तरीय शिक्षाको लागि क्याम्पसले आफ्नो परम्परालाई कायम गरिरहने बताए।

त्रिविवि स्नातकोत्तर तह एमविएसतर्फका उत्कृष्ट विद्यार्थीहरु लहना श्रेष्ठ, सिरपा शाक्य, स्नातक तह बिबिएतर्फका उत्कृष्ट रिजन खड्गी, रोहन नकर्मी,राष्ट्रिय परीक्षा वोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षामा क्याम्पस प्रथम हुने विद्यार्थीहरु व्यवस्थापनतर्फ शागर जिसी, कपिलप्रसाद आचार्य, अंकिता मगरलाई सम्मान तथा पुरस्कार प्रदान गरेको आयोजकले जानकारी दिएको छ।

कलेजमा उत्कृष्ट विद्यार्थी लहना श्रेष्ठ, सिरपा श्रेष्ठ, रिजन खड्गी, रोहन नकर्मीले गुडविल फाइनान्स एन्ड इन्भेस्टमेन्ट लिमिटेडका तर्फबाट नगद पुरस्कार पनि पाएका थिए। त्यस्तै चारै जना विद्यार्थीले लक्ष्मीदेवी मानन्धर स्मृति नगद पुरस्कार तथा प्रमाण पत्र पनि पाउने सफल भए। एमबीएसतर्फ फाइनान्स विषय लिई क्याम्पस प्रथम हुने सिरपा शाक्यले मनोहरकृष्ण श्रेष्ठ पदक पाइन्। क्याम्पसमा पन्ध्र वर्ष सेवा गरेका कर्मचारीहरु रामकृष्ण थापा, शंकर ढोडारी र रामकृष्ण राजवहाकलाई पनि वार्सिकोत्सव कार्यक्रमका अवसरमा सम्मानित गरिएको थियो।

सामुदायिक कलेजले विद्यार्थीविहीन हुनुपर्ने अवस्था आएको जनाउँदै आर्थिक क्षेत्रजस्तै मार अहिले सामुदायिक क्याम्पसहरुलाई पर्न थालेको पूर्वक्याम्पस प्रमुख निर्मलमणि पन्थीले कार्यक्रममा बताए। ‘हामीजस्तो गैर नाफामूलक सामुदायिक संस्थाले न त निजीको जस्तो शुल्क लिन सक्छौं न त हामीलाई सरकारी अनुदान नै प्राप्त हुन्छ,’ पन्थीले भने।

कार्यक्रममा बोल्दै पूर्वक्याम्पस प्रमुख मंलगदास मानन्धरले दोस्रो विश्व युद्धपछि दुई कोरियाले शिक्षालाई नै पहिलो प्राथमिकतामा राखेकाले उन्नतीको शिखरमा पुग्न सकेको बताउँदै देशको विकासको लागि शिक्षा पहिलो प्राथमिकता हुनुपर्ने धारणा व्यक्त गरे। ‘क्याम्पस स्थापना गर्दा धेरै दुःख गरेर सहयोग जुटाउँदै यहाँसम्म आइपुगेको हौं,’ प्रधानांगले भने, ‘अब फेरि गाह्रो दिन आउँदै गरे जस्तो देखिन्छ। खासगरी उपत्यकाका सामुदायिक कलेजहरुलाई न त स्थानीय सरकारले न त स्थानीय उद्योग वाणिज्यले नै सहयोग गर्ने गरेका छन्। शुल्ककै भरमा चल्न गाह्रो छ।’

मुनाफरहित संस्था भएकाले स्थापना कालदेखि नै सहयोगमा सञ्चालित कलेजले निजीको जस्तो शुल्क वृद्धि गर्न नसक्ने हुँदा र संस्थागत सहयोग पनि नहुने हुँदा बढ्दो महंगीमा कर्मचारीलाई सन्तुष्ट पार्न नसकिएको पनि प्रधानांगले बताए। कार्यक्रममा सहायक क्याम्पस प्रखुख रोजेश पण्डितले क्याम्पसको उन्नयनमा सहयोग गर्ने दिवंगत संस्थापक तथा क्याम्पस प्रमुखहरुको योगदानको चर्चा गर्दै हार्दिक श्रद्धासुमन अर्पण गरेका थिए।

प्रकाशित: Dec 24, 2022| 18:38 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्