शनिबार, असार १४, २०८२

दिवा खाजामा विद्यालयकै करेसाबारीको जैविक तरकारी प्रयोग

नगरभित्र रहेका सामुदायिक विद्यालयमध्ये आफ्नै जमिन भएका अधिकांश विद्यालयमा आफ्नै करेसाबारीमा उत्पादन भएका जैविक तरकारीको प्रयोग बढाएका हुन्।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

पूर्वी नवलपरासी- पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा रहेका सामुदायिक विद्यालयले दिवा खाजामा विद्यालयकै करेसाबारीमा उत्पादन भएका तरकारीको प्रयोग गर्ने गरेका छन्। 

नगरभित्र रहेका सामुदायिक विद्यालयमध्ये आफ्नै जमिन भएका अधिकांश विद्यालयमा आफ्नै करेसाबारीमा उत्पादन भएका जैविक तरकारीको प्रयोग बढाएका हुन्। 

कावासोती–१ मा अवस्थित महाराजा आधारभूत विद्यालयले नगरपालिकाको सहयोगमा करीब २ कट्ठामा तरकारी खेती गरेको प्रधानाध्यापक बिमला श्रेष्ठले बताइन्। विद्यार्थीको प्रयास तथा शिक्षकको निगरानीमा उत्पादन गरिएको तरकारी नै दिवा खाजामा प्रयोग हुने उनले बताइन्।

गत वर्ष करेसाबारीमा उत्पादित तरकारी दिवा खाजामा प्रयोग गरी बाँकी रहेको तरकारी बिक्रीबाट विद्यालयले ४ हजार ५०० रुपैयाँको बिक्री गरेको उनले बताइन्। तरकारी बिक्रीको रकम कोषमा जम्मा गरिएको छ। 

करेसाबारी कार्यक्रमबाट उत्पादन भएको तरकारीले दिवा खाजालाई सहयोग पुर्‍याएको र विद्यार्थीलाई जैविक तरकारी खेतीको महत्त्व बुझाइएको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ। 

करेसाबारी कार्यक्रमबाट ५ कक्षामा पढ्ने युवराज थापा र मनिसा सिञ्जालीले घरमा समेत विद्यालयबाट सिकेको सीप घरमा प्रयोग गरेको उनले जानकारी दिइन्। 

कावासोती–३ मै रहेको अर्को विद्यालय जीवनज्योति माविले पनि करीब डेढकट्ठा क्षेत्रफलमा गत वर्षबाट करेसाबारी बनाएर तरकारी खेती शुरू गरेको थियो। गत वर्ष उत्पादन भएको तरकारी दिवा खाजामा प्रयोग गरेर करीब १२ हजार रुपैयाँको तरकारी बिक्री गर्न सफल भएको विद्यालयकी प्रधानाध्यापक सुमित्रा लम्सालले बताइन्।

करेसाबारी निर्माण तथा तरकारी खेतीमा विद्यार्थी नै सक्रियपूर्वक सहभागी हुने गरेको र यसले विद्यार्थीलाई माटो तथा श्रमसँग जोड्न सफल भएको उनको भनाइ छ। 

नगरपालिकाको शिक्षा शाखाले विद्यालयबाट प्रस्ताव मागअनुसार स्वीकृत भएका विद्यालयलाई बिउ पुँजीका रूपमा २५ हजार रुपैयाँ अनुदान दिने गरिएको शिक्षा शाखाका अधिकृत राजन पाण्डेले जानकारी दिए।

नगरपालिकाले पहिलो वर्ष २ विद्यालय र दोस्रो वर्ष ८ विद्यालयमा कार्यक्रम शुरू गरेको छ। यस वर्ष १० विद्यालयमा कार्यक्रममा सञ्चालन हुने पाण्डेले बताए। 

प्रस्तावना स्वीकृत नभएका अन्य विद्यालयले पनि आफ्नै व्यवस्थापनमा करेसाबारी बनाएर तरकारी उत्पादन सुरू गरेका उनको भनाइ छ। 

कृषि ज्ञान केन्द्र र नगरपालिकाको कृषि शाखाको प्राविधिक सहयोगमा विद्यालयमा करेसाबारी निर्माणलाई अगाडि बढाइएको हो। कृषि प्राविधिकले विद्यालयमै पुगेर शिक्षक र विद्यार्थीेलाई करेसाबारी निर्माणमा सहयोग गर्ने गरेको अधिकृत पाण्डेले बताए।

जिल्ला सदरमुकाम समेत रहेको कावासोती नगरपालिकामा सञ्चालन भएको विद्यालयमा करेसाबारी कार्यक्रमले शिक्षक र विद्यार्थीलाई अध्ययनसँगै श्रमसँग जोड्न सफल भएको छ। 

विद्यालयमा खुवाइने दिवा खाजामा आफैंले उत्पादन गरेको जैविक तरकारी प्रयोग हुँदा खाजाको गुणस्तरमा समेत वृद्धि भएको सरोकारवाला बताउँछन्। नगरपालिकाभित्र ४० सामुदायिक विद्यालय छन्।

प्रकाशित: Dec 23, 2022| 20:45 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्